मूर्ति पूजाको आध्यात्मिक स्वरूप

दुर्गा पूजा

मूर्ति पूजाको आध्यात्मिक स्वरूप

दैनिक रूपमा विभिन्न देवीदेवताका मूर्तिहरू घरहरूमा पूजित छन् भन्ने समयसमयमा धार्मिक अनुष्ठानद्वारा पनि मूर्ति पूजाको सुदीर्घ परम्परा यहाँ छ।

मूर्ति पूजाको परम्परा : पृथ्वीमा मानवको उत्पत्ति हुँदा सर्वप्रथम सूर्यले उसको जीवनरक्षा गरेको हुँदा उनी प्रत्यक्ष देवताको रूपमा पूजित हुन थालेको विश्वास गरिन्छ। तर, औपचारिक रूपमा कुनै मान्य देवताको मूर्ति बनाएर पूजा गर्ने चलन भने युरोपका गुफाहरूको अध्ययन गर्दा ढुंगेयुगको मानव सभ्यताबारे जानकारी प्राप्त गर्न सकिन्छ। प्राचीन मिश्र तथा बेबिलोनियाबाट पनि प्राचीन मूर्तिहरू प्राप्त भएको जानकारी गराइएको छ।

भारतीय उपमहाद्वीपमा सर्वप्रथम सिन्धु घाँटीको सभ्यताबाट नै मूर्तिहरू प्राप्त भएकाले पूजा परम्पराको विश्वास गरिएको छ। यसको समय ई.पू. २८००–२००० सम्म मानिएको छ। त्यसपछि ब्राह्मण, उपनिषद्, अरण्यक साहित्यहरूमा मूर्ति पूजाको परम्परा देखाइएको छ। हुँदाहुँदै आज मूर्ति पूजा घरघरमा आफ्नो स्थान ओगटिसकेको छ। दैनिक रूपमा विभिन्न देवीदेवताका मूर्तिहरू घरहरूमा पूजित छन् भन्ने समयसमयमा धार्मिक अनुष्ठानद्वारा पनि मूर्ति पूजाको सुदीर्घ परम्परा यहाँ छ।

यस्ता पूजा परम्परामा बडादसैंको अवसरमा दुर्गापूजा, इन्द्रपूजा, कृष्णपूजा (कृष्णाष्टमी) गणेशपूजा, हनुमान पूजा ध्वजको प्रतीक झन्डा) सन्तोषी माताको पूजा आदि मूर्ति बनाएर गरिन्छ। यस अतिरिक्त मन्दिर, गहबर आदि ठाउँमा स्थायी रूपमा मान्य देवी–देवताहरूको पनि तिथिअनुसार पूजा गर्ने चलन छ।

दुर्गा पूजा : मिथिलाञ्चलमा वा भनौं मधेसतिर दुर्गा पूजा दुई किसिमले मनाउने परम्परा छ। एक पूर्वदेखि स्थापित मन्दिरमा रहेका दुर्गा मूर्तिलाई आधार बनाई घटस्थापनादेखि दशमीसम्मका सबै विधिविधानअनुसार दुर्गा पूजा गर्ने गरिन्छ। अर्को रूप हुन्छ, मूर्तिकारहरूको सहयोगमा दुर्गालगायत देवीदेवताको मूर्ति बनाउन लगाई पण्डितजीहरूको सहयोगमा पूजापाठ गरी दुर्गा पूजाको व्यवस्थापन गरिन्छ। यस प्रकारको पूजा सहरी क्षेत्रलगायत ग्रामीण क्षेत्रमा पनि प्रशस्त मात्रामा हुने गरिन्छ।

मधेस प्रदेशका अनेकौं शक्तिपीठमा पूजाको तैयारी प्रारम्भ भइसकेको छ। असोज १७ गते बिहीबार घटस्थापना भइसकेको छ। यस अवसरमा पूजा पद्धतिका सम्पूर्ण विधिलाई अवलम्बन गर्दै भव्यताका साथ यो पूजा मनाइने गरिन्छ। यसमा पनि जनकपुरधामको राम मन्दिरस्थित राजदेवी मन्दिरमा स्थापित ‘पिण्ड’ शक्तिलाई दुर्गा भगवतीको प्रतीकस्वरूप मान्दै वर्षौंदेखि अत्यन्त श्रद्धा र विधिपूर्वक पूजा–अर्चनाको व्यवस्थापन गरिँदै आइएको छ।

मूर्ति निर्माण गरी मनाइने दुर्गा पूजा : अर्को स्वरूप हुन्छ– मूर्ति बनाउन लगाई सम्पूर्ण पूजा पद्धतिअनुसार दुर्गा पूजाको व्यवस्थापन गर्नु। अब त स्थापित दुर्गा मन्दिर भएका ठाउँहरूमा पनि मूर्ति बनाई पूजा गर्ने परम्परा सुरु गरिएको छ। जनकपुरधाममा राम मन्दिरमा हुने पूजाबाहेक मूर्ति बनाई पूजा गर्ने चलन पहिला थिएन। पछि यो चलाइएको हो र अब त अनेकौंैं ठाउँमा यस्ता मूर्ति स्थापना गरी पूजा गर्ने गरिन्छ। दुर्गा पूजाको मूर्ति बनाई पूजा गर्ने वास्तवमा गाउँमा बढी हुन्छ। यद्यपि पहिला त भुकुण्डोलाई काटेर बलि प्रदानको विधि पूरा गरिन्थ्यो। बलि प्रदान गर्दा प्रदायक पक्षले कुनै न कुनै विषयमा भाकल गरेका बढी हुन्छन्।

मूर्ति निर्माण गर्दाका विधिहरू : मूर्ति निर्माण गर्दा दुर्गा पूजा गर्ने–चलन दुई किसिमले हुन्छ। एउटा निजी रूपमा र दोस्रो सामूहिक रूपमा। कुनै परिवारले आफ्नो निजी सुख, सुविधा वा कुनै अन्य किसिमको संकल्प लिई दुर्गा मूर्ति बनाई पूजा गर्ने भाकल गरेका हुन्छन्, तिनीहरू पनि निजी खर्च र व्यवस्थापनमा दुर्गा पूजा गर्ने गर्छन्। अर्को हुन्छ, सामाजिक रूपमा। यसमा गाउँका भद्र–भलादमी बसेर सामूहिक निर्णय गर्छन् र चन्दा–पत्ती लगाएर पैसा असुल गरी दुर्गा पूजाको व्यवस्थापन गर्छन्। यो दुवै किसिमको दुर्गा पूजामा सामूहिक सरसल्लाह र सहयोग भने रहन्छ। एकअर्कालाई सहयोग गरी अनुष्ठान पूरा गर्ने चलन छ।

पूजा–पद्धतिको स्वरूप : मूर्ति बनाउने पद्धतिमा १५–२० दिन पूर्व ‘बंसकट्टी’ हुन्छ। यसमा दुर्गा पूजामा बनाइने मूर्तिहरूमा प्रयोग गरिने बाँस काटिन्छन्। यसको पनि संख्या निर्धारित हुन्छ– ९, ११ वा यस्तै। बंसकट्टी भएपछि सर्वप्रथम दुर्गा पूजा हुने स्थलमा महावीर हुनमानजीको झन्डा ठड्याइन्छ। यो आराधनाका साथ कि उनको दुर्गापूजासम्मको उपस्थितिले पूजा–व्यवस्थापनलाई सुसम्पन्न हुन मद्दत होस्। ध्वजा स्थापनापछि बिहान–साँझ उहाँको पूजा प्रारम्भ हुन्छ। अब मूर्ति बनाउने मूर्तिकार बोलाइन्छ। उनीसँग पारिश्रमिक तय गरी मूर्ति बनाउने काम सुरु गराइन्छ। माटोको प्रबन्ध आयोजकबाट भइसकेको हुन्छ।

कलश स्थापनाको दिन बाजा–गाजा, गीत–नादका साथ कलश यात्रा हुन्छ। पानी भरेर पूजा स्थलमा ल्याइन्छ। त्यसमध्ये पाँच वा सातवटा कलश माटोमा जौ मिलाई राखिएका ठाउँमा राखिन्छन्। त्यही दिनदेखि दुर्गा भगवतीको पूजा प्रारम्भ भइहाल्छ। तर त्यो मूर्ति पूजा भने हुँदैन। पाठद्वारा भगवतीको स्मरण गर्दै पूजा गर्ने परम्परा छ। यो ब्राह्मण पुरोहितद्वारा सम्पन्न हुन्छ। षष्ठीको दिन बेलन्योंती हुन्छ। अर्थात् ‘बेल’ फललाई पूजाका लागि निम्त्याइन्छ। यो पनि गाजाबाजासाथ ग्रामीणहरूको समूहमा विधि सम्पन्न गरिन्छ। बेलको रुखमुनि पूजापाठ हुन्छ। त्यसपछि रुखमा फलेको बेललाई रातो कपडामा अक्षता राखेर बाँधिन्छ। र त्यही भगवती पूजाका लागि निमन्त्रणा दिइन्छ।

सप्तमीमा त्यस्तै बाजा–गाजाका साथ ‘बेलतोडी’ हुन्छ। अर्थात् हिजो निम्त्याइएको बेललाई तोडेर भगवती पूजाका लागि भिœयाइन्छ। षष्ठीसम्म मूर्तिहरू बनेर तयार भइसकेका हुन्छन्। षष्ठी रात्रिमा निशाभाग पूजा हुन्छ। त्यो बिहान ३–४ बजेसम्म पनि हुन सक्छ। पूजापछि भगवतीलाई ग्रामीण भाषामा ‘बिन्द’ पार्ने क्रिया पण्डितजीद्वारा गरिन्छ। अर्थात् आँखा दिने काम हुन्छ। त्यसपछि भगवतीको पूजा सुरु हुन्छ। आँखा खोल्ने समयमा बोका बलि दिने परम्परा छ। सबै ठाउँमा हुन्छ थाहा छैन तर विगत ७३ वर्षदेखि निरन्तर पूजा–आराधना (मूर्ति बनाएर) हुँदै आएको धनुषा जिल्लाका ललिया गाउँका पूजाको जिम्मेवारी बोक्दै आएका छन्, बघचौरा गाउँ निवासी पं. ललित मिश्र।

मिश्र भन्छन्– ललियामा परापूर्वदेखि नै मेरो बाबु चन्द्रशेखर मिश्रद्वारा पूजा–पद्धतिको भएको सुरुवातअनुसार आज पनि यहाँ आँखा खोल्ने समयमा बोकाको बलि दिने चलन छ। यहाँ पूजा घर बनाएको भए पनि प्रत्येक वर्ष नयाँ मूर्ति बनाई पूजा गरिन्छ। पूजामा मूर्तिका कति राखिन्छ त ? सोध्दा उनी भन्छन्– यो श्रद्धा अनुसार वा भाकल अनुसार हुन्छ। तर सामान्यतः दुर्गाजीका अतिरिक्त गणेशजी, लक्ष्मीजी, दुर्गाजी, सरस्वतीजी, कार्तिकेयजी, भोलानाथजी, कालिकाजी, महिषासुर, शुम्भ, निशुम्भ, भैरव आदि रहन्छन्। यो पूजा पद्धति सामान्यतः सहरी वा ग्रामीण क्षेत्र सबैमा सामान्य हुने गर्छ।

पूजाको खर्च : मूर्ति बनाउनेहरूले कति पारि श्रमिक लिन्छन् त ? विभिन्न आयोजकहरूको विचार लिँदा ६०–७० हजार जति लिन्छन्। मूर्तिका सजावट, अंगवस्त्र आदिका लागि ३०–४० हजार, सामान्य खर्च हो। त्यसमा नाचगान पनि अनिवार्य नै हुन्छ। अचेल त डिजेको धुन र महिलाको नृत्य ५० हजारदेखि लाखसम्म पुग्छ। पुरोहितहरूको दान–दक्षिणा ५०–६० हजारसम्म। अन्य विविध खर्च हेर्दा न्यूनतम खर्च लाखदेखि अढाइ–तीन लाखसम्म लाग्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.