ललितपुरमा पानी आपूर्तिका लागि मन्त्री यादवले मागे दक्षिणकालीबासीसँग सहयोग

ललितपुरमा पानी आपूर्तिका लागि मन्त्री यादवले मागे दक्षिणकालीबासीसँग सहयोग

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि र नागरिकहरूलाई ललितपुरका नागरिकको प्यास मेटाउन पानी आपूर्तिका लागि सहयोग गर्न आग्रह गरेका छन्।

आज फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनःस्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी लिने क्रममा मन्त्री यादवले बाढीले थुप्रै खानेपानी योजनाहरूमा क्षति पुर्‍याएको र ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको जानकारी दिँदै मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न दक्षिणकालीबासीलाई आग्रह गरे।

'कसैले प्यासले तड्पिनुपरेको छ भने हाम्रो कर्तव्य हो। हामीले सकेसम्म सहयोग गर्नुपर्छ,' उनले भने। मन्त्री यादवले केही पूर्व कर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीबासी असन्तुष्ट हुनसक्ने बताउँदै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। 

'तपाईँहरूका समस्या के छन्? म समाधानका लागि पूर्ण प्रयास गर्नेछु। तर, ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु,' उनले भने। उनले हालको विपद्‌मा सबै नेपालीले एकजुट भएर एक अर्कालाई सहयोग गर्नुपर्ने पनि बताए। 'अविरल वर्षाले देशका २१ जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। अहिले हामी सबै विपद्को सामना गर्दै छौं। नागरिकहरू पानीको अभावमा छटपटाइरहेका छन्। तपाईँसँग पानीको स्रोत छ, त्यसैले तपाईँकै सहयोगले धेरैको जीवन सहज हुनेछ,' उनले भने।

त्यस्तै मन्त्री यादवले बाढी पहिरोले दक्षिणकालीमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरेर तत्काल समाधानका लागि सरकारको पहल हुने जानकारी दिए। 'म मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु। क्षतिको मूल्याङ्कन चाँडो गरौं। म समस्या समाधानको पहल गरिरहनेछु,' उनले भने।

फर्पिङ र दक्षिणकाली क्षेत्रमा अवलोकन भ्रमण गर्दै मन्त्री यादवले बाढीले पुर्‍याएको क्षति र पानी आपूर्तिका चुनौतीहरूको निरीक्षण गरे। उनले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड-जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मुल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग गहन छलफल गरे।

मन्त्री यादवले ललितपुर र दक्षिणकाली क्षेत्रमा स्वच्छ र नियमित पानी आपूर्तिको व्यवस्था गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, दीर्घकालीन समाधानमार्फत सबै नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.