घर–घर धाएर विद्यार्थी बटुल्छन् शिक्षक
चितवन : भरतपुर–२९ को रातामाटे आधारभूत विद्यालयमा विद्यार्थी यसरी घटे कि, गत वर्ष त ८ जना मात्रै बाँकी रहे। विद्यालयको अस्तित्व नै नरहने अवस्थामा पुग्यो। विद्यार्थी नै नरहेपछि विद्यालय अन्तै गाभ्ने तयारी भयो। त्यसको प्रमुख कारण थियो, ‘विद्यालयको गुणस्तर खस्किँदै जानु।’ त्यसैकारण अभिभावकले नजिकैको बजारमा ‘डेरा भाडा’ मा लिएर छोराछोरी अन्तै पढाउन थाले।
तर, महेन्द्रनगरका बलराम जोशी रातमाटे विद्यालयमा आएपछि विद्यालयका दिन फेरिन थालेका छन्। विद्यार्थी संख्या बढ्दै गएको छ। हाल २७ जना विद्यार्थी अध्ययनरत छन्। जोशी आएपछि उनले पढाइको गुणस्तरमा जोड दिए। गाउँमै ‘राम्रो पढाइ हुन थालेको’ विश्वास अभिभावकलाई दिलाए। अनि, विद्यार्थी खोज्दै अभिभावकको घर–घर धाउन थाले।
कार्यालय समय सकिएपछि शिक्षक जोशी चुप बस्दैनन्। अभिभावकको घर पुग्छन्। विद्यालय उमेर समूहका बालबालिकाका अभिभावकलाई भेटेर हात जोड्छन्। गाउँकै विद्यालयमा छोराछोरी पढाइदिन आग्रह गर्छन्। विद्यालयमा पढाइको अवस्था सुधार गरेरै छाड्ने उनको प्रतिबद्धतापछि अभिभावकले रातमाटेमै छोराछोरी पढाउन थालेका छन्।
आठ वर्षअघि उक्त विद्यालयमा ५० जना विद्यार्थी थिए। गत वर्ष आठ जना मात्रै रहे। शिक्षकले राम्रो नपढाएको भन्दै अभिभावकले विद्यार्थी झिक्न थाले। तर, ६ महिनाअघि मात्रै उक्त विद्यालयमा जोशीले पढाउन थालेपछि बन्द हुन लागेको विद्यालय जोगिएको छ।
‘हामीले धेरै मिहेनत ग¥यौं। यहाँ पनि राम्रो पढाइ हुन्छ भन्ने विश्वास दिलायौं, शिक्षक जोशीले भने, ‘पहिला शिक्षकले ठग्छन् भन्थे। हामी आएपछि शिक्षकले राम्रो पढाउँछन् भन्ने विश्वास अभिभावकले गर्न थाल्नुभएको छ। विस्तारै विद्यार्थी बढिरहेका छन्।’
कञ्चनपुरका बासिन्दा जोशी यसअघि चेपाङको बाहुल्यता रहेको राप्ती नगरपालिका–१२ को यौरालीटारमा पढाउँने गर्थे।
‘यहाँको पढाइमा चित्त नबुझेपछि अभिभावकले नारायणघाट, जुगेडीमा कोठा भाडामा लिएर छोराछोरीलाई पढाउने गर्नुहुन्थ्यो,’ जोशीले भने, ‘गाउँको विद्यालयमा पढाइ राम्रो हुन थालेपछि विस्तारै छोराछोरी फर्काउन थाल्नुभएको छ।’
विद्यालयका प्रधानाध्यापक बलबहादुर कुमाल अभिभावको विश्वास जित्न गुणस्तरीय शिक्षामा निकै मेहनत गर्नुपरेको बताउँछन्। ‘एक त यहाँ भौगोलिक विकटता छ। आर्थिक स्थिति कमजोर भएको कारण विद्यार्थी टिकाउन पनि गाह्रै छ,’ कुमाल भन्छन्, ‘तर सबैको सहयोग जुटायौं। विद्यार्थीको आकर्षण बढाएका छौं। पढाइ राम्रो हुन थालेपछि अभिभावकको घरदैलो गरेर अनुरोध ग¥यौं।’
विद्यालयको पढाइमा पहिला र अहिले धेरै नै फरक भएको अभिभावक सुनिसा गुरुङले बताइन्। ‘पहिला पढाइ राम्रो हुन्थेन, त्यसैकारण विद्यालयबाट छोराछोरी निकालेर अन्तै पढाउने गरिन्थ्यो,’ उनले भनिन्, ‘सरहरूले अहिले मिहेनत गर्नुभएको छ। पहिले पनि यहीं राम्रो पढाइ भएको भए हामीले बजारमा छोराछोरी लानै पर्दैनथ्यो।’
विद्यार्थी ‘फकाउन’ शिक्षकले सहयोगी खोजेर शैक्षिक सामग्री पनि जुटाउँछन्। विद्यालयमा कपी कलम, झोला र पोसाकसम्म दातालाई आग्रह गरेर व्यवस्था गर्छन्। विद्यार्थीलाई पढाइमा आकर्षण गराउन शिक्षकले आफैं पैसा उठाएर खाजा पनि खुवाउँछन्। यस्तै, शिक्षकले विद्यालयको थोरै भागमा मौसम अनुसारको तरकारी खेती गरेर विद्यार्थीलाई सिकाउने गर्छन्। विद्यार्थी संख्याको वृद्धि प्रतिशतको आधारमा भरतपुर महानगरको विद्यालयमा रातामाटे विद्यालय अग्रस्थानमा छ।
नारायणघाट मुग्लिन सडक खण्डको भोर्लेबाट पाँच किलोमिटर डाँडा उक्लिएपछि रातामाटे विद्यालय पुगिन्छ। भौगोलिक विकटताको कारण पनि यहाँको विद्यालयमा विद्यार्थी टिकाउन मुस्किल छ। ‘नयाँ सरहरू आउनुभएपछि घरदैलो गरेर विद्यार्थी बढाउन लाग्यौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद गुरुङले भने, ‘विद्यालय अन्यत्र गाभिएको भए सबै अभिभावकले आर्थिक अवस्थाका कारण छोराछोरी पढाउन सक्नुहुन्थेन। शिक्षकहरूको मेहनतका कारण विद्यालयको अवस्था फेरिँदै गएको छ।’