जुवा खेल्दै गरेका ५ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं : २४ लाख रुपैयाँसहित ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौंको ठमेलस्थित छिएन सी होटल एण्ड रेस्टुरेन्टमा जुवा खेल्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काठमाडौंको ठमेल बस्ने ५४ वर्षीय चु खछ्याङ, ३३ वर्षीय हुई फङ, ५० वर्षीय वन च्रिमेई, ४३ वर्षीय वाङ चियौ र ३८ वर्षीय लेउ सुन रहेका छन्।
होटलमा चारवटा कोठा भाडामा लिएर चिनियाँ नागरिक चुले फिस सुट गेम खेलाउने गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट २३ लाख ९८ हजार २० रुपैयाँ नगद, फिस सुट गेम खेल्ने उपकरण, मजोङ सेट र मजोङ खेल्न प्रयोग गरिने विभिन्न आकृतिका गोटीहरू बरामद गरेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए।
पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको उनले बताए।