जतिसुकै रिसाए पनि नसकिने रहेछ बालसखासँग। माया लागिहाल्दो रहेछ। उनलाई पनि मेरो माया लाग्छ भन्ने कतिपल्ट प्रमाणित भइसकेको छ। झन्डै दुई हप्ता भयो, म रिसाएर उनीकहाँ नगएको। म रिसाएको भनेर उनी पनि मकहाँ आएनन्। आफ्नो मित्र भनेर होला उनी मलाई सुधार्न खोज्छन्। मलाई भने सुम्पिएर उनीजस्तो मुस्किलको जीवन बाँच्नु छैन। जे भए पनि एकपल्ट त जानै पर्यो सोचेर म उनलाई भेट्न गएँ। गुनासो सुनिदिने मित्र उनैमात्र हुन् क्या र ! सधैं झैं हार्दिकताका साथ स्वागत गरे। संस्कारी परिवारबाट हुन् नि त।
एकछिन अन्यत्रको कुरा भएपछि आफ्नो गुनासो पोख्दै भनें, ‘हेर न, मान्छेको मति ! जहाँ पनि हाम्रो मान्छेको विरोध नै गर्छन्। देशभित्र विरोध गर्नेहरूलाई त हामीले तह लगाउन जान्या छ पुलिस हाम्रै हो, झ्यालखाना हाम्रै हो। चाहे जतिलाई कोचिदिन्छौं। गरुन् त विरोध ! मुस्किल चैं विदेशमा पर्यो क्या। बेइज्जत नै गरेर छाड्ने भए। देशभित्र त छिरुन् कुनै दिन। देखाइदिन्छौं तिनका ताइन्। अहिले त के गर्नु ? मलाई कम्ता पिर परेको छ र ! आफ्नो मान्छेको त्यत्रो बेइज्जत, कसरी सहनु ? के गर्नु, रिस पर्यो मसँग लट्ठी पर्यो दाइसँग भने जस्तै भयो। यही गुनासो गर्न आएको तिमीसँग।’
सुपर्णखाले नरम भएर सोधे, ‘किन त्यसरी विरोध गरेका रहेछन् त ?’ जवाफ दिएँ, ‘किन हुन्थ्यो नि ?, कसैले भन्या’थ्यो। जति प्रख्यात भयो, त्यति विरोधीहरू बढ्छन्। अब हाम्रो मान्छे धेरै प्रख्यात भए, त्यसैले देखिसहँदैनन्।’ उनले भने, ‘हेर, त्यसो त प्रख्यातको भन्दा कुख्यातको विरोध गर्ने धेरै हुन्छन् हाम्रो समाजमा। अब तिम्रो मान्छे कुन श्रेणीमा परे मलाई थाहा छैन।’
मैले थपें, ‘त्यत्रो पदमा भएको मान्छे पनि कुख्यात हुन्छ ? कुख्यात भएको भए त्यत्रो पद पाउँथे त ?’ उनले मुस्काउँदै भने, ‘हेर, पदले मान्छे प्रख्यात र कुख्यात हुने हैन। राम्रो कार्य, राम्रो आचरण, राम्रो देन, राम्रो व्यवहारले मान्छे प्रख्यात हुन्छ। पदले नै राम्रो हुने भएको भए युगान्डाको धेरै पहिलेका राष्ट्रपति इदी अमिन, जर्मनीका हिटलर र इटालीका मुसोलिनी पनि राम्रामा गनिन्थे। पदमा नभएरै पनि हाम्रै गणेशमानजी सर्वोच्च पदमा भएकाभन्दा धेरै प्रख्यात र आदरणीय भएका हुन्। उनीसँग पदमा भएकाहरू दाज्नै मिल्दैन।’
हत्तपत्त भनिहालें, ‘हेर, अब राम्रो कामको कुरा गर्ने हो भने मेरो मान्छेले आफू जस्तै भुइँमान्छे कतिलाई आकाशमान्छे बनाउनु भएको छ। त्यो राम्रो काम भएन ? आचरणकै कुरा गर्ने हो भने पिउँदैमा मातेर होहल्ला कहिले गर्नुभएको छैन। राम्रो आचरण भएन ? देनकै कुरा गर्ने हो भने कतिलाई के के दिनुभा’छ छ, कुरा गरे साध्य छैन। राम्रो बोल्नेसँग राम्रो बोल्नु हुन्छ। कसैले हुर्मत नै लिन खोजेको छ भने त्यसलाई त त्यसकै जसरी जवाफ दिनु परेन ? उहाँलाई नै जनताको दृष्टिबाट ओझेल पार्ने गरी काम गर्न थालेपछि सहने कुरा त भएन नि।’
उनले प्रश्न गरे, ‘हैन उहाँले आम जनतालाई जमिनबाट आर्थिक रूपमा आकाशमा पुर्याई दिनुभा’छ कि आसेपासे र आफन्तलाई मात्र ?’ मैले पनि नहिच्किचाई भनिदिएँ, ‘आसेपासे र आफन्त चाही जनता हैनन् ? तिनका उत्थान हुनु जनताको उत्थान हुनु हैन ? तिनीहरूपछि त बाँकीको पनि उत्थान भै’हाल्ला के रे ? त्यति कुरा त बुझिदिनु पर्यो नि। तातै खाऊँ छिट्टै मरुँ सोचेर हुँदैन त ? धैर्य हुनु पर्यो क्या धैर्य।’
‘हैन, मैले एउटा कुरा बुझिनँ। आसेपासे र नातेदार पोस्ने अनि आफू चुलिँदै जाने, तिम्रो मान्छेको यो क्रम बाँचुञ्जेल चलिरहन पर्ने। गजब लाग्यो मलाई त।’ उनले भनेपछि उनलाई बोल्ने नदिएर मैले झटपट आफ्नो कुरा राखिहालें, ‘यसमा गजब मान्नै पर्दैन। यो सब नगरे शक्ति आर्जन कहाँबाट हुन्छ ? शक्ति आर्जन नगरी यी सब कुरा सम्भव छैन भन्ने तिमीलाई थाहा छँदैछ।’
उनले पनि प्वाक्क ओकले, ‘ए, भनेपछि बाँचुञ्जेल शक्ति हातमा लिरहनु पर्ने, छाड्न नहुने। अवकास लिन नपर्ने, उमेर जतिसुकै होस् ?अहिले पनि तानामाना आर्यघाटसम्मै ?’
मुस्कुराउँदै जवाफ दिएँ, ‘हो त नि नत्र जवानीमै त्यत्रो कष्ट किन व्यहोर्नु पथ्र्यो। अवकाश लिने भए यत्रो वर्षदेखि शक्ति आर्जनको अभ्यास गर्नै पर्थेन। थपक्क जागिर खाए भइहाल्थ्यो नि। फेरि अवकाश लिएपछि भिज्या कुकुर जसरी बाँच्ने ? कसले वास्ता गर्छ त्यसपछि ? अवकाशको कुराले त मलाई पनि रिस उठ्छ। यस्ता कुरा गर्दै नगर।’
एक टक मलाई हेरेर उनले प्रश्न गरे, ‘त्यसो भए राजतन्त्र किन हटाउनु पथ्र्यो त ? बाँचुञ्जेल शक्तिमा रहिरहने छँदै थिए।’ अब धेरै भो भनेर मैले पनि ठोकिदिएँ, ‘एक त आफूले मौका पाउन भइरहेकालाई त हटाउनै पर्यो। अर्को कुरा हामी शक्तिवालाको समेत विरोध गर्नेलाई जेल नकोचे अराजकता फैलिँदैन ? अराजकता हामीलाई कदापि सह्य छैन।’
‘त्यसो भए पहिला र अहिलेकामा केही फरक भएन हैन त ?’ उनले प्रश्न तेस्र्याए। मलाई अब मजाले झोक चलिसकेको थियो। भनिदिएँ, ‘कुरामा फरक भएकै छ नि।’ त्यसपछि मलाई केही सुन्न मन लागेन। लुसुक्क हिँडिँदिएँ।
उनले प्रश्न गरे, ‘हैन, उहाँले आम जनतालाई जमिनबाट आर्थिक रूपमा आकाशमा पुर्याई दिनुभा’छ कि आसेपासे र आफन्तलाई मात्र ?’