सडक भत्केपछि सुनसान सौराहा

सडक भत्केपछि सुनसान सौराहा

चितवन : अघिल्ला वर्षमा दसैंको आसपासमा सौराहामा पर्यटकीय चहलपहल निकै हुन्थ्यो। साँझपख होटल र रेस्टुरेन्ट पर्यटकले खचाखच हुने सौराहामा अहिले पर्यटक देखिन पनि मुस्किल छ। 

पर्यटकले भरिभराउ हुने नदी किनारमा रहेका रेस्टुरेन्ट सुनसान छन्। बाढीले सडक सञ्जाल बिगारेपछि पर्यटक आउन नसकेका हुन्। यातायात सहज नहुँदा पर्यटक आउन सकेका छैनन्। गत वर्ष दैनिक ७० हजारको व्यापार गरेका राप्ती बीच रेस्टुरेन्टका सञ्चालक मञ्जिल खतिवडाले अहिले मुस्किलले १० हजार रुपैयाँको पनि व्यापार गर्न पनि मुस्किल भएको गुनासो गरे। ‘सबैतिर बाटो बन्द छ। त्रासले गर्दा पर्यटक कसरी आउने ? साँझपख झुक्किएर एउटा दुईटा टेबल हुन्छ। त्यो पनि एकदिन भयो भने पाँच दिन हुँदैन। खर्च धान्न पनि मुस्किल भएको छ,’ उनले भने, ‘पोहोर यो समयमा हामीले ७०, ८० हजारको व्यापार गथ्र्यौ, अहिले ५, ७ हजार पनि हँुदैन। ’

गत शुक्रबार र शनिवारको वर्षाले राजमार्गमा क्षति पुगेपछि पर्यटन क्षेत्र प्रभावित भएको छ। नागढुंगादेखि मुग्लिन सडक पहिरोको जोखिम छ। झ्याप्ले खोलामा सवारीसाधन पुरिएपछि पहिरोको त्रासले पर्यटक आगमन छैन। भत्किएका सडक र घण्टौंसम्मको जामले पर्यटक नआएका हुन्। चितवनसँग जोडिने काठमाडौं र पोखराबाट आउने सडक बिग्रिएको छ। हवाई यात्रामा पनि अत्यधिक चाप बढेको छ। अग्रिम बुकिङ नभएका कारण पनि पर्यटक झन्झट बेहोर्न चाहँदैनन्। बाढीले तङग्रन नसक्दा पर्यटन क्षेत्रमा नराम्रो असर परेको क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले बताए। ‘होटल भरिने बेला खाली भएको छ। बाढी पहिरोका बीच पनि केही आशा धेरै चुनौती छन्,’ थपलियाले भने, ‘मलुकभरको बाढीको खबरले बुकिङ फिर्ता गर्ने प्रयास पनि भयो। विदेशी पर्यटकमा नेपालको अवस्था बिग्रियो भन्ने जुन सोचेका छन्, त्यो नहटेसम्म चुनौती नै छ। तैपनि हामी लागेका छौं।’ 

सौराहा आउने स्थलमार्गका कारण पर्यटक आउन सकेका छैनन्। सुनौली, पोखरा र काठमाडौंबाट चितवन आउने पर्यटक सडकको अवस्थाले रोकिएका छन्। आन्तरिक पर्यटक शून्य नै छ। ‘नदीका किनारमा केही डुबान भए पनि पुरानै अवस्थामा आइसकेका छौं,’ रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले भने, ‘यतिबेला भरिभराउ हुनुपर्नेमा एकदम कम छन्। हामी पर्यटकको पखार्ईमा छौं। पाहुनाको स्वागत गर्न आतुर छौं।’

सौराहाका नदी किनारका होटल रेस्टुरेन्ट एक डुबानमा परेको थियो। राप्ती किनारमा १५ वटा रेस्टुरेन्ट डुबानमा परेको थियो। ड्यामको छेवैमा भएको कारण माटो भत्काएको थियो। व्यवसायीले मर्मत गरेर पुरानै अवस्थामा ल्याएका छन्। तर पर्यटक आवागमन नहुँदा उनीहरू चिन्तित छन्। देशभर सडक सञ्जालको अवस्था राम्रो नभएको कारण पर्यटक घुम्न निस्कने अवस्था छैन। क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरेले बाढी पहिरोको कारण हाम्रो पर्यटन क्षेत्र अपेक्षा गरेअनुसार पर्यटक नआएको बताए। ‘सिजनको सुरुवातमा हामीले जुनअपेक्षा गरेका थियौं त्यसअनुसारको पर्यटक आउन सकेका छैनन्। यो अवस्थामा सौराहा चलायमान हुन्थ्यो। तर अहिले सुनसान छ,’ उनले भने, ‘बसबाट केही आएका छन्। सडक बिग्रिएकै कारण आउन सकेका छैनन्।’

व्यवसायीहरू होटलका सञ्चालकहरू पाहुना पर्खिंदै बसेका छन्। चाडबाडको बेला पर्यटक घुम्न खोज्छन्। बाटोको अवस्था राम्रो नहुँदा पर्यटक जोखिम मोल्न चाहँदैनन्। दैनिक चार हजार पर्यटक आउने सौराहामा चार सय पनि छैनन्। सौराहा आउने पर्यटकमध्ये ३० प्रतिशत नेपाली र २० प्रतिशत चिनियाँ पर्यटक हुन्। आन्तरिक पर्यटक बढी हुनुपर्ने बेला हो तर सौराहा सुनसान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.