अझै सुचारु भएनन् नौ वटा राजमार्ग

अझै सुचारु भएनन् नौ वटा राजमार्ग

काठमाडौं : यस वर्षको दसैं सुरु भइसक्यो । चाडपर्व नजिकिँदै गर्दा राजधानीबाट जिल्लासम्म पुग्ने नौ वटा राजमार्ग भने पूर्णरूपमा अवरुद्ध छन् । दुई वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् । देशभरका धेरै सडकहरूमा ठाउँठाउँ अवरुद्ध छन् । अवरुद्ध हुने र तत्कालै खुलाउने गर्दैे यो पटकको दसैंमा घर जाने यात्रुहरू तुलनात्मक रूपमा लामो समय लगाएर जान बाध्य छन् ।

असोज १४ गतेदेखि २० गतेसम्म चाडपर्व मनाउनका लागि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या साढे ५ लाखभन्दा बढी पुगिसकेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबारदेखि दिनहुँ ५० हजारको संख्यामा यात्रु उपत्यकाबाट बाहिरिन्छन् । दसैं नजिकिँदै गर्दा यो संख्या बढ्न सक्ने ट्राफिक कार्यालयको अनुमान छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता रविन क्षेत्रीका अनुसार राजधानीबाट जिल्ला जाने यात्रुको संख्या उल्लेख्य रूपमा बढिरहेको छ । सोमबार बिहानमात्रै ५० हजार हाराहारीमा काठमाडौंबाट बाहिरिएका छन् । यस्तै मंगलबारसम्म यो संख्या ५ लाख ५० हजार पुग्ने अनुमान छ ।

यो संख्या अघिल्ला वर्षहरूको तुलनामा केही कमी हो । दसैंको घटस्थापना सुरु भएपछि यसअघि दैनिक ५० हजारदेखि १ लाखसम्म यात्रुहरू काठमाडौंबाट बाहिरिने गरेका थिए । 

कुन कुन राजमार्ग अवरुद्ध छन् ? 

नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार, उपत्यकाको लेलेदेखि टीकाभैरव जाने बाटोमा अवरुद्ध भएको छ । पहिरो हटाएर यो एकतर्फी सञ्चालनमा ल्याइएको छ । यस्तै मध्यपहाडी लोकमार्गमा पर्ने तेह्रथुमको लालीगुराँस नगरपालिका तीनघरेमा सडक एकतर्फी सञ्चालनमा छन् । 

कान्ति लोकपथमा पर्नेे मकवानपुरको भीमफेदीमा अवरुद्ध हुँदा सडक पूर्ण रूपमा सञ्चालनमा आएको छैन । यस्तै बीपी राजमार्गमा पर्ने काभ्रेपाल्चोकको रोशी गाउँपालिकाको वडा नम्बर ८ ४ सय २० मा १२ किमि सडक अवरुद्ध हुँदा उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यस्तै सोही राजमार्गको रोशी गाउँपालिका— ११ को कालढुंगा र १२ को प्याकुरेल सडक अवरुद्ध हुँदा निकै दिनदेखि यात्रुहरूले दुःख पाइरहेका छन् ।

सिन्धुपाल्चोकमा पर्ने बाह्रबिसे तातोपानी सडक पनि पुर्ण रूपमा अवरुद्ध छ । उक्त सडकको भोटेकोशी— २ मा पहिरो खस्दा अवरुद्ध भएको हो । मन्थली नगरपालिका— ६ रामेछापमा रहेको रामेछाप- सिन्धुली सडकखण्ड पनि पहिरोको कारण पुर्ण रूपमा अवरुद्ध छ ।

अरनिको राजमार्गमा पर्ने काभ्रे पाँचखाल नगरापालिका— ५ हनुमानगढीमा पहिरो खस्दा उक्त सडक पूर्ण अवरुद्ध छ ।

पृथ्वी लोकमार्गमा पर्ने धादिङको बेनीघाट— ७ कृष्णभिरमा पहिरो खस्दा उक्त सडक पूर्ण अवरुद्ध छ । जयपृथ्वी राजमार्गमा रहेको बझाङको छबिसपाथीभेरा— १ बालुवाटारमा पहिरो जाँदा उक्त सडक पूर्ण रूपमा अवरुद्ध छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालका अनुसार केही दिनअगाडि परेको अविरल वर्षाका कारण यसपटक सडक अवस्था निकै दयनीय छ । बाढी, पहिरोबाट भौतिक संरचनाहरू नष्ट भएका छन् । पाँच वटा ठूलाठूला पुलहरू भत्किएका छन् । मुख्य पाँच वटा सडकहरू अवरुद्ध भएका छन् । नागढुंगा मुग्लिङ सडक यही असोज १३ गतेदेखि नै एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । चितवन बुटवलको दाउन्नेमा सडक भासिँदा एकतर्फी रूपमा सञ्चालनमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बीपी राजमार्ग तत्कालै सञ्चालन हुन सक्ने अवस्था छैन । यही राजमार्गमा पर्ने रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । मन्त्रालयका अनुसार तत्कालै सडक खोल्नका लागि दुईदेखि तीन अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको छ । दसैंअगाडि कान्ति राजपथ खोल्ने प्रयास गरिएको छ । बीपी राजमार्गबाहेकका सडकहरू दसैं अगाडि नै खोल्ने सरकारको तयारी छ । तातोपानी जाने अरनिको राजमार्ग खोल्नको लागि काम भइरहेको छ । तातोपानीमा ६ सय कन्टेनर अडकएको मन्त्रालयले जानकारी दिएको छ । बीपी राजमार्गको १२ किलोमिटरबाहेक अन्य वैकल्पिक मार्ग दसैंअगाडि नै खोल्ने सरकारको तयारी छ ।

अवरुद्ध सडकहरू खुलाउन स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतले काम गरिरहेका छन् । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार देशैभरको सडक अवस्था अत्यन्तै दुरवस्था छ । ग्रामीण सडकहरू ५० प्रतिशत सबै खराब अवस्थामा रहेका छन् । जहाँ सवारीसाधन पठाउन नै सकिएको छैन । मुख्य राजमार्गका विभिन्न ठाँउमा पहिरो जाने, बाटो भास्सिने तथा सडक बिग्रँदा ३० देखि ४० प्रतिशत खराब रहेको छ । यस्तो अवस्थामा समयमा सवारीसाधन पुर्‍याउन र काठमाडौं ल्याउन सकिएको छैन ।

सिटौला अगाडि भन्छन्, ‘एक्कासि आएको प्राकृतिक विपत्तिले गर्दा अग्रिम टिकट बुकिङ पनि गर्न सकिएको छैन । यसअघि जे जतिले टिकट लिए, लिए, तर अब सही समय तोकेर टिकट दिन सक्ने अवस्था नै छैन । सकभर सबैलाई म्यानेज गर्ने कोसिस गरिरहेका छौं । सडक अत्यन्तै धेरै बिग्रेकाले व्यवसायीले पनि केही गर्न नसक्ने सिटौलाको दाबी छ । 

सडक बनाउन सरकारका विभिन्न निकाय खटिरहेको जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष सिटौलाले, केही राजमार्गहरूको दयनीय अवस्था हुँदा सवारीसाधन पठाउन नसकिएको बताए । मौसममा सुधार आए र थप पानी नपरे सडकको समस्या छिटो समाधान हुने आशा रहेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.