सीमामा भिडभाड, झिटीगुन्टा बोक्दै गाउँ फर्किंदै

सीमामा भिडभाड, झिटीगुन्टा बोक्दै गाउँ फर्किंदै

धनगढी/महेन्द्रनगर :  टाउकोमा लुगाकपडाको पोको। पिठ्यूँमा गरुंगो झोला। हस्याङफस्याङ गर्दै दार्चुलाको महाकाली नगरपालिका खलंगाका श्याम चुनारा सोमबार बिहानै कैलालीको सीमा नाका गौरीफन्टा आइपुगे। 

घरमा बुवा, आमा, पत्नी र छोराछोरी उनको व्यग्र प्रतीक्षामा छन्। सबैलाई एकसरो लुगाफाटो र खानेकुरासहित झिटीगुन्टा बोकेर स्वदेशी भूमिमा टेक्न पाउँदा चुनाराको अनुहार चम्किलो थियो। तर, कमाइको आधा रकम बाटोमै सकिन थालेकोमा चिन्तित पनि थिए। ‘अरूबेला त तलब जति महिनै पिच्छे घर पठाउँथे,’ उनले भने, ‘तीन महिना यताको तलब बोकेर घर आएँ। बाटोमै आधा सकिएला जस्तो भइसक्यो।’ बैंंगलोरबाट नेपाली सीमा नाका गौरीफन्टा पुग्न उनलाई तीन दिन÷तीन रात (७२ घण्टा) भन्दा बढी समय लागेको थियो। लामो बसको यात्राको थकाइभन्दा पनि जन्मभूमिमा दसैं मनाउने अवसर जुरेकोमा खुसी थिए। 

‘गौरीफन्टा नाकाबाट नेपाल टेक्दासम्म ८ हजार भारु (नेपाली रु. १२ हजार ८ सय) खर्च भइसक्यो। अझ दार्चुला पुग्नु छ, त्यहाँ पुग्दा थप तीन हजार जति खर्च हुन्छ। उनले भने, ‘घर पुग्दासम्म आधा तलब सकिन्छ जस्तो छ।’, दसैंको उमंग र परिवारसँगको भेटको झल्को दिने गरी मुस्कुराउँदै चुनाराले भने।

चुनाराको मात्रै होइन, भारतबाट स्वदेश फर्किने हरेक नेपालीको यस्तै नियति छ। सुदूरपश्चिमका चारवटा मुख्य नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट धेरै नेपालीहरू दसैं मनाउन घर फर्किन थालेका छन्। दसैंका बेला घर फर्किने नेपालीहरूको संख्या बढी हुने भएकाले सवारी धनी, बाटोमा खाना खाने होटल र सीमा नाकामा भारतीय सुरक्षाकर्मीबाट ‘छुद्र’ व्यवहार भोग्नुपरेको उनले बताए। 

बसको टिकटमा मनपरी छ। खाना खान रोकेको ठाउँमा पनि सामान्य खानाको तीन/चार सय भारु लिन्छन्। दार्चुलाकै शिवराज भट्टले भने, ‘हामीलाई त जसले पनि लुट्ने गर्छन्। खाना पनि बासीजस्तै हुन्छ। नेपालमा रोजगारी नभएकाले हामीले यस्तो नियति भोग्नु परेको छ नि।’ मुलुकमा रोजगारी पाइए कोही पनि विदेश जान मन नगर्ने उनको भनाइ छ। nullदसैं मनाउन गौरीफण्टा नाकाबाट फर्किनेको भिड । तस्बिर : शिवराज भट्ट

कैलाली बर्दगोरिया गाउँपालिका मुडाका विजय सुनार पनि सोमबार गौरीफन्टा नाकामा भेटिए। उनी गत वर्ष मंसिरमा भारतको महाराष्ट्र राज्यमा पर्ने पुनामा रोजगारीका लागि गएका थिए। दसैंका लागि फर्किएका उनको मुहारमा उमंग थियो। ‘घरमा साना भाइ, बहिनीहरू छन्, उनीहरूको पढाइ खर्चका लागि १० कक्षा पढ्न छोडेर भारत गएको हुँ। तर कमाएको जति रकम बाटोमै सकिन थालेको छ’, निराश हँुदै उनले भने।

तर घर र परिवार सम्झनेबित्तिकै विजयको मुहारमा पुनः खुसीको चमक देखिन्थ्यो। ‘दसैंमा साथीभाइ, आमाबुवा र आफन्तसँग भेटघाट हुन्छ। बुवा आमाको हातबाट टीका, जमरा लगाउन सधैं कहाँ पाइन्छ र ?’ उनको भनाइ छ, ‘खर्च भए पनि दसैंमा रमाइलो गर्न स्वदेश फर्केको हुँ।’ सीमाबाट नेपाल जाने बसमा चढेका सुनारले भने, ‘नेपालमा केही रोजगार पाइन्थ्यो भने हामी किन अर्काको देशमा मजदुरी गर्न जानुपथ्र्यो र ?’

सुदूरपश्चिममा झन्डै २७ लाख जनसंख्या छ। त्यसको ३० प्रतिशत अर्थात् ८ लाखभन्दा बढी मानिस कामका लागि भारत जाने गर्छन्। केही पढेलेखेका युवाका लागि भारतको मुम्बई, बैंगलोर र राजधानी नयाँदिल्लीजस्ता ठूला सहरहरू जागिरका गन्तव्य हुन् भने उत्तराखण्ड राज्य र उत्तरप्रदेशमा पनि ठूलो संख्यामा नेपाली कामका लागि जाने गरेका छन्। 

त्यसमध्ये अधिकांश दसैं तिहारका लागि घर फर्किने गरेकाले सीमा नाकामा भिडभाड छ। मनमा दसैंको उमंग बोकेर आएकाहरू बाटोको सकस र भारतीय सुरक्षाकर्मीहरूको सकसले दिक्क हुने गरेका छन्। ‘बाटोमा साह्रै सकस छ। नेपाली भनेर हेपेर बोल्ने, खाने ठाउँमा पनि मनपरी रूपमा पैसा लिने। सीमा नाकामा पनि तीन/चार ठाउँमा भारत र त्योभन्दा पनि बढी ठाउँमा नेपाल पुगेर चेकिङ हुने गरेकाले पनि सकस हुने गरेको छ’, भारतको मुम्बईबाट दसैंका लागि फर्केका कैलालीको गौरीगंगा नगरपालिकाका दीपक जैगडीले भने। 

घटस्थापनादेखि नै भारतबाट स्वदेश फर्किने नेपालीको चाप बढ्न थालेको हो। गौरीफन्टा नाकामा रहेको सशस्त्र प्रहरीको तथ्यांकअनुुसार उक्त नाकाबाट घटस्थापना यता मात्रै सोमबारसम्म १३ हजार नेपाली घर फर्किसकेका छन्। यस्तै कञ्चनपुरको गड्डाचौकी, झुलाघाट र दार्चुलाको सीमा नाकाबाट पनि यसको दोब्बर संख्यामा नेपालीहरू स्वदेश फर्किएका छन्।

nullसुनौली नाकाबाट दशैं मनाउन घर फर्किनेको भिडभाड । तस्बिर :  सलमान खान   

अझै दसैं आउन केही दिन बाँकी छ। छोटो बिदा पाएकाहरू अझै अष्टमी नवमीसम्म पनि टीका थाप्न स्वदेश फर्किने गर्छन्। दसैं र तिहार, सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीहरूका लागि पनि अवैध असुली गर्ने मुख्य धन्दा भएको छ। घटस्थापनादेखि स्वदेश फर्किने नेपालीबाट रकम असुली हुन थालेको नेपाल भित्रिने यात्रुको गुनासो छ।

‘यस्ता समाचार मिडियामा आउन थालेपछि हामीले काउन्टरपार्टसँग कुराकानी गरेका छौं, अहिले अवैध असुली रोकिएको छ’, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने, ‘सशस्त्र र नेपाल प्रहरीका अधिकृतहरू नै सीमा क्षेत्रमा खटिनु भएको छ।’ भारतीय कस्टमका कर्मचारीले नेपालीबाट रकम उठाउन थालेको खबर आएपछि नेपाली प्रशासनले त्यसको जानकारी काउन्टरपार्टलाई गराएपछि एक÷दुई दिनदेखि भने केही रोकिएको छ। गड्डाचौकीमा तालिम प्राप्त कुकुर परिचालन

रोजगारीका लागि परदेश गएकाहरू चाडपर्वको बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भिड बढेको छ। भारतको हिमाञ्चलबाट दसैंै मनाउन घर फर्केका कालीकोट पलाता गाउँपालिकाका केशरबहादुर शाही गड्डाचौकी नाकामा भेटिए। भारतको हिमाञ्चलमा रोजगारीका लागि गएका उनी चाडपर्व मनाउन घर फर्केका हुन्। ‘भारतको हिमाञ्चलमा रोजगारीका लागि गएको एक वर्ष भयो। हरेक वर्ष दसैं मनाउन घर आउँछु’, उनले भने, ‘दसैं, तिहार मनाएर फेरि रोजगारीको लागि भारत फर्किन्छौं। के गर्नु परिवार त पाल्नुप

र्‍यो।’ भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, पञ्जाब, बैंगलोर, सिमला, हिमाञ्चल हरिद्वारलगायतका सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन्। 

कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक एक हजारभन्दा बढी नागरिक स्वदेश फर्किरहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार एक दिनमा मात्रै एक हजारदेखि १२ सय नागरिक भारतबाट नेपाल फर्किन थालेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले भारतबाट आउने नेपालीको भिड नाकामा लागेको बताए। ‘रोजगारीको लागि भारतमा रहेका नेपालीहरू घर फर्किने क्रम बढेको छ। नाकामा भिडभाड छ’, उनले भने, ‘भिडभाड बढेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छौं।’ उनले भारत जानेभन्दा नेपाल आउनेको संख्या बढी रहेको बताए। 

भारतबाट घर फर्किनेको चाप बढेपछि प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा सोमबारदेखि तालिम प्राप्त कुकुर परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सेरा र लिली नामका तालिम प्राप्त कुकुरबाट नाकामा जाँच सुरु गरेको छ। नेपाल प्रहरीको कुकुर तालिम केन्द्र धनगढीमार्फत ह्यान्डलसहित आएको प्रहरीले जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भारतबाट लागूऔषधदेखि पटाकासहितका विस्फोटक पदार्थ भित्रिन नदिन नाकामा दुई वटा तालिम प्राप्त कुकुर परिचालन गरिएको जानकारी दिए।

‘चाडपर्वका बेला लागूऔषधदेखि विस्फोटक पदार्थ भित्रिने जोखिम बढेकाले लागूऔषध र पटाकासहितका विस्फोटक पदार्थ पहिचानका लागि कुकुर परिचालन गरिएको हो’, उनले भने, ‘कुकुरमार्फत गैरकानुनी गतिविधि नियन्त्रण गर्छ सहज हुनेछ।’ उनले जिल्लामा चाडपर्व सुरक्षाका लागि ८ सय १५ जना प्रहरी खटिएको बताए। त्यसैगरी जिल्लाको महेन्द्रनगरस्थित बसपार्क, झलारी, गुलरिया, त्रिभुवनवस्ती, बेलौरीमा प्रहरीले नागरिकता सहायता कक्षसमेत राखेको छ।

दसैं मनाउनपूर्वको विराटनगर नाकादेखि पश्चिमको गड्डाचौकी नाकासम्म स्वदेश फर्किनेको भिडभाड छ। लालाबाला च्याप्दै झोलागुन्टा बोकेर आउनेहरूको भिडभाडले दसैंको रन्को दिएको छ। अरू बेला परदेशमा रगत पसिना बगाउनेहरू दसैं भने आफ्नै गाउँमा मनाउन पाउँदा बेग्लै 
रमाइलो हुने बताउँछन्। 

गौरीफन्टा नाकाबाट नेपाल टेक्दासम्म ८ हजार भारु (नेपाली रु. १२ हजार ८ सय रुपैयाँ) खर्च भयो। अझ दार्चुला पुग्नु छ। तीन हजार त्यहाँ पुग्दा पनि लाग्छ। भनेपछि घर पुग्दासम्म आधा तलब सकिन्छ जस्तो छ।
श्याम चुनारा, बेंगलोरबाट फर्केका नेपाली

बाटोमा साह्रै सकस छ। नेपाली भनेर हेपेर बोल्ने, खाने ठाउँमा पनि मनपरी पैसा लिने। सीमा नाकामा पनि तीन÷चार ठाउँमा भारत र त्योभन्दा बढी ठाउँमा नेपाल पुगेर चेकिङ हुने गरेकाले पनि सकस हुने गरेको छ।
दीपक जैगडी, गौरीगंगा, कैलाली

सीमा क्षेत्रमा भइरहेका दुुव्र्यवहारको समाचार मिडियामा आएपछि हामीले काउन्टरपार्टसँग कुराकानी गरेका छौं। अहिले अवैध असुली रोकिएको छ। दसैंका लागि स्वदेश फर्किनेहरूलाई सीमा क्षेत्रमा सहजता होस् भनेर हेल्प डेस्क राखिएका छन्। 
धर्मेन्द्रकुमार मिश्र, प्रमुख जिल्ला अधिकारी, कैलाली


दसैं सुरक्षा योजनामा दोब्बर प्रहरी परिचालन भएका छन् 

दसैं नजिकै आइसक्यो, कस्तो सुरक्षा योजना के कस्तो छ ?     

हामीले अरू बेलाभन्दा झन्डै दोब्बर प्रहरी परिचालन गरेका छौं। गुल्म र गणमा रहेका प्रहरी जनशक्ति पनि खटाइसकेका छौं। प्रदेशभरि सादा पोसाकका प्रहरी पनि परिचालन गरिएका छन्। ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) पनि तैनाथ छन्। यो भनेको जति बेला पनि घटनास्थलमा पुग्ने टिम हो। 

गस्तीको व्यवस्थापन कस्तो छ ?     
पहाडी जिल्लाहरूका लागि सडक नभएको स्थानमा पैदल गस्तीको पनि व्यवस्थापन गरेका छौं। पहाडमै पनि सडक भएको ठाउँमा गाडी र मोटरसाइकलमा गस्ती हुन्छ। तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर अझ बढी संवेदनशील जिल्ला हुन्। यी दुई जिल्लाका लागि नियमित गस्ती त हुने नै भयो। मोटरसाइकल र नजिकको क्षेत्रमा साइकल गस्तीको पनि व्यवस्था गरिएको छ।  

कुन कुन जिल्लाहरू संवेदनशील क्षेत्रमा पर्छन् ?     
कैलाली, कञ्चनपुरका केही भागहरू संवेदनशील छन्। पहाडमा पनि विगतका घटनाहरू विश्लेषण गरेर योजना बनाएका छौं। पहाडमा रात्रिकालीन जात्राहरूमा अझ बढी झैझगडा र हुलदंगा हुने गर्छ। त्यसको विश्लेषण गरेर नै यसपालि सुरक्षा योजना बनाएका छौं। विगतको अवस्थाअनुसार त्यहाँ विगतको भन्दा फरक र थप जनशक्ति तैनाथ गरिएको छ। 

null

रवीन्द्र केसी, प्रहरी नायब महानिरीक्षक, सुदूरपश्चिम प्रदेश

ठूलो संख्यामा भारतबाट स्वदेश फर्किनेहरूलाई सीमा क्षेत्रमा असहजताको कुरा आएको छ नि ?     
एकदमै गुनासाहरू आएका छन्। सीमा क्षेत्रमा बडादसैंका लागि घर आउनेहरूको सहजताका लागि विशेष योजना बनाएका छौं। सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने समस्याका लागि काउन्टरपार्टसँग बैठक नै गरेर कुराकानी गरिरहेका छौं।

तत्काल देखिने समस्याका लागि काउन्टरपार्टसँग तुरुन्तै पनि कुरा हुने गरेको छ। सीमा क्षेत्रमा सडक नै छोपिने गरी राखिएका नेपाल प्रहरीका छाप्राहरू हटाउन निर्देशन नै दिएको छु। स्वदेश फर्किने नेपालीहरूलाई सहजताका लागि सीमा क्षेत्रका प्रहरी प्रमुखहरूलाई निर्देशन भइसकेको छ। अन्य सुरक्षा निकायसँग पनि राम्रो समन्वय भइरहेको छ। सीमा क्षेत्रहरूमा नागरिक सहायता कक्ष स्थापना गरेर स्वदेश फर्किने नेपालीलाई सहयोग गरिरहेका छौं। 

दसैं र तिहारका बेला मुख्य सुरक्षा चुनौती के हो ?     
मुख्य चुनौती भनेको पहाडी जिल्लाको रात्रिकालीन मेला र जात्रा नै हुन्। रात्रिकालीन मेला र जात्रामा अत्यधिक मदिरा बिक्री हुने, मदिराका कारण आपराधिक घटनाहरू हुने, झैझगडा हुने, कतै कतै त मानिसको ज्यानसमेत जाने घटनाहरू विगतमा देखिएका छन्। विगतका यस्ता घटनाहरूको विश्लेषण गरेर सुरक्षा प्रबन्ध मिलाएका छौं।

तराईका जिल्लाबाट धेरैजसो मानिस घरमा ताला लगाएर पहाडतिर उक्लिने हुनाले कोही नभएको मौका छोपेर चोरी हुने गरेको पनि विगतको तीतो अनुभव छ। त्यसलाई पनि विश्लेषण गरेर हामीले तराईका सहरी क्षेत्रमा पनि नियमित गस्तीको प्रबन्ध गरेका छौं। यात्रुको चापका कारण सवारीसाधनहरूमा पनि क्षमताभन्दा बढी यात्रु ओसार्ने गरिन्छ। 

त्यसका लागि के गरिरहनु भएको छ ?     
दसैंका बेलाको यो अर्को मुख्य चुनौती हो। हामीले क्षमताभन्दा बढी यात्रु ओसार्न नदिनका लागि अत्तरियासहितका चोकहरूमा ट्राफिक प्रहरी परिचालन गरेका छौं। आधा बाटोमा गएर चेकजाँच गर्नुभन्दा सवारीसाधनमा चढ्ने ठाउँमै त्यसलाई नियन्त्रण गर्नुपर्छ भनेर हामीले धनगढी बसपार्क, अत्तरिया बसपार्क, महेन्द्रनगर बसपार्कहरूमा ट्राफिक परिचालन गरेका छौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.