गुटबन्दीले रास्वपा पर्साको अधिवेशन अनिश्चित
वीरगन्ज : शनिबार विवादका कारण स्थगित रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया अनिश्चित भएको छ। शनिबार होटेल गेट वे वीरगन्जमा आइतबार हुने जिल्ला अधिवेशनका लागि निर्वाचन प्रक्रिया चलिरहेकै बेला मतदाता (जिल्ला प्रतिनिधि) नामावलीको विवादमा दुई गुटबीच हानाहान भएपछि निर्वाचन समितिले निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेको थियो।
त्यसपछि आइतबार बिहान फेरि निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले अर्को सूचना जारी गरेर अपरान्ह ३ बजेदेखि निर्वाचन प्रक्रिया सुचारु गरिने जानकारी दिएका थिए। तर, अपरान्ह साढे ५ बजेसम्म पनि जिल्ला अधिवेशन र निर्वाचन प्रक्रिया सुरु हुने छाँटकाँट देखिएको छैन।
अधिवेशनस्थल क्लासिक बेंक्वेटमा रास्वपाका कार्यकर्ताहरू नेताहरुलाई कुरेर बसिरहेका छन्। विवाद सुल्झाउन काठमाडौंबाट आइतबार आएका संगठन विभाग सचिव शंकर श्रेष्ठको मध्यस्थतामा होटल भिस्वा पर्साका दुवै गुटका नेताहरूको छलफल जारी छ।
यसअघि आइतबार बिहानमात्रै महानगर सभापति दीपराज श्रेष्ठले महानगर समिति मातहतका सबै विभागहरू खारेज गरिएको घोषणा गरेपछि त्यसले दुई गुट बीचको विवाद झन् बल्झिएको छ। रास्वपा पर्साका सभापति तथा पर्सा-१ सांसद हरि पन्तले होटल भिस्वामा दुवै पक्षबीच सहमतिको लागि छलफल जारी रहेको बताए।
पर्सामा पालिका अधिवेशनकै बेलादेखि सुरु भएको रास्वपाभित्रको दुई गुट बीचको विवाद अहिले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा झन् छताछुल्ल भएको हो। पर्सामा एक गुटको नेतृत्व संस्थापक जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन्। उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएर अगाडि बढेका छन्।
पर्सा-२ का सांसद कानुले जिल्ला सभापतिले जिल्लाका १४ मध्ये ८ पालिकामा अधिवेशन नै नगराएको बताए। जिल्ला प्रतिनिधि चयनमा एकलौटी गरेको आरोप लगाउँदै उनले आफूखुसी विभिन्न विभाग गठन गरेर त्यसबाट पनि प्रतिनिधिहरू थपेको बताए। उनले भने, `गुटउपगुट भन्दा पनि सत्य असत्यको कुरा छ। कसैसँग पनि पूर्वाग्रही हुनु भएन। एक जनाको पार्टी होइन। अधिवेशन र निर्वाचन प्रक्रिया पार्टीको विधि र निर्देशन बमोजिम हुनुपर्छ भन्ने हाम्रो अडान हो।’
प्रतिक्रिया दिनुहोस !