खामेनी भेट्ने ट्रम्पको इच्छामा इरानले भन्यो–असम्भव, वार्ता पूर्णरुपमा ठप्प
इरान : इरानका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले सीएनएनलाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विश्वास जित्न पर्याप्त कदम नचालेका कारण वार्ता पूर्ण रूपमा ठप्प भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीबीच सम्भावित भेटघाटको आशामाथि इरानले पूर्णविराम लगाएको छ । खामेनीका निकट सहयोगी तथा वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले यस्तो भेट सम्भव नभएको स्पष्ट पारेका छन् । उनले वार्ता अवरुद्ध हुनुमा ट्रम्पलाई जिम्मेवार ठहर गरेका छन् ।
यो प्रतिक्रिया ट्रम्पले जुन ३ मा ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै इरानका सर्वोच्च नेतासँग भेट्न इच्छा व्यक्त गरेपछि आएको हो । ट्रम्पले आफू खामेनीको मनपर्ने व्यक्ति नहुन सक्ने भए पनि भेट्ने अवसर पाए सम्मानपूर्वक भेट्ने बताएका थिए ।
ट्रम्पको प्रस्तावमा इरानको स्पष्ट जवाफ
रेजाईका अनुसार ट्रम्पले इरानको विश्वास पुनः स्थापित गर्न पर्याप्त प्रयास गरेका छैनन् । उनले वार्ताको गतिरोध अन्त्य गर्न अमेरिका समक्ष दुई मुख्य शर्त राखेका छन् । पहिलो, अमेरिकाले रोक्का गरेको इरानको २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति तत्काल फुकुवा गर्नुपर्ने माग गरिएको छ ।रेजाईले भने, ‘यो पैसा हाम्रो हो, अमेरिकाको होइन । अमेरिका इरानसँग सम्झौता गर्न इच्छुक छ भने यो २४ अर्ब डलर फिर्ता गर्नु विश्वासको परीक्षा हो।’
दोस्रो, सद्भावना र विश्वास पुनःस्थापनाको संकेतस्वरूप अमेरिकाले स्ट्रिट अफ होर्मुजमा रहेको आफ्नो नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गरिएको छ ।
युद्ध लम्बिए नयाँ क्षेत्रसम्म विस्तार गर्ने चेतावनी
रेजाईले चेतावनी दिँदै भनेका छन्–यदि अमेरिकासँग कुनै सम्झौता भएन भने इरान युद्ध लामो समयसम्म चल्न सक्ने अवस्थाबाट चिन्तित छैन । उनले इरानले युद्धको दायरा इण्डिया ओसन, बाब अल–मन्देब जलडमरूमध्य, रातो सागर र भूमध्य सागरसम्म विस्तार गर्न सक्ने दाबी गरे । उनका अनुसार यदि युद्ध जारी रह्यो र नाकाबन्दी हटाइएन भने इरानले ती क्षेत्रहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई समेत निशाना बनाउन सक्छ ।
ट्रम्पलाई इरानको सन्देश
रेजाईले ट्रम्पलाई अमेरिकी जनताको हितलाई प्राथमिकतामा राख्न र इजराइलबाट स्वतन्त्र भएर निर्णय लिन सुझाव दिएका छन् । उनले इरानी जनताको अधिकार फिर्ता गर्न, नाकाबन्दी हटाउन र जफत गरिएको सम्पत्ति फुकुवा गर्न आग्रह गर्दै त्यसो भए इरान–अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु हुन सक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !