इरान शान्तिको जोखिमपूर्ण सम्भावनाबारे सोच्दै हो ?
इरान : इरान अहिले युद्धकालीन एकताबाट शान्तिकालीन विभाजन र चुनौतीतर्फको जोखिमपूर्ण संक्रमणको तयारी गरिरहेको छ । युद्ध अझै पूर्ण रूपमा समाप्त नभए पनि देशले अति–मुद्रास्फीति, अर्थतन्त्रमा १० प्रतिशत संकुचन, विद्युत् कटौती तथा सरकारसँग असहमति राख्नेहरूविरुद्धको दमन अन्त्य गर्नुपर्ने मागजस्ता समस्याहरूको सामना गरिरहेको छ ।
शान्ति स्थापना भएपछि देशको भविष्य कस्तो हुने भन्ने विषयमा सत्तारूढ वृत्तभित्र बहस सुरु हुन थालेको छ । केहीले बढी खुलापन र सुधारको पक्ष लिएका छन् भने इरानी वार्ता टोलीसँग निकट मानिने सईद अजोरलु जस्ता व्यक्तिहरूले पश्चिमी मुलुकहरूमा ‘कमजोर इरान’ को धारणा भत्किसकेको भन्दै देशले आत्मनिर्भरतामार्फत विकासको बाटो रोज्नुपर्ने तर्क गरेका छन् ।
तर इरानको भविष्य धेरै हदसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन आर्थिक प्रतिबन्धहरू हटाउन र रोक्का गरिएका सम्पत्ति फुकुवा गर्न कत्तिको तयार हुन्छ भन्ने कुरामा निर्भर रहनेछ । यद्यपि अधिकांश इरानी अर्थशास्त्रीहरूका अनुसार सम्भावित राहतले पनि युद्धका कारण अर्थतन्त्र, पूर्वाधार, विद्यालय, ऊर्जा क्षेत्र, इस्पात उद्योग तथा आवास क्षेत्रमा भएको करिब २७० अर्ब डलर बराबरको क्षतिको सानो अंश मात्र पूर्ति गर्न सक्ने छ ।
फुआद हबिबी जस्ता विश्लेषकहरूका अनुसार युद्धअघि भएका हिंसात्मक प्रदर्शनका मूल कारणहरू अझै समाधान भएका छैनन्, बरु युद्धले तिनलाई झन् गम्भीर बनाएको छ । उनका अनुसार नौसैनिक नाकाबन्दी र युद्धका प्रभावका कारण मूल्यवृद्धि असाधारण रूपमा बढेको छ भने इन्टरनेट अवरोधका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कम्तीमा २० लाख मानिस बेरोजगार बनेका छन् ।
उनले भने, ‘हाम्रो समाजमा राजनीतिक दल, पेशागत संस्था वा ट्रेड युनियनमार्फत असन्तुष्टि व्यक्त गर्ने प्रभावकारी माध्यम छैन । त्यसैले जनआक्रोश कहिले र कसरी विस्फोट हुन्छ भन्ने अनुमान गर्न गाह्रो हुन्छ ।’ हाल देखिएको राष्ट्रिय एकता बाह्य शत्रु र युद्धको परिणाम भएको उनको तर्क छ । उनका अनुसार बाह्य खतरा हटेपछि भित्री मतभेदहरू फेरि सतहमा आउने सम्भावना हुन्छ ।
यदि युद्ध अन्त्य गर्ने सम्झौता भयो भने इरानी अर्थतन्त्रले शान्तिकालमा प्रवेश गर्दा दोस्रो विश्व युद्धयताकै उच्च खाद्य मुद्रास्फीतिको सामना गर्नुपर्नेछ । इरानको तथ्याङ्क केन्द्रका अनुसार मे महिनामा वार्षिक खाद्य मुद्रास्फीति १३० प्रतिशत पुगेको थियो भने मासु र कुखुराको मूल्यवृद्धि १७६ प्रतिशत पुगेको थियो । स्वास्थ्य विज्ञहरूले कुपोषण, अस्थिक्षय र बालबालिकाको वृद्धि अवरुद्ध हुने समस्या बढ्न सक्ने चेतावनी दिएका छन्, किनभने धेरै परिवारले आफ्नो आहारबाट दुग्धजन्य पदार्थ हटाउन थालेका छन् ।
पूर्व सञ्चारमन्त्री मोहम्मद जवाद आजारी जह्रोमी ले आफ्नो टेलिग्राम सन्देशमा लेखेका छन्, ‘ट्रम्प र नेतन्याहुको अर्को बम बारुद नभई मुद्रास्फीति हुन सक्छ । वास्तविक युद्ध अब जनताको भान्सा, घरभाडा र जीवनयापनमा हुनेछ ।’ इरानी राष्ट्रपति मसुद पेजेशकियानले पनि कठिन समय आउन सक्ने चेतावनी दिँदै सामाजिक एकता कायम राख्न आह्वान गरिरहेका छन् । ऊर्जा पूर्वाधारमा क्षति पुगेपछि दैनिक दुई घण्टासम्म नियन्त्रित विद्युत् कटौती हुन सक्ने चर्चा चलेको छ, यद्यपि ऊर्जा मन्त्रालयले त्यसलाई औपचारिक रूपमा अस्वीकार गरेको छ ।
ऊर्जा बचत गर्नेलाई ३० प्रतिशतसम्म छुट दिने कार्यक्रम समेत ल्याइएको छ । इन्टरनेटमाथिको सेन्सरशिप क्रमशः हट्न थालेपछि जनताको असन्तुष्टि पनि खुला रूपमा देखिन थालेको छ । राजनीतिक अभियन्ता रहिम घोमेशीले लेखेका छन्, ‘हामी डुब्न लागेको डुङ्गाबाट बच्यौं भन्दैमा अहिलेको अवस्थासँग सन्तुष्ट हुन सकिँदैन । गरिबी सामान्य बन्नु हुँदैन थियो, हरेक बिहान मृत्युदण्डको समाचार सुन्नु सामान्य हुनु हुँदैन थियो र मानिसहरू आफ्नो भविष्यबारे निर्णय गर्न नसक्ने अवस्थामा पुग्नु हुँदैन थियो ।’
इरानभित्रको राजनीतिक बहस प्रायः अमेरिकासँग वार्ता गर्ने वा नगर्ने तथा युरेनियम संवर्धनको अधिकार कति समयका लागि त्याग्ने भन्ने विषयमा केन्द्रित भए पनि धेरैको विश्वास छ कि युद्धको वास्तविक उपलब्धि आर्थिक प्रतिबन्धको अन्त्य हुन सक्छ । तर सम्भावित आर्थिक राहतलाई अधिकांश विज्ञहरूले कुनै ‘आर्थिक वरदान’ भन्दा पनि सीमित सहयोगका रूपमा मात्र हेरेका छन् ।
प्रतिक्रिया दिनुहोस !