पर्सामा रास्वपा अधिवेशन विवाद: मतदाता नामावली विवाद सुल्झियो, सोमबार चुनाव
वीरगन्ज : विवादका कारण शनिबार स्थगित रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशन सोमबार हुने भएको छ। काठमाडौंबाट आएका संगठन विभाग सचिव शंकर श्रेष्ठको मध्यस्थतामा होटल भिस्वामा आइतबार दुवै गुटका नेताहरुबीच भएको छलफलमा मतदाता (जिल्ला प्रतिनिधि) नामावली सम्बन्धी विवाद सुल्झिएकाले अब सोमबार बिहानदेखि जिल्ला अधिवेशनसँगै निर्वाचन प्रक्रिया सुचारु हुने रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए। उनका अनुसार सोमबार बिहान ८ बजेदेखि जिल्ला अधिवेशन र निर्वाचन प्रक्रिया सुरु गर्ने गरि समयतालिका प्रकाशन गरिएको छ।
शनिबार होटेल गेट वे वीरगन्जमा आइतबार हुने जिल्ला अधिवेशनका लागि निर्वाचन प्रक्रिया चलिरहेकै बेला मतदाता (जिल्ला प्रतिनिधि) नामावलीको विवादमा दुई गुटबीच हानाहान भएपछि निर्वाचन समितिले निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेको थियो। त्यसपछि आइतबार बिहान फेरि निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले अर्को सूचना जारी गरेर अपरान्ह ३ बजेदेखि निर्वाचन प्रक्रिया सुचारु गरिने जानकारी दिएका थिए। तर अपरान्ह ३ बजेदेखि पनि अधिवेशन सुरु हुन सकेन।
पर्सामा पालिका अधिवेशनकै बेलादेखि सुरु भएको रास्वपाभित्रको दुई गुट बीचको विवाद अहिले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा झन् छताछुल्ल भएको छ। पर्सामा एक गुटको अगुवाइ जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन्। उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएर अगाडि बढेका छन्।
सोमबार बिहानदेखि सुरु हुने जिल्ला अधिवेशनमा खुल्ला र बन्द सत्रका साथै जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन नै हुने रास्वपा पर्साका एक नेताले बताए।
प्रतिक्रिया दिनुहोस !