दसैं आयो, के खाउँला ? गिट्ठै खाउँला

दसैं आयो, के खाउँला ? गिट्ठै खाउँला
घरमा अन्न नभएपछि जंगलबाट ल्याएको गिट्ठा खाँदै राप्ती नगरपालिका १३ को वाक्राङका अमृतलाल चेपाङको परिवार । तस्बिर : अनिल ढकाल

चितवन : वाक्राङका अमृतलाल चेपाङको परिवारमा दसैंको कुनै रौनक छैन् । ८ वर्षीया छोरी सृष्टि चेपाङलाई दसैंमा भात खाने रहर छ । त्यसैकारण बुवाको ‘अघिपछि’ गरिरहेकी हुन्छिन् ।

अमृतलाललाई छोरीको रहर कसरी पूरा गर्ने भन्ने पिरलो छ । आफू त जेनतेन टार्ने सोचमा छन् । तर, सन्तानको रहरले उनको मनलाई खल्लो बनाएको छ । घरमा अन्न छैन । भएको घैयाधान सकियो । बारीमा कोदो पाकेको छैन । दसैं कसरी मनाउने भन्ने चिन्तामा छन् । 

‘मकै सकियो, घैया धान पनि सकियो,’ अमृतलाल भन्छन्, ‘बा दसैंमा चामलको भात खाने भनेर सानी छोरी पछिपछि लागेकी छन् । चामलको भात त रहरै होला जस्तो छ ।’ चामल नभएकाले ढिँडो र सिस्नो खाएरै दसैं मनाउने सुरमा उनी छन् । ‘हामी गरिबलाई चाडबाड भनेको पीडामात्रै हो,’ उनले भने, ‘दसैं जतिजति नजिकै आउँदैछ । पीडा झन्झन् बढ्दै गएका छन् ।’

त्यसैकारण उनको अनुहार मलिन छ । जस्तापाताले बारेको छाप्रोभित्रको अँगेनामा गिट्ठा उम्लिरहेको थियो । जंगलमा गएर ल्याएको गिट्ठा तीन घण्टा लगाएर उमाल्दै थिए, अमृतलाल । घरमा अन्न नभएपछि छाक टार्नै मुस्किल छ । दसैं मनाउने त परकोे कुरा भयो । चेपाङ समुदायलाई मुखैमा आएको दसैं कसरी मनाउने भन्ने पिरलो छ । 

‘चामल छैन त्यही ढिँडो पकाएर दसैं मनाउनु पर्‍यो । चामलको भातको रहर त लाग्छ नि,’ अमृतलालकी पत्नी दिलमायाले भनिन्,‘ चामल छैन ढिँडो ओढालेर दसैं मनाउने हो । चामलको भात खान मन लाग्छ । तर के गर्नु आफूसँग पैसा छैन । पैसा नभएपछि  चाडबाडमा रमाइलो पनि हुँदैन ।’

चेपाङहरूको मुख्य समस्या नै खाद्यान्न हो । चेपाङ समुदायले पाखो बारीमा लगाएको मकैले तीन महिना पनि धान्दैन । ६ महिना सहकाल, ६ महिना अनिकालको बाध्यता छ । दसैंमा चामलको भात हरेक परिवारको रहर हो । आर्थिक विपन्नताले उनीहरू नयाँ लुगा किन्न पनि सक्दैनन् । चामलको भात त सपना नै हुन्छ । शरीरमा एकसरो नयाँ लुगा लगाउने रहर छ । तर उपाय छैन । 

राप्ती नगरपालिका— १३ का बुद्धिराज चेपाङले खल्तीमा पैसा नहुँदा दसैं आएको अनुभव गर्न पाएका छैनन् । उनले गरिबको दसैं ढिँडो भएको बताए । ‘पैसा भएको भए दसैं आएको झै हुन्थ्यो होला । गरिब चेपाङलाई के को दसैं आउथ्यो र ?,’ बुद्धिराजले दुःखेसो पोखे, ‘हामी गरिब न लुगा किनेर लगाउन सक्छौं न चामल किन्न सक्छौं । हामीलाई सधैं यस्तै हो ।’ 

चेपाङको परिवारलाई वर्षभरि खान पुग्दैन । अहिले पनि चेपाङहरू गिट्ठाभ्याकुरले छाक टार्दै आएका छन् । यसपटक हरेक चेपाङ परिवारमा दसैंको रौनकता छैन । केही वर्षअघिसम्म दाताले दिएको चामलले दसैं टार्थे । यसपटक उनीहरूको दसैं खल्लो हुँदैछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.