मिथिलामा झिझियाको रौनक
जनकपुरधाम : दसैंको रौनक उत्कर्षमा छ। गाउँसमाज, सहर बजार सबै झिलिमिली भएका छन्। दसैं पूजापाठ, मेलाहाट, खानपान र मेलमिलापका लागि प्रसिद्ध छ तर, मिथिलामा दसैं झिझिया नृत्यको लागि पनि त्यति नै बढी प्रसिद्ध छ।
मिथिलामा लोक नाच, सांस्कृतिक झाँकी र धार्मिक अनुष्ठानहरूले दसैंलाई अझ बढी रोमाञ्चक र अलौकिक बनाउँछ। निकै फरक धुन र लोक लयतालमा आधारित झिझिया नृत्यलाई कतिपयले तान्त्रिक अनुष्ठान भन्छन् भने कतिपयले यसलाई धामीझाँक्री र भूतप्रेतसँग जोडेर पनि बखान गर्छन् तर, खासमा झिझिया नकारात्मकताको विरुद्धमा सकारात्मक उद्घोष रहेको मिथिलाका विद्वानहरूको विश्लेषण छ।
अन्धकारमय रातमा माटोको घैंटोमा असंख्य प्वाल पारी त्यसभित्र दियो हाली टाउकोमा राखी गाउँ र टोलका हरेक गल्लीबाट गीत गाउँदै नाच्दै निस्कने लोक कलाकारहरूको टोलीले अन्धकारमा ज्योतिको जितको सन्देश दिने गर्दछन्। नकारात्मक ऊर्जालाई सकारात्मक सोचले परास्त गर्न सक्ने बयान पनि गर्ने गर्छन्।
पछिल्लो समय झिझिया नृत्य मधेसलाई विश्वमै चिनाउने ‘सांस्कृतिक गान’ को रूपमा पनि परिचित हुन थालेको छ। यस नृत्यलाई अन्तर्राष्ट्रिय पहिचान नै प्राप्त भइसकेको छ। तर, झिझियालाई गलत रूपमा प्रस्तुत गर्ने, यसमा अश्लील गतिविधि मिश्रित गरेर प्रस्तुत गर्ने र यसलाई अन्धविश्वास बढाउने माध्यमका रूपमा प्रचारप्रसार गर्ने प्रवृत्तिहरूले गर्दा झिझियाप्रति टीकाटिप्पणीहरू पनि व्यापक हुन थालेको छ।
तोहरे भरोसे बरहम बाबा जुरबा बन्होलियै हो
झिझिया नृत्यको प्रचलन मिथिलाञ्चलमा कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्यांक छैन। करिब दुई सय वर्ष पूर्वबाट यो नृत्य सुरु भएको मान्न सकिने मिथिलाका विद्वानहरू बताउँछन्।
घटस्थापनाको दिन एकातर्फ घरघरमा जमरा छर्ने र माता दुर्गा पूजाको तैयारी गरिन्छ भने अर्कोतर्फ मिथिलाका मुसहर, चमार, तेली, कुम्हारलगायतका जातिका महिला पुरुषहरू झिझिया बनाउन व्यस्त हुन्छन्। आकर्षक र झम्किलो झिझिया बनाउन निकै मेहनत लाग्छ। ‘झिभिया बनाउने काम दसैं आउनु एक साता पहिलेदेखिनै सुरु गर्छौं’, महोत्तरीको मधवा गाउँकी सरिता सदा भन्छिन्, ‘झिझिया बनाउन विशेष खालको माटोको घैटौंहरू छनोट गर्छौं, घैंटो राम्रो भएन भने झिझिया फुट्ने डर हुन्छ। त्यसैले विशेष ध्यान दिन्छौं।’
घटस्थापनाका दिन गाउँ वा सहरका ब्रह्मस्थान (गाउँमा रहेका देउताको मुख्य मन्दिर) मा पुजा आराधना गरिन्छ। झिझिया टाउकोमा राखेर नृत्यु गर्नु पूर्व धामी ओझाबाट यसलाई मन्त्रले सिद्ध गरिन्छ। भनिन्छ झिझियालाई बोक्सीको आँखाबाट बचाउन धामीद्धारा छेकबार गरिन्छ। त्यसपछि विधिवत् रूपमा झिझिया खेल्न सुरु हुन्छ।
तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो
बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा
बालक तोहर किछियो ने जनैछौं हो.............
घैंटोमाथि बलिरहेको आगोको डल्लो टाउकोमा राखेर किशोरी र महिला मज्जाले नाच्छन्। तर, झिझिया नाच्न सबैले सक्दैनन्। त्यसका लागि निकै अनुभवी र राम्रो तैयारी गरेका महिलालाई नै जिम्मेवारी दिइन्छ।
‘झिझिया जहिलेदेखि सुरुवात भयो त्यसको दुई, तीन वटा पक्ष हुन सक्छन् जस्तो मलाई लाग्छ। एउटा त समाजमा राम्रो शक्ति र नराम्रो शक्ति रहँदै आएको कुरा सर्वमान्य छ। त्यसमा पनि तत्कालीन समाजमा तन्त्रमन्त्रबाट सिद्धि प्राप्त गर्ने र शक्तिशाली बन्ने प्रचलन थियो। विशेषगरी मिथिला भारतको आसाम र बंगालका क्षेत्रहरूमा पाइने लोक गाथाहरूमा यी तन्त्रसिद्धिका कुराहरू बढी नै पढ्न पाइन्छ। त्यस्ता तान्त्रिक क्रियाकलापको क्रममा जसले तन्त्रको दुरुपयोग गर्थे त्यस्तालाई डाइन वा बोक्सीको रूपमा परिभाषित गरियो। सामान्य रूपमा बुझ्ने हो भने जसले समाजको अहितमा काम गर्छ वा समाजलाई बिगार्न खोज्छ त्यस्तालाई बोक्सी र गलत शक्ति भनियो। अब हुन त यो अन्धविश्वाससँग जोडिएको कुरा हो’, मिथिलाका प्रसिद्ध साहित्यकार तथा अनुवादक धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘धार्मिक विश्वासको आधारमा यसलाई अनुष्ठान भन्ने परिपाटीको विकास भयो। जस्तो पाए त्यस्तै अवस्थामा झिझिया नाच हुँदैनथ्यो। पहिले गाउँका देउता जसलाई डिहबार वा ब्रह्म पनि भनिन्छ त्यहाँ पूजा गरेर झिझियालाई मन्त्रले बाँध्ने गरिन्थ्यो। झिझियामात्रै नभई झिझिया गाउने कलाकारहरूलाई पनि मन्त्रले बाँधिन्थ्यो। यो नृत्य नकारात्मक शक्तिको विरुद्ध हो भने यो नारी स्वतन्त्रताको प्रतीक पनि हो। जहाँ महिलालाई मनोरञ्जन गर्ने र आफ्नो प्रतिभा देखाउने एउटा उपक्रम पनि हो।’
महिलाको सशक्तीकरणको प्रतीक
झिझिया नृत्यमा ‘डाइन’ बोक्सी भनेर गाइने गीतले महिलालाई अपमानजनक रूपमा व्याख्या गर्ने गरेको तर्कहरू आइराख्दा साहित्यकार धीरेन्द्र प्रेमर्षि यसलाई अपव्याख्याको संज्ञा दिन्छन्। उनी भन्छन्, ‘डाइन भनेर महिलालाई नभई समाजलाई अहित गर्ने तŒवलाई भनिएको हो। यसमा बोक्सी हुन्छ कि हँुदैन भन्नेमा मेरो कुनै तर्क छैन। तर, मुख्य कुरो के हो भने यस पुरुष प्रधान समाजमा जहाँ महिलालाई आफ्नो प्रतिभा देखाउने कुनै माध्यम थिएन। न मुक्त भएर घुमफिर गर्ने अवसर प्राप्त थियो। त्यस्तो बेलामा कुनै न कुनै लोक विचार आउने गथ्र्यो र त्यसै विचारहरूको उपजको रूपमा हामी झिझियालाई पनि लिन सक्छौं। जहाँ शरद ऋतुको शारदीय सन्ध्या, खेतीबारीबाट केही फुर्सद भएको समयमा नाचगान गर्ने एउटा उपक्रम सुरु भयो। मिथिलामा कुनै पनि उत्सव वा उत्साहलाई धार्मिकतासँग जोड्ने पुरानो परम्परा छ। त्यसैले पनि होला झिझिया नृत्यलाई दसैंसँग जोडेर व्याख्या गर्न थालिएको हो।’
बदलिँदै झिझियाका भाका
झिझिया मौलिक लोकगीतहरूमा आधारित हुन्छ। यसका भाकाहरूमा आशीर्वाद, सकारात्मक सन्देश, नकारात्मक गतिविधिका आलोचनाहरूलाई विशेष वर्णन गरिन्छ तर, पछिल्लो समय झिझियाका भाकाहरू समय र परिस्थितिअनुसार परिवर्तन हुन थालेका छन्। कतिपय राम्रा पनि छन् भने कति निकै गलत र यसको मौलिकता नै डुबाउने खालका पनि छन्।
समयअनुसार झिझिया परिमार्जित हुनु स्वाभाविक रहे पनि यसको मौलिकतालाई नै आँच आउने खालका गतिविधिहरूलाई निस्तेज गर्नु आवश्यक रहेको वरिष्ठ पत्रकार तथा मैथिली साहित्यकार धमेन्द्र झा बताउँछन्। ‘परापूर्वबाट चलेका चलनहरूको दुई वटा पक्ष हुन्छन्। पुरानो मैथिल समाज तन्त्रमन्त्रबाट प्रभावित भएकै थियो तर, शिक्षाको पहुँच हुँदै गर्दा चलन र परम्पराहरूलाई विज्ञानबाट प्रमाणित गर्ने काम पनि भएको छ,’ झा भन्छन्, ‘जुन समयमा झिझियाको प्रारम्भ भएको होला त्यो समयमा तन्त्रमन्त्रको प्रचलन त थियो नै होला तर, यसलाई विशुद्ध रूपमा सांस्कृतिक र मनोरञ्जनात्मक रूपमा ल्याइएको होला जस्तो मलाई लाग्छ। ’