एआईसम्बन्धी आविष्कारका लागि दुई जनालाई नोबेल पुरस्कार
स्टकहोम : अमेरिकी जोन होपफिल्ड र बेलायती-क्यानाडाली जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई) को विकासमा अग्रणी कामका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन्। जुरीका अनुसार उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कहरूसँग मेसिन लर्निङ सक्षम बनाउने आधारभूत खोज र आविष्कारका लागि’ सम्मानित गरिएको छ।
स्विडिश रोयल एकेडेमी अफ साइन्सेसले एक वक्तव्यमा भनेको छ, 'यस वर्षको भौतिकशास्त्रमा दुई नोबेल पुरस्कार विजेताहरूले आजको शक्तिशाली मेशिन लर्निङको आधार रहेको विधिहरू विकास गर्न भौतिकशास्त्रका उपकरणहरू प्रयोग गर्नुभएको छ।'
वक्तव्यमा प्रिन्स्टन विश्वविद्यालयका ९१ वर्षीय प्राध्यापक होपफिल्डलाई ‘एसोसिएटिभ मेमोरी सिर्जना गरेको’ र ‘यसले छवि र डेटाका अन्य प्रकारका ढाँचाहरू भण्डारण गर्न र पुनःनिर्माण गर्न सक्छ’ भनी उल्लेख गरिएको छ। जुरीले टोरन्टो विश्वविद्यालयका ७६ वर्षीय प्राध्यापक हिन्टनले ‘डेटामा स्वायत्त रूपमा गुणहरू पत्ता लगाउन सक्ने विधि आविष्कार गरेको र उक्त आविष्कारले तस्बिरहरूमा विशिष्ट तत्वहरू पहिचान गर्ने जस्ता कार्य गर्न सक्छ’ भनेको छ।
गत वर्ष भौतिकशास्त्रको नोबेल पुरस्कार फ्रान्सका पियरे एगोस्टिनी, हङ्गेरी-अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्को-स्विडिश एन ल’हुइलियरलाई अति छिटो प्रकाश फ्ल्यासहरू प्रयोग गरेर परमाणु र अणुहरूभित्रका इलेक्ट्रोनहरूको अध्ययन गर्न सक्षम बनाउन गरिएको अनुसन्धानका लागि दिइएको थियो।