काठमाडौं :
समय : सोमबार, राति ८ बजे।
दुर्गाबहादुर भुजेलको निधार रातो टीकाले सजिएको थियो। आफन्तबाट आशीर्वाद पनि थापेका थिए। तर, दसैंको होइन, शुभयात्राको। किनकि दुर्गालाई दसैंको मुखमा जन्मभूमि छोडेर परदेसिनु थियो। गरुंगो मन अनि, मलिन अनुहार पार्दै सोमबार राति परदेश लागे।
दसैंको मुखमा बिदेसिनु उनका लागि रहर होइन, बाध्यता हो। स्वदेशमा पेट पाल्न गाह्रो भएपछि उनी दुबईतिर लागे। उनका लागि यो वर्षको दसैं, दसैंजस्तै भएन। धनुषाको मिथिला नगरपालिका—१० लालगढका दुर्गालाई विमानस्थलमा बिदाइ गर्न परिवारका सदस्य पुगेका थिए।
घडीमा रातको ८ बज्यो। दुर्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘प्रस्थान’ कक्षबाट अघि बढन खोजे। बिदाइ गर्न आमा जानुका, दिदी र भान्जी (प्रकृति) एयरपोर्ट पुगेका थिए। तर, दुर्गाको मनले भित्र जानै खोजेको थिएन। परिवारजनसँग छुट्टिन मनै थिएन। पारिवारिक आत्मीयता यस्तो थियो कि, चंगा र धागोको सम्बन्ध जस्तै परिवार बाँधिएको आभाष हुन्थ्यो। जो एक अर्काे बिना अधुरो—अपूरो हुन्छन्।
भान्जी प्रकृति ट्रलीमा बसेर दुर्गाको बाटो छेकिरहेकी थिइन्। सायद, ती सानी भान्जीलाई मामा दुर्गा विदेश जाँदै गरेको थाहा थिएन। उनले धेरैबेर बाटो छेकिरहिन्। उनकी आमा (दुर्गाकी दिदी)ले बालिकालाई सम्झाउन थालिन्, तर पटक्कै मानिनन्। उनी, जोडले रुन थालिन्। चिच्याउन थालिन्। आमाले निकै सम्झाएपछि मात्रै उनी ट्रलीबाट झरिन्। अनि, दुर्गाले ट्रली अघि बढाए। बिदाइको हात हल्लाए। अनि, प्रस्थान कक्षबाट अघि बढे।
भान्जीको आँखाभरि आँसु थियो। ती आँसुमा दुर्गाकी दिदी र आमाको पनि भावना मिसियो। अनि तीनै जना रुन थाले। चाडवाडमा कसैको छोरा कसैको भाइ र कसैको मामा बिदेसिँदै थिए। टिल्पिल–टिल्पिल आँखा पार्दै दुर्गा ‘प्रस्थान बिन्दु’बाट भित्र छिरे। परिवारका सदस्यहरू बाहिरबाट तन्की—तन्की, आँखा चियाई—चियाई हेरिरहे। दिदीले भनिन्, ‘अब प्लेनमा उडेको कसरी हेर्ने हो ? ’
मुखको दसैं छोड्न त कसलाई पो मन होला र ? तर के गर्नु ? विदेश उड्न लागेका पतिलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै एक युवती । तस्बिर : अशोक दुलाल
लामो समयसम्म दुर्गाका परिवारजनले आकाशतिर नियालिरहे। गरिबी जीवनको नियति दसैंको मुखमा बिछोडिनुको पिडा। त्यसअघि दुर्गालाई हामीले एयरपोर्टमा केहीबेर कुराकानी गर्र्यौं। गाउँमा घर बनाउने ज्यामीको काम गर्ने रहेछन्। महिनाको २०—२५ हजार जति कमाइ हुने रहेछ। चार जनाको परिवार त्यसबाटै चल्थ्यो। तर, परिवार बढ्दै गयो। आवश्यकता र खर्च थपिँदै गयो। अनि दुर्गाले टन्न कमाउने र भविष्य सुरक्षित बनाउन विदेश जाने सपना साँचे।
‘विदेश जान कति पैसा लाग्यो ?’ प्रश्नमा उनले भने, ‘पैसाको त कुरै नगर्नुस्। दुई लाख लागिसक्यो।’ आमा जानुकाले दुई लाख ऋण गरेर उनलाई विदेश उडाएकी हुन्।
‘गरिबका लागि के दसैं, तिहार ? ’ दुर्गाले दुःखेसो पोखे, ‘पैसा हुनेहरूका लागि यहाँ सबै थोक छ। उनीहरूलाई चाडवाड आउँछ। रमाइलो अनि खुसी हुन्छ। उनीहरूको भाग्यमै सुख र खुसी लेखिएर आउँछ। तर, हाम्रा लागि दसैं पनि दशा जस्तै लाग्छ। किनभने हाम्रा लागि न देशमा रोजगारी छ न त कामको सम्मान नै।’ दुर्गामात्र होइनन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौं दुर्गाहरू दसैंको मुखमा परदेसिइरहेका छन्। गरिबी र बेरोजगारीको व्यथा बोकेर। विमानस्थल पुग्दा लाग्छ,— सयौं व्यक्ति अटाउने भीमकाय जहाजहरू मानिसमात्रै हैन, सिंगै देश बोकेर विदेश उडिरहेका छन् !
गरिबका लागि दसैं हो कि दशा ?
बारा कलैयाका मदन ठाकुर शर्मा सोमबार एयरपोर्ट पुगें। तर, अलमलमा थिए। प्रस्थान कक्ष कहाँ होला ? खोजिरहेका थिए। प्रहरीले ‘यता यता’ भनेपछि बल्ल राहत महसुस गरे।
उनको निधार खाली थियो। अनि मन खिन्न। उल्लासमय पर्व दसैंमा उनको गाउँमा दुर्गा पूजाको रौनक छ। तर, उनी देशमा गरिखाने कुनै उपाय नभेट्टाएपछि कुबेत उडेका छन्। ‘यहाँको कामधामले दसैंको खर्च पनि जोहो गर्न मुस्किलै छ,’ शर्माले भने, ‘बाध्यतावश मान्छे विदेश जान्छ। यहाँ कुनै खास आम्दानी नै छैन। बनिबुतो गरेर यसो परिवार चल्छ। त्योभन्दा अरू केही गर्न सकिँदैन।’
के काम गर्न जाँदै हुनुहुन्छ ? अन्नपूर्णको जिज्ञाशामा उनले भने,‘म्यानपावरले स्टोर हेल्फर भनेको छ। हेरौं न, अब के हुन्छ ? २ लाख ५५ हजार रुपैयाँ लिएको छ विदेश पठाउन।’ भनेको काम पाइन्छ कि पाइँदैन भन्नेमा उनी ढुक्क थिएनन्।
विमानस्थलमा विदेश जानेहरूको ताँती ।
यसअघि उनी चार वर्ष मलेसियामा काम गरेर फर्केका थिए। दोस्रो पटक फेरि दसैंकै मुखैमा विदेश उडेका छन्। बाध्यताका कयौं पोकापुन्तुराहरू बोकेर। वैदेशिक रोजगारीको यात्राअघि उनी गाउँमा फर्निचर बनाउने काम गर्थे। त्यसले जेनतेन परिवार चल्थ्यो। उनी भन्छन्, ‘पेट चल्थ्यो तर, परिवारको बृहत् विकास हुन सकेन। कर्जा तिर्न र बच्चाहरूलाई राम्रो स्कुलमा शिक्षा दिलाउन, परिवारलाई राम्रो चलाउन फेरि विदेश हिँडें हजुर।’ उनको १४ जनाको संयुक्त परिवार छ।
दसैंको बीचमा भिसा र टिकट आयो अनि जानु नै पर्यो। देशमा कहाँ छ त रोजगारी ? मान्छेहरू आईए, बीए पास गरेर पनि विदेशै जान्छन्। जति गरे पनि विदेशकै आशा छ।
नरेश पासवान,रौतहट
भिसा र टिकट जतिखेर आउँछ उतिबेलै जानुपर्छ। चाडपर्वलाई वैदेशिक रोजगारीले चिन्दैन । के गर्ने, जानै पर्छ । सबै मान्छे गरिबी अनि दुःख परेरै विदेश गइरहेका छन्।
सञ्जय महतो,सिरहा
रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ। तर, नेताहरूले आफ्नै देशमा उद्यमशीलता र रोजगारीको सिर्जना नगर्दा मन खिन्न पारेर युवाहरू विदेश उडिरहेका छन्। नेताहरूले देशमै रोजगारीका अवसरहरू सिर्जना नगर्दा देश युवा शक्तिविहीन बनेको मदन बताउँछन्। उनी भन्छन्, ‘यदि नेताहरूले युवाहरूलाई सहयोग र सपोर्ट गरेको भए आज हाम्रो यो हालत हुँदैनथ्यो। दसैं, तिहार र छठ पर्वको माहोलमा मन खिन्न पारेर विदेश उड्नु पर्दैनथ्यो। हाम्रै देशमा सबैथोक पाएको भए हामी आफ्नै देशमा कमाउथ्यौं। आफ्नै देशमा मज्जाले बस्थ्यांै।’
‘मेरो भाग्यमा के पो पर्ने हो ?’
‘देशको नेतृत्व जस्तो छ त्यस्तै देश बन्ने न हो। देशको नेतृत्व गर्नेहरू नै बेइमान हुँदा देश कसरी बन्छ ? धनुषाको मिथिला बिहारी नगरपालिका—८ कचुरीका बिन्दुकुमार यादवले उल्टै प्रतिप्रश्न गरे। र उत्तर उनैले दिए, ‘नेतृत्व इमान्दार भए देश समृद्ध बन्छ, बेइमान भए कंगाल बन्छ।’ उनी देशमा अवसर नपाएर दसैंको मुखमा मन खिन्न पारेर स्वदेश विदेश उडे। त्यसअघि अन्नपूर्णसँगको कुराकानीमा भनें, ‘कतार जाँदैछु। अब परदेशमा पनि कस्तो काम पाइने हो ? त्यसको टुंगो छैन। सबैले विदेशमा दुःख धेरै हुन्छ भनेर सुनाउँछन्। मेरो भाग्यमा के पो पर्ने हो ? ’
उनी स्टोरकिपरको काम गर्न कतार गएका हुन्। फ्रि—भिसा, फ्रि—टिकटमा उनी रोजगारीका लागि खाडी मुलुक हानिएका हुन्। तर, उनी दसैंको बीचमै देश छोडेर कमाउन जानुपर्दा निराश देखिन्थे। उनले भने, ‘देशमा युवाहरू बेरोजगार छन्। पढेर पनि के गर्नु ? काम गर्न विदेश नै जानुपर्छ। यदि मान्छेहरू कमाउन विदेश जाँदैन भने नेपालमा भोकमरी लाग्छ।’
उनका अनुसार चुनावमा जनताले नेताहरूको रक्सी मासु खान्छन्। जसको खान्छन् उतैतिर भोट हाल्छन्। जथाभावी अदूरदर्शी नेताहरूलाई जिताएकै कारण देश बर्बाद भयो। चुनाव, चुनाव जस्तो हुँदैन। ‘चुनावको मतलव हुन्छ राम्रो, पढेलेखेका। देश दुनियाँ बुझेका नेताहरूलाई जिताउनु पर्ने। उनीहरूले नै हाम्रो भविष्य बनाउँछन्। तर, त्यसको उल्टो भइरहेको छ’, उनले भने, ‘नेताजस्तो भए पनि हुन्छन्। जोसँग धेरै पैसा छ, आजको दिनमा त्यो मान्छे नै ठूला नेता हुन्छन्। जुन गलत कुरो हो।’ उनको बोली यत्तिकैमा रोकिएन। उनले थपे, ‘जसले टिकट किन्न र मतदातासँग भोट किन्ने हैसियत राख्छ, उसैलाई पार्टीले पनि टिकट दिन्छ। उसैले चुनाव पनि जित्छ। इमान्दार र भिजनरी नेतासँग पैसा छैन। त्यस्ताले चुनाव जित्नै सक्दैनन्। अनि देश कसरी बनोस् त।’ जनताले गैरजिम्मेवार नेताहरू चुनेका कारण युवाहरू दसैंजस्तो महान् पर्व छोडेर विदेश जानु परेको उनले पिडा पोखे।
चुनावमा बोलेका कुरा पनि नेताहरू जितेपछि बिर्सिने गरेको उनले बताए। उनले थपे, ‘चुनावमा सबैतिरको अवस्था यस्तै हो। जितेपछि यो गर्छु, त्यो गर्छु, युवाहरूलाई देशमै रोजगारी दिन्छु। तर, यसो भइरहेको छैन। ’ विदेशबाट युवाहरू कमाएर पठाउँछन्, अनि नेताहरू बसेर देश लुटीलुटी खाइरहेका छन्।’
अनि उनीहरू अर्काको देश उडे ...
रोजगारी खोज्दै अर्काको देशमा युवाहरूले कहिलेसम्म भौंतारिरहनु पर्ने हो ? यसको उत्तर न नेतासँग छ न त सरकारसँग नै। सिरहाको सुखीपुर नगरपालिका—२ का नूर मोहम्मद राइन सोमबार मध्यराति दोस्रो पटक विदेश उडे। केही आशा अनि धेरै निराशाका कथा—व्यथाहरू बोकेर। उनी दुई महिनाअघि मात्रै छुट्टीमा स्वदेश आएका थिए। बिदा सकिएपछि फेरि उही पुरानो बाटो, अर्काको देश उडे। उनी भन्छन्, ‘नेपालमा रोजगार छैन, छ त भोकमरीमात्रै। भोक मेटाउन विदेश जानुको विकल्प छैन।’
नूर मोहम्मद १४ वर्षदेखि वैदेशिक रोजगारीमा आउजाउ गरिरहेका छन्। परिवार पाल्नु र छोराछोरीको पठनपाठन गराउनु उनको मुख्य उद्देश्य हो। यसैका लागि खाडीमा पसिना बगाउन जान्छन्। उनी भन्छन्, ‘राजनीति र नेताहरूप्रति चासो राखेर पनि के गर्नु, हामी जस्तालाई कसले गन्छ ? देशमा किन रोजगारी छैन, त्यो त मलाई थाहा छैन, यो कुरा नेता र सरकारलाई नै थाहा होला।’ दाजुभाइको पसिनामा हुर्किएको छ नूर मोहमम्दको १४ जनाको संयुक्त परिवार। ‘विदेशबाट कमाएर हामी देशमा पठाउँछौं अनि हाम्रो घर अनि देश चलिरहेको छ’, उनले भने, ‘हामीले हाम्रै देशमा कहिले कमाउन पाउने हो ? आफ्नै कमाइले हाम्रो देश कहिले चल्ने हो ? खै त्यसको ठेगान छैन।’
नूर मोहम्मदले १४ वर्षयताका कुनै पनि चुनावमा भोट हाल्न पाएका छैनन्। ‘चुनावका बेला हामी विदेशतिर हुन्छौं,’ उनले भने, ‘के चाड आउँछ, कहिले आउँछ ? हामी त अर्काको देशमा पसिना बगाइरहेका हुन्छौं। यता परिवारलाई खल्लो हुन्छ। हाम्रो जीवन यसरी कति दिनसम्म चल्छ होला खै ? ’ अन्नपूर्णसँग उनले दुःखेसो पोखिरहँदा प्रहरीले उनलाई बोलाए। ‘आउनुस् भित्र। जाने बेला भयो।’ उनी आँखा टिलपिल पार्दै उतै लागे। उनीजस्ता थुप्रै दसैंको उल्लासमा देशको भुइँ छोडेर विदेश उडे। मोहम्मदसँग उनका १९ वर्षीय भतिजा अबु मोहमम्द राई पनि विदेश उडे।
गरिबीका कारण अबुले पाँच कक्षामै पढाइ छाडे। गरिबीको व्यथा भुलाउन उनी कतार उडेका छन्। खाडी जान पनि उनले साहुबाट तीन लाख कर्जा लिए। १० धुर घडेरी साहुको नाममा पास गरेपछि बल्ल उनले ऋण पाए। गरिबी जिन्दगीले युवाहरू लखेटिरहेका छन् परदेशतिर। त्यसैको घानमा परेर कतार धकेलिएका छन् अबु।
सोमबार राति अबु खिन्न मन पार्दै, आँसु पुच्छदै उडे परदेश। उनलाई बिदाइ गर्न एयरपोर्टमा आएका थिए बुवा एमडी जिहाबुल खान। उनी कांग्रेसको प्रदेश समितिको प्रचारप्रसार विभागका सदस्य हुन्। राजनीतिबारे उनको बुझाइ पनि गजबको छ। उनी भन्छन्, ‘केही राम्रो काम गरौं अरूको कुरा छोडौं पार्टीकै नेता र मन्त्रीहरूले सुन्दैनन्।’
नेताहरूका आश्वासनका पोका सुनेर उनी पनि दिक्क रहेछन्। अनि, जिहाबुल खानले सम्झे मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको एउटा भाषण। केही महिनापहिले मुख्यमन्त्री यादव खानको गाउँ आएका थिए। उनले भोजपुरीमा भनेका थिए, ‘हम वादा करतानी सुनकोशीके कमलामे मिलाके सिँचाइके व्यवस्था करब (म प्रतिबद्धता गर्छु कि सुनकोशीलाई कमलामा मिलाएर सिँचाइको व्यवस्था गर्छु)।’ लगत्तै उनको मुख्यमन्त्री पद खोसियो। वर्षौंदेखि नेताहरू यस्तै भनेर मधेसका नागरिकलाई ठग्दै आएको उनी सुनाउँछन्। सिँचाइ अभावमा खेती नहुँदा जिल्लामै कृषि मजदुरले पनि काम पाउन नसकेको उनको भनाइ छ।
गरिबलाई महँगीले लखेट्छ विदेश
सिरहाको ब्रह्मपुरीमा नौरथाको उल्लास छ। जहाँ दुर्गा माताको विशेष पूजा लगाइएको छ। त्यो उमंग र रमझमको माहोलमा मिसिन जो कोही लालायित हुन्छन्। तर, ३६ वर्षीय सञ्जय महतो गाउँको उल्लासबाट टाढिएर परदेश गएका छन्। उनलाई नरमाइलो लागेको छ। उनी सोमबार विदेश उडे, दसैं पर्वको बीचमै। नेपालीलाई जति दसैं, तिहार, छठको महत्त्व हुन्छ त्यति विदेशीलाई हुन्न। हुनु पनि होस् त कसरी ? उनीहरूको बेग्लै संस्कार र संस्कृति छ। ‘भिसा र टिकट जतिखेर आउँछ उतिबेलै जानुपर्छ। चाडपर्वलाई वैदेशिक रोजगारीले चिन्दैन,’ महतोले भने, ‘के गर्ने जानै पर्छ । सबै मान्छे गरिबी अनि दुःख परेरै विदेश गइरहेका छन्।’
विदेश उड्न पनि उनीसँग पैसा थिएन। बल्लबल्ल २ लाख २० हजार जुटाए। त्यो पनि गाउँमा तमसुक बनाएर ऋण काढे। जीवनसंगिनी, दुई जना सन्तानको खुसीका लागि उनी विदेश उडे। उनी जम्माजम्मी कक्षा ५ पढेका छन्। उनी भन्छन्, ‘मजबुरीले त्योभन्दा बढी पढ्न सकिन। खेती किसानीमा लागियो। सन्तानहरूलाई पढाउँदैछौं।’ महँगीको मारले उनी विदेश हानिएका छन्। उनी भन्छन्, ‘देशमा थोरै कमाइ हुन्छ। पुग्दैन। महँगीले आकाश छोइसक्यो। त्यसैले धेरै कमाउन विदेश जानुबाहेकको विकल्प छैन।’
यसअघि पनि उनी वैदेशिक रोजगारीमा गएका थिए। तर, कम्पनी टुट्यो। काम पाइएन। बीचमै छाडेर आउनु परेको उनले सुनाए। उनी थप्छन्, ‘थोरै पढाइको कुनै मोजर (भ्यालु) छैन। १० को अलि भ्यालु पनि छ। त्योभन्दा तलको त कुनै काम छैन। अब फेरि लेबरकै काम त पाउने हो हामीले आखिर विदेशमा पनि।’ पढेर नेपालमा के पाइन्छ ?
रौतहटका नरेश पासवान पहिलो पटक कतार हिँडे। उनी भन्छन्, ‘दसैंको बीचमा भिसा र टिकट आयो अनि जानु नै पर्यो। देशमा कहाँ छ त रोजगारी ? मान्छेहरू आईए, बीए पास गरेर पनि विदेशै जान्छन्। जति गरे पनि विदेशकै आशा छ।’ देशमा रोजगारी भएको भए कोही पनि विदेश नजाने उनको भनाइ थियो। ‘पढेर पनि नेपालमा के पाइन्छ र ? उनले प्रश्न गर्दै भने, ‘केही पाइँदैन।’ उनीसँगै थिए, उदयपुर बेल्टारका लालबहादुर कार्की। उनी पनि बडादसैंको मुखमै सोमबार राति साउदी उडे। उनले भने, ‘सबैका आआफ्नै समस्या छन्। यहाँ बसेर रोजगार मिलेन, दसैंको मुखमा पनि विदेश जानै पर्ने भयो।’