दसैं त एउटा बहाना मात्रै थियो
म तिमीलाई देख्दा खुसी हुन्थें
एकअर्काका खुसी साटासाट गथ्र्यौं
यसपालिको दसैंमा मेरो खुसीमा
सबभन्दा बढी खुसी हुने
मेरो सबभन्दा प्रिय मान्छे
तिमी हुने छैनौ मसित
र म तिमीबिनाको
बेस्वादे दसैं मनाउँदै छु
तिमीलाई एउटा कुरा थाहा छ ?
घरमा सबै कुरा हुनु तर
आफ्नो सबैभन्दा प्रिय मान्छे नहुनु
योभन्दा पीडादायी जीवनमा के होला ?
यसपालि म घर पुग्दा
आँगनको डिलबाट मलाई पर्खिरहने
एकजोडी आँखा हुने छैनन
मलाई देखेपछि धर्तीमै जून ओर्लिए झैं
धपक्कै बल्ने एक थान अनुहार हुने छैन
टीका र जमरा लगाउने बेलामा
देवदूतका जस्ता औंलाहरू
मेरो निधारमा कहिल्यै सल्बलाउने छैनन्
अब त तिमी परदेशभन्दा पनि
धेरै पर पुगेका छौ
दूरदेश भन्दा पनि दूर पुगेका छौ
यसपालि पनि छोराछोरी परदेश हुनेहरू
बाढीपहिरोले घरबार लानेहरू
पसिनाको विनिमय गर्न लाहुर जानेहरू
यी कसैको घरमा पनि राम्रो दसैं आउँदैन सायद
परदेशीहरू त एकदिन फर्किएलान्
बाढी–पहिरो पनि एकदिन रोकिएला
तर बितेर गएका मानिसहरू
यो धर्तीमा कहिल्यै फर्किने छैनन्
तिमी गएपछि समयले
धेरै काँचुली फेरिसकेको छ
मानिसहरू धेरै फेरिइसकेका छन्
गाउँ र सहर नचिनिने भएका छन्
तर चाडबाड आएपछि
मुटुमा चसक्क घोप्न आउने
तीरजस्तो तिम्रो सम्झना
अझै पनि उस्तै छ
कसम ! दसैं आउँदै गर्दा
तिमीलाई बेहद सम्झिरहेको छु
दसैंको उपहार स्वरूप
केही दाना आँसु पठाएको छु
जहाँ छौ तिमी राम्ररी बस्नू है !