काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको चाप
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या फूलपातीको अघिल्लो दिनसम्म पनि धेरै देखिएको छ। काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायतका नाकाबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो।
उपत्यकाका विभिन्न नाकाबाट अन्य दिनको तुलनामा मंगलबार र बुधबार धेरै सर्वसाधारण बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ। दैनिक एक लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्दा दैनिक करिब ३० हजार सर्वसाधारण उपत्यका भित्रिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। हालः अरनीको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली-हेटौंडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।