घर फर्किन परदेशीलाई टिकट पाउन सास्ती

घर फर्किन परदेशीलाई टिकट पाउन सास्ती

दुबई : कपिलवस्तुका शिव डाँगीले कम्पनीमा भनसुन गरेर जतोतसो बिदा मिलाए । गतहप्ता दिल्लीको यात्रा रोजे । वैदेशिक रोजगारीको लागि १० वर्षदेखि डांगी दुबईमा कार्यरत छन् । ५ वर्षदेखि घरपरिवारसँग दसैं मान्न नपाएका डाँगी काठमाडौंको हवाई टिकट किन्न दुबईका धेरै ट्राभल्स धाए । सीधा नेपालको टिकट महँगो भए पछि उनले दिल्ली हुँदै नेपालसम्मको वैकल्पिक यात्रा रोजे ।

डाँगीलाई कम्पनीले बिदामा घर जानका लागि टिकट भत्ताबापत १५ सय दिराम दिने गरेको छ । दसैंको बेलामा त १५ सय रिदामले घर जानै पनि नपुग्ने र आउनका लागि झन धेरै पैसा खर्चिनुपर्ने उनको भनाइ छ ।

झापाका मनोज मिश्रले एक महिना अगाडि नै टिकटको जोहो गरेका थिए । ८० वर्ष उमेर पुगेका डाँडाका घाम जस्ता बुवाको हातको टीका थाप्न उनले झन्डै ३ हजार दिराम (१ लाख १० हजार रुपैयाँ) खर्च गरेर टिकट किने । सँगै बस्ने उनका साथीले भने ४५ (१ लाख ६४ लाख रुपैयाँ) सय दिराम तिर्नु परेको थियो । कपिलवस्तुका डाँगीलाई ट्राभल्सले नेपालको सीधा टिकट चाहिए ५ हजार दिराम (१ लाख ८२ हजार रुपैयाँ) पर्ने सुनाएपछि उनी भारत हुँदै नेपाल जाने निधो गरेका हुन् ।

यतिखेर दुबईको बरदुबईमा रहेका नेपाली ट्राभल्सहरूमा नेपाल जाने टिकट किन्ने नेपालीहरूको भिँड लागेको छ । कतिपय नेपालीहरूले टिकट महँगो भएको भन्दै आफ्नो छुट्टी स्थगित गरेका छन् । सामान्य अवस्थामा १२ सय दिर्हामदेखि १५ सय दिर्हाम (४०–५० हजार रुपैयाँ) पर्ने टिकटलाई दसैंको अवसर पारेर जहाज कम्पनीहरूले महँगो पैसा असुल गरिरहेका छन् ।

अन्य दिनहरूमा यूएईबाट नेपाल दैनिक ६ वटा उडान हुनेगरे पनि दसैंको बेलामा दैनिक १२ वटा सम्म सिधा र ट्रान्जिटका ८ गरेर २० वटा जहाजले काठमाडौं अवतरण गर्छन् । १५ दिनको अवधिमा यूएईबाट ५० हजारभन्दा बढी नेपालीहरूले दशैं मान्न नेपाल जाने अनुमान छ । भारत, कुबेत र अन्य राष्ट्र भएर नेपाल जाने यात्रीहरूको संख्या एकिन छैन ।

पछिल्लो अवस्थामा नेपालमा बाढी पहिरोले गर्दा बाटोको अनिश्चितताले गर्दा भारत हुँदै नेपाल जाने सँख्या उल्लेख्य बढेको दुबईमा रहेको नमस्ते ट्राभल्सका संचालक एकेन्द्र थापाको भनाइ छ । पूर्वका झापा, मोरङ र सुनसरी घर हुनेहरू भारतको कलकत्ताबाट बागडुग्रा एअरपोर्ट हुँदै र धनगढी, महेन्द्रनगर जस्ता पश्चिम घर हुनेहरू दिल्ली र लखनउ एअरपोर्ट हुँदै नेपाल जानेको क्रम बढेको थापाले बताए ।

एयरलाइन्सहरूले नेपालीहरूको चाडको बेलामा धेरै नेपालीहरूले यात्रा गर्ने हुनाले महँगोमा टिकट बेच्ने गरेका छन् । अन्य बेला हप्ताको ३ दिन मात्र उडान भर्ने नेपालको एकमात्र ध्वजाबाहक नेपाल एयरलाइन्स र नेपालकै हिमालय एयरलाइन्सले पनि १ लाख रुपैयाँभन्दा बढी लिएर यात्रु ओसारेका छन् ।

एक महिना पहिले दुबईमा टिकट नपाएर नेपालीश्रमिकहरूले सास्ती खेपिरहेको बेलामा भने नेपाल एयरलाइन्सले आफ्नो जहाजलाई नियमित चेकजाँचमा पठाएको थियो । उडानमा अनियमितता र समयको अविश्वसानीयता हुँदा अधिकांश नेपाली यात्रुहरू विदेशी एयरलाइन्सको भर पर्ने गरेका छन् । अन्य कुनै जहाजको टिकट नपाए विकल्पमा नेपाल एयरलाइन्स रोज्ने गरेको झापाकै युवराज मिश्रले बताए ।

यूएईको रस अल खैमहमा बिगत १६ वर्षदेखि कार्यरत मिश्रले यसैबीचमा गरेको १० पटकको यात्रामा १ पटक मात्र नेपाल एयरलाइन्स चढेको बताउँछन् । ’कतिबेला उड्ने हो, उड्ने हो कि हैन भरै हुन्न, आफ्नो एयरलाइन्स भनेर कसरी ‘रिस्क’ लिने ? मिश्रले भने । दसैंको बेलामा यूएईबाट मात्र ५० हजारभन्दा बढीश्रमिकहरू नेपाल जाने गरेको अनुमान छ । त्यस्तै कतार र साउदी अरबबाट २० देखि ३० हजारको हाराहारी गरी खाडीका मुलुकहरूबाट दसैं मान्नका लागि भनेर १ लाख भन्दा बढीश्रमिकहरू दशैं मान्न नेपाल जाने गरेको अनुमान छ ।       

दसैंको बेला टिकट किन यति अचाक्ली महँगो हुन्छ ?
व्यवसायी थापाका अनुसार अहिलेको खुला बजारमा माग र पूर्तिको अवस्थाको कारण नै जहाजको भाडा बढेको हो । दसैंको बेलामा यात्रा गर्ने नेपालीहरूको संख्या बढी हुने र जहाजको संख्या कम हुने गर्छ । 

सामान्य दिनहरूमा दैनिक ५ सय यात्रुले यात्रा गर्थे भने दसैंको बेला दैनिक ३ हजारको हाराहारीमा यात्रुहरूले यात्रा गर्ने गरेका छन् । अर्को तिर यो बेला नेपाल जानेको संख्या बढ्ने तर नेपालबाट यूएई आउनेको संख्या केही कम हुने कारण पनि जहाजको भाडा महँगो हुने र अन्य मुलुकहरूको हकमा पनि यस्तो हुने गरेको व्यवसायी थापाको भनाइ छ ।

अर्कोतिर नेपालबाट दुबई घुम्न जानेहरूको संख्या ह्वात्तै बढेको छ । विभिन्न ट्राभल्सहरूमार्फत समूहमा दुबई घुम्न जाने नेपाली पर्यटकहरूको संख्या बर्सेनि बढिरहेको छ । नेपाली दूताबास अबुधाबीका अनुसार गत वर्ष २ लाख ७५ नेपालीहरू दुबईमा पर्यटक भिसामा आएका थिए । नेपालबाट दुबई उडान गर्ने जहाजको यात्रु चाप हेर्ने हो भने सन् २०२४ मा साढे ३ लाख नेपालीहरू पर्यटक भिसामा दुबई आउने अनुमान गर्न सकिन्छ ।

यद्यपि थापाले भने जस्तो ४० हजार रुपैयाँको टिकटलाई १ लाख ८० हजार रुपैयाँ पुग्नुलाई माग र पूर्तिको हिसाबलाई मात्र भने सकिन्न ।श्रमिक बोक्ने बजेटेड एयरलाइन्सलाई अनुगमन र निर्देशन गर्ने निकायको अभाबमा एअरलाइन्सको मिलेमतोमा भाउ बढाइएको छ । अन्तर्रास्ट्रिय एअरलाइन्सलाई नेपालको कानुन मात्रले नियमन गर्न सक्दैन । बरु यही समयमा नेपाल एअरलाइन्स र हिमालयले पनि अचाक्ली भाडा असुल गरे ।

शव पुर्‍याउनै सास्ती

दसैंमा यात्रुको चाप बढेको भन्दै यूएईमा मृत्‍यु भएका नेपाली कामदारहरूका शवलाई नेपाल पठाउन कठिनाइ भइरहेको छ । यूएईबाट काठमाडौं उडान भर्ने एयरलाइन्सहरूले लाश बोक्न आनाकानी गरेका छन् ।

दुबईमा मृत्‍यु भएका मकवानपुरका भीम बहादुर घिसिङको लाश नेपाल जाने पर्खाइमा दुबईको अस्पतालमा रहेको छ । यसैगरी अर्घाखाँचीका ताराबहादुर झाँक्री मगर र रौतहटका निरबहादुर थिङको शव पनि सम्पूर्ण प्रक्रिया पूरा गरी जहाज कुरेर दुबईको मर्चरीमा रहेका छन् । मोरङका विद्यानन्द राजवंशीको लाश पनि दसैंको कारण जहाजले बोक्न नमानेकाले यूएईको अस्पतालमा रहेको छ ।

सामान्य अवस्थामा दैनिक १ देखि २ वटासम्म लाश नेपाल पठाउने गरेको भए पनि अहिले यात्रुको चाप बढी भएकोले जहाजहरूले सेड्युल मिलाउन नसकेको नेपाली समाज यूएईका अध्यक्ष बेद प्रसाद अर्यालले बताए ।

अर्यालका अनुसार अहिले सम्पूर्ण पकृया पुरा गरेर नेपाल पठाउने पालोको पर्खाइमा बसेका लाशहरूको संख्या ५ रहेको छ । महिनौं अगाडि टिकट काटेर घर जाने यात्रुहरूको सामानको कारण लोड बढी हुनाले जहाजहरूले दसंै अगाडि लाश बोक्न आनाकानी गरेको उनको बुझाई छ । अध्यक्ष अर्यालका अनुसार अहिले यूएईमा १५ वटाभन्दा बढी नेपालीहरूको लाश नेपाल पठाउने प्रक्रियामा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.