सभ्य दसैं, भव्य संस्कृति

सभ्य दसैं, भव्य संस्कृति

हाम्रा हरेक चाडपर्वको आफ्नै अर्थ र महत्व छ। चाडपर्वहरूमा हाम्रो संस्कार र संस्कृतिसमेत जोडिएको छ। तर, पछिल्लो समय हामीले मनाउने चाडपर्वमा संस्कृति कम र विकृति बढी देखिन थालेको छ।

नेपाली संस्कृतिका आफ्नै मौलिक गुण र विशेषता छन्। हिमाल, पहाड, तराई सबै ठाउँमा आआफ्नै मूल्य–मान्यता र रीतिरिवाजअनुसार चाडपर्व मनाउने गरिन्छ। चाडपर्व नेपाल र नेपालीका पहिचान हुन्। अनेकतामा एकता रहेको नेपालमा मनाइने चाडपर्वले पारिवारिक र सामाजिक सम्बन्धलाई मजबुत पार्ने कोसेढुंगाको काम गर्छन्। हाम्रा प्रत्येक चाडपर्व मनाउनुको पछाडि विशिष्ट धार्मिक तथा वैज्ञानिक अर्थ छन्। 

यतिवेला हामी दसैंको संघारमा आइपुगेका छौं। दसैंैलाई सभ्य रूपमा मनाउनुपर्छ। दसैं सम्पूर्ण नेपालीको घरभित्र समृद्धि र मनभित्र उल्लास ल्याउने पर्व हो। यो पर्वको रौनकले हाम्रो घर आँगन टेकिसकेको छ। आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ–नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने–खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ। चाडपर्वलाई मानव स्वास्थ्य र वातावरणका दृष्टिले पनि हेर्न सकिन्छ। चाडपर्वका बेला घरकोठा र शरीरको पनि शुद्धि गर्ने चलन छ। दसैं–तिहार अगाडि घर लिपपोत तथा सरसफाइमा विशेष ध्यान दिने चलन छ। फोहोर ठाउँमा लक्ष्मीको बास हुँदैन भन्ने मान्यता धार्मिक भावनासँगै स्वास्थ्यप्रतिको सचेतनासँग पनि जोडिएको छ।

विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ। दसैंले नेपालीको जीवनलाई चलायमान एवं गतिशील बनाउँछ। साथसाथै खुशी र उमङ्गित पनि बनाउँछ। तर, सबै नेपाली यो खुसीमा आफ्नो खुसी मिसाउन समर्थ छैनन्। लाखौं लाख नेपालीहरूले श्रमको खोजीमा वा भविष्यको खोजीमा आफ्नो घरसँग दूरी बढाएका छन्। केहीमध्ये विदेशीभूमिमा पसिना चुहाउँदै छन्। विदेशमा बस्ने नेपालीहरूले पनि दसैंलाई सम्झिरहेका छन्।

हाम्रा हरेक चाडपर्वको आफ्नै अर्थ र महत्व रहेको छ। चाडपर्वहरूमा हाम्रो संस्कार र संस्कृतिसमेत जोडिएको छ। तर पछिल्लो समयमा हामीले मनाउने चाडपर्वमा संस्कृति कम र विकृति बढी देखिन थालेका छन्। केही वर्ष अघिसम्म चाडपर्वहरू आउँदा एकप्रकारको उत्साह र उमंग आउँथ्यो। वर्षभरि मानिसहरू चाडपर्वको पर्खाइमा हुन्थे। टाढाका आफन्तसँग भेटघाट, बिदेसिएका आफन्त परदेशीहरूको आगमन अनि संस्कार, संस्कृतिको अनुपम उपहारजस्तै हुन्थ्यो चाडपर्व। तर, आजभोलि यो सबै हराउँदै गएको छ।

आजभोलि हामी चाडपर्व संस्कृतिको रक्षाभन्दा विकृतिलाई प्रश्रय दिने पर्वका रूपमा अघि बढाउँदै गइरहेका छौं। हुनेखाने र हुँदा खाने बीचको दूरी झनझन बढ्दै गएको छ। हुने खानेहरूले वर्षभरि नै चाडवाडजस्तै मनाइरहेका हुन्छन्। तर हुँदा खानेहरूले वर्षभरि जोरजाम गरेर वर्षमा एकपटक मनाउने चाडपर्वको महत्वसमेत घट्दै गएको छ। चाडपर्व नजिकिएसँगै बढेको महँगीले गरिबलाई नै पेलेको छ। चाडपर्वलक्षित सडकयात्रा अग्रिम टिकट बुकिङ यी सबै कुराले हुँदा खानेलाई नै पिरोलेको छ। गाउँमा लिंगे पिङ र रोटेपिङहरू देखिन छाडेका छन्।

हामीभन्दा पहिलाको पुस्ताले नयाँ लुगा लगाउन, मासु खान दसैंै कुर्नुपथ्र्यो। त्यही भएर पनि दसैंको महत्व थियो। नयाँ लुगा वर्षमा एक पटक भए पनि लगाउन पाइने र मासु भात पनि खान पाइने। सेतो कमेरो र रातो माटोले घर पोतेपछि अनि घरको दलानमा भएको सानो खाटमा दर्जी दाइले लुगा सिलाउन थालेपछिको दसैंको रौनक अर्कै हुन्थ्यो। तर, अहिले समय फेरिएको छ। समय फेरिएसँगै मान्छेका विचार बानिव्यवहार फेरिएका छन्। समयसँगै सबै परिवर्तन छ तर कतिपय त्यस्तो ठाउँ अनि मान्छेहरू पनि छन् जहाँ आफूभन्दा पर पनि कुनै गाउँ छ र भनेर आफू रहेको संसार मात्र नियाली रहेका छन्। 

सहरको दसैं र गाउँको दसैंमा पनि फरक छ। गरिब र धनीले मनाउने चाडपर्व पनि फरक छ। कतिपयमा छिमेकीले दसैंका लागि किनेको खसीभन्दा आफ्नो खसी कुनै पनि हालतमा सानो हुनुहुँदैन भन्ने फजुल खर्चको मानसिकता पनि छ। अरुले घोडा चड्यो भनेर आफू धुरी चढ्नेको जमात पनि छ। खुसी लिएर आउने दसैंै कतिपय ठाउँमा आज दशा बनाएर आउने गरेका कयौ उदाहरणहरू पनि देखिन्छन्। कतिपयमा धाकको मानसिकता छ। समाजमा मानिएका गनिएका मानिसहरूले, समाजका अगुवाहरूले समाजमा भित्रिने बिकृति बिसंगतिलाई रोक्नुपर्ने आवश्यक्ता छ। अझै पढेलेखेका युवाहरू र आफूलाई सभ्य भन्न रुचाउनेहरूले कुन संस्कृति र संस्कार अवलम्वन गर्दै छौं भन्ने हेक्का राख्नुपर्छ। वैदिक शक्तिको सम्मान गर्दै प्रगतिशील समाज परिवर्तनका लागि लाग्नुपर्दछ।

दसैं कसैका लागि पनि दशा नबन्ने अवस्थामा मनाउने वातावरण बनाउनुपर्छ। धनी र गरिब बीचको खाडल पुर्नसक्नुपर्छ। गच्छेअनुसारको बनाउनुपर्छ। दसैंको नाममा जुवा तास, विकृति विसंगति चलिरहन दिन हुँदैन। समाजलाई गलत बाटोमा हिँड्नबाट रोक्नुपर्छ। चाडबाडमा नहुनेहरूका लागि अभिसाप बनिरहेको छ। यसमा ध्यान जानुपर्छ। नहुनेले आफूलाई समाजमा कमजोर असहाय सम्झन्छ। हुने खानेहरूको धाक धम्कीको अगाडि निरिह देखिन्छन्। चाडबाडमा फुर्ति देखाउने प्रवृत्तिले एकता होइन विभाजन नै ल्याउँछ। यस्तो कुरा नगर्न समाजका ठूलाबडाहरूले सचेतना फैलाउन आवश्यक छ। साथीभाइ, आफन्त र नातागोता भेटघाट गरी रमाईलो गरी मनाउने चाडपर्वहरू आजकल परिवारका सदस्यहरूसमेत भेटघाट नगरी आ–आफ्नो मात्र खुसीमा आफ्नै तरिकाले मनाउन थालिएको छ। जुवा, तास र मदिरा सेवन गरी परिवारका सदस्यहरूसँग पनि नबसी आफ्नै तालमा चाडपर्वहरू मनाउन थालिएको छ।

यस्ता क्रियाकलापले पारिवारिक रूपमा बिखण्डनसमेत ल्याउन थालेको छ। देखासिकी गरी चाडपर्व मनाउने चलनले गर्दा हुँदा खानेहरूलाई वर्षभरी नै ऋणको बोझमा पर्ने भएका कारण हाम्रा चाडपर्वहरू विकृत बन्दै गएका उदाहरणहरू पनि छन्। यसर्थ घाँटी हेरी हाड निल्नुपर्छ भन्ने सन्देश फैलाउनु जरुरी छ। चाडपर्व हाम्रा संस्कृति हुन भनेर अंगाल्न सकिएन भने हाम्रा लागि दशा बन्दै जानेछन् र यसले विकृत रूप लिँदा यो पर्वको अस्तित्व नै हराएर जानेछ। तसर्थ चाडपर्वलाई संस्कृतिका रूपमा अंगालौं।

देखासिकी हैन भाइचारा र आत्मिय पर्वको रूपमा स्वीकार गरौ। दुईदिनको अविरल वर्षाले चाडबाडको मुखैमा देश नै शोकमय बनायो। धेरै धनजनको क्षति भयो, राजधानी जोड्ने सडकहरू अवरुद्ध भए, धेरै पुलहरू बगाए, हजारौं यात्री अलपत्र परे, देशभरि धेरैले ज्यान गुमाउनुपर्‍यो, कैयौं बेपत्ता छन्। समयले दिएको चोटलाई सहज स्वीकार्दै दैनिकी पूरा गर्नुनै छ। हाम्रो घरदैलो संघारमा आइपुगेको बडा दसैंै सबैका लागि उल्लासमय बनोस् र कोही कसैका लागि दशा नबनोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.