घट्यो शक्तिपीठहरूमा महाअष्टमीको पशुबलि

घट्यो शक्तिपीठहरूमा महाअष्टमीको पशुबलि

नुवाकोट : नुवाकोटका विभिन्न शक्तिपीठहरूमा शुक्रबार महाअष्टमी पर्वका अवसरमा विशेष मेला लागेको छ। कतिपय शक्तिपीठहरूमा कालरात्रि भइरहेका छन्। 

सर्वसाधारणमा पशु अधिकारका सम्बन्धमा सचेतना, सामाजिक जागरणका कारण यसवर्ष वडादसैंको क्रममा नुवाकोटका विभिन्न शक्तिपीठहरूमा पशुबलि पहिलेको तुलनामा ५० प्रतिशतले घटेको छ। नुवाकोटको प्रसिद्ध जालपादेवी, भैरवी, निरञ्जना, पञ्चकन्या लगायतका मन्दिरहरूमा गत वर्षको तुलनामा पशुबलि निकै घटेको हो। 

पशुबलिको बदलामा सर्वसाधारणले नरिवल चढाउन थालेका छन्। पशुबलि दिनु उचित नहुने आवाज उठिरहेको बेला नुवाकोटका प्रमुख शक्तिपीठ लगायतका मुख्य शक्तिपीठहरूमा बडादसैँको महाअष्टमीका अवसरमा दिने पशुबलिको संख्यामा १० वर्षको तुलनामा निकै कमी आएको मन्दिरका सम्बन्धित पूजारीहरू बताउँछन्।

सर्वसाधारणले पशु अधिकारका पक्षमा सचेत हुँदै पशुको वदलामा नरिवल लगायतका अन्य वस्तु विकल्पमा चढाउन थालेका कारण पशु बलि घटेको प्रसिद्ध भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताए। उनका अनुसार सर्वसाधारणले पशुबलिको सट्टामा नरिवल लगायतका सामग्री चढाउन थालेका र पशु अधिकारको विषय उठिरहेको कारण पशुबलि दिने कार्य घटेका हुन्। 

मन्दिरमा पूजापाठ र दर्शन गर्नेहरू बढे पनि मन्दिरमा पशु बलि निकै घटेको स्थानीय युवा सामाजिक अगुवा महेन्द्रलाल श्रेष्ठको भनाइ छ। उनका अनुसार विदुर नपा २ टाकुरोमा रहेको भैरवी मन्दिरमा पूजापाठ र दर्शन गर्नेहरू भने उल्लेख्य रहेका थिए। 

विभिन्न मन्दिरमा वर्षौंदेखि संलग्न पूजारीहरूका अनुसार पछिल्ला एक दशकयता पशुबलिको सङ्ख्यामा कमी आएको छ। नुवाकोटको मुख्य भैरवी मन्दिरमा विगत ७३ वर्षदेखि पूजारी धामी भई काम गरिरहेका वृद्ध हरिमानसिह डंगोलका अनुसार हाल अधिकांश दर्शनार्थीले पशुबलिको सट्टा नरिवल चढाउने गरेका कारण पशु बलि घटेको हो। पशुबलि रोकिएको त छैन, कमी आएको छ। तर, पनि मानिसहरूले पशु बलिको बदला नरिवल लगायतका सामग्री चढाउन थालेका छन्। 

१४/१५ वर्ष अगाडिसम्म वडादसैँको अवधिमा ६० वटाभन्दा बढी बोकाको बलि हुने गरेको थियो, अहिले सात/आठ वर्षदेखि पाँच/दश वटामा सीमित भएको डंगोलले बताए। मानिसमा पशुबलि दिएर धर्म हुन्न भन्ने चेतना जागेर हो वा महँगीले हो, यसै भनेर ठोकुवा गर्न नसकिने धामी डंगोलले अगाडि भने, मानिसले पशुबलिमा कम विश्वास गर्न थालेका छन्।

२००८ सालदेखि धामी भएर काम गरिरहेका ८३ वर्षिय डंगोल पहिले/पहिले बलि दिनेको ताँती लाग्ने गरेको अनुभव सुनाउँछन्। बलि दिनेको संख्यामा कमी आएपनि शक्तिपीठहरूमा पूजापाठ गर्नेहरूको संख्यामा भने वढोत्तरी आएको पूजारीहरूको अनुभव रहेको छ। 

वडादसैंका अवसरमा फूलपाती, महाष्टमी, महानवमी, दशमी लगायतका दिनमा नुवाकोटका विभिन्न शक्तिपीठहरूमा पशुबलि घटेको जालपादेवी मन्दिरका पूजामा सहयोगी हरि चित्रकारले बताए। उनका अनुसार महाअष्टमीका दिन शुक्रवार सो मन्दिरमा पशुबलि दिनेको संख्या गत वर्षको तुलनामा ५० प्रतिशत घटेको छ। 

उनले भने, ‘पहिलेको तुलनामा पशुबलि दिने संस्कार घट्दै गइरहेको छ। पहिले पशुबलि दिनेहरू घण्टौंसम्म लाइनमा बस्नुपर्दथ्यो, पालो पाइनसक्नु हुन्थ्यो, अहिले पशु बलि दिने कार्यमा ५० प्रतिशत कमी आएको छ।’ पुराना दिन सम्झँदै जिलिङका वृद्ध नीलप्रसाद पुडासैनीले भने–अहिले फाट्टफुट्ट मात्र बलि दिनेहरू मन्दिर गइरहेका हुन्छन्। पशुबलिको विषय संस्कृतिसँग जोडिन नहुने उनको तर्क छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.