आज दसैँको टीकाको चौंथो दिन, मान्यजनको हातबाट टीका लगाइँदै
काठमाडौं : बडादसैंअन्तर्गत टीकाको चौंथो दिन मंगलबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र जमरा लगाउने क्रम जारी छ।
आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।
बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भए पनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहन्छ ।
यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैँ सकिने छ।