दसैंपछि मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

दसैंपछि मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

जोमसोम : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा दसैं पर्व सकिएसँगै पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दसैं पर्वमा मान्यजनबाट टीका थाप्ने कार्यक्रम सकिए लगत्तै आइतबारदेखि मुस्ताङमा पर्यटकीय गतिविधि अप्रत्याशित रूपमा वृद्धि भएको हो।

बडा दसैंको पछिल्लो दिन आइतबारदेखि मुस्ताङमा स्वदेशी तथा आन्तरिक पर्यटकको लर्को लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। दसंै पर्व अवधिमा सरकारी कार्यालय, निजी संघसंस्था, बैंक तथा वित्तीय संस्था, स्कुल कलेज र विदेशबाट दसैं पर्व मनाउन घर फर्किएकाहरूलाई लामो बिदा हुने भएकाले मुस्ताङमा पर्यटकीय चहलपहल बढेको हो। यस अवधिमा युवायुवतीहरूमा मुस्ताङ घुम्ने क्रेज बढेको हो।

दसैं पर्वको पछिल्लो २ दिनमा म्याग्दी र मुस्ताङको सिमाना घाँसा हुँदै कुल ५ हजार ८ सय ९८ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए। उनका अनुसार विजया दशमीको घटनास्थापनादेखि सोमबारसम्ममा कुल १५ हजार ५ सय ४४ जना पर्यटक सडक मार्ग हुँदै मुस्ताङ भित्रिएको प्रहरी नायव उपरीक्षक बोगटीले बताए। घटस्थापनादेखि पछिल्लो १२ दिनको अवधिमा उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएकोमा दैनिक औसत तुलना गर्दा करिब १९ प्रतिशतको हाराहारीमा मुस्ताङमा पर्यटकको आवागमन वृद्धि भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुस्ताङमा दसैंपछिको २ दिनको अवधिमा ५ हजार ३ सय २७ जना आन्तरिक र ५ सय ७१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्। त्यसो त घटनास्थापनादेखिको तथ्यांक हेर्दा मुस्ताङमा १२ हजार ४ सय ९२ जना आन्तरिक र ३ हजार ५२ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्।

यसअघि बडा दसै पर्व अघिको सोह्र श्राद्ध तिथिमा २० हजार ४ सय ४६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए। सोह्र श्राद्धको १६ दिनको अवधिमा कुल संख्याको १४ हजार ८ सय ५० जना आन्तरिक र ५ हजार ५ सय ९६ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका घाँसा प्रहरी चौकीको रेकर्डमा उल्लेख छ। 

मुस्ताङमा हवाई पोखरा जोमसोम हवाई सेवामार्फत पनि पर्यटक मुस्ताङ आउने गरेको भए पनि उनीहरूको रेकर्ड यसमा उल्लेख छैन। सेप्टेम्बर अन्तिमदेखि मुस्ताङमा हवाई सेवा मार्फत पनि उल्लेख विदेशी पर्यटकको मुस्ताङ आगमन बढेको छ।

दसैं पर्वको फुर्सदिलो बिदाको समयलाई सदुपयोग गर्दै मुस्ताङ घुम्ने युवापंक्तिको संख्या अपेक्षाकृत वृद्धि भइरहेको जोमसोमका पर्यटन व्यवसायीहरूको भनाइ छ। बेनी—जोमसोम सडकमार्ग हुँदै निजी, हरियो र सार्वजनिक सवारी साधनमार्फत पर्यटक मुस्ताङ भित्रिएका हुन्। कतिपय युवायुवतीहरू दसैंपछि मोटरसाइकल चढेर मुस्ताङ घुम्न आएको होटल मेजस्टीका प्रोपाइटर निसान तुलाचनले जानकारी दिए। दसैं पर्वपछि मुस्ताङ भ्रमण गर्नेमा अधिकांश पर्यटक युवापुस्ताका पर्यटक रहेको पर्यटन व्यवसायी तुलाचनले उल्लेख गरे।

मुस्ताङ भ्रमण गर्ने अनुकूल समय र सडक सञ्जाल सहज भइसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो। पर्यटन व्यवसायीहरूका अनुसार दसैंपछि छठ पर्वको अन्तिमसम्म युवापुस्ताहरू मुस्ताङ घुम्न आउने बताईएको छ। मुस्ताङको पृथक भूगोल, धार्मिक, ऐतिहासिक र सांस्कृतिक एवं जीवन्त मौलिकता भएकै कारण यसस्थानमा आन्तरिक तथा बाह्य पर्यटकको क्रेज बढ्दो छ। पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मुस्ताङलाई घुम्नैपर्ने पर्यटकीय सूचीमा सूचीकृत गरेसँगै मुस्ताङ जिल्लाको क्रेज बढेको हो।

मुस्ताङ भ्रमण गर्न आउने आन्तरिक पर्यटकहरूले सडक सहज भएसँगै चिनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन्। विदेश पर्यटक भने छोसेरको नेचुङसम्म पुग्छन्। कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, लोघेकर गुम्बा, मुक्तिनाथ, कागबेनी, ढुम्बाताललगायत विभिन्न पर्यटकीय गन्तब्यहरू मुस्ताङमा अवस्थित रहेकाले मुस्ताङमा पर्यटकहरूको क्रेज बढेको हो। राष्ट्रिय गौरवको सडकअन्तर्गत मुस्ताङमा एकतिहाइ सडक कालोपत्रे भइसकेकाले पनि मुस्ताङ यात्रा पर्यटकका लागि सहज बनेको छ। 

औसत बर्सेनि ५ लाखभन्दा बढी आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्छन्। यस्तै बर्सेनि १ लाख २० हजार भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ। मुस्ताङ भ्रमण गर्ने अघिकांश पर्यटकहरू मुक्तिनाथको दर्शन गरी फर्किन्छन्। युवापंक्ति पर्यटक भने मुस्ताङको विभिन्न पर्यटकीय गन्तव्यहरू अवलोकन गर्न रुचाउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.