दुई वर्षमा दुई पाटेबाघ र एक चितुवाको पासोमा परी मृत्यु, संरक्षणमा चुनौति

दुई वर्षमा दुई पाटेबाघ र एक चितुवाको पासोमा परी मृत्यु, संरक्षणमा चुनौति
फलामे तारको पासोमा परी घाइते भएको चितुवा । तस्बिर : परमानन्द पाण्डे

टीकापुर : कैलालीको जानकी गाउँपालिका -६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र बुधबार घाइते अवस्थामा उद्दार गरिएको एक वयस्क भाले चितुवाको मृत्यु भएको छ । शिकारीले थापेको पासोमा परेर घाइते भएको चितुवा वडा नं. ३ स्थित लायकपुर मुक्त कमैया शिविरको बस्ती छेउमै रहेको जगतपुर जाने सडक खण्डको जंगलबाट उद्दार गरिएको थियो । 

चितुवाको मृत्यु भएसँगै पछिल्ला दुई वर्षमा टीकापुर क्षेत्रमै दुई पाटेबाघ र एक चितुवाको पासोमा परी ज्यान गएको छ ।  वन डिभिजन कार्यालय पहलवानपुर,बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको उद्दार टोलीले घाइते चितुवाको जिवितै उद्दार गरे पनि पहलवानपुर पुर्‍याएको केही समयमै चितुवाको मृत्यु भएको हो । 

टीकापुर सव डिभिजन वन कार्यालयका प्रमुख विश्वराज पण्डितले उद्दार गरिएको चितुवाको मृत्यु भएको जानकारी दिए । ‘धेरै दिनअघिदेखि पासोमा परेर भाग्दै भाग्दै सामुदायिक वनमा पुगेको चितुवाको जिवितै उद्दार गरे पनि पहलवानपुरमा पुर्‍याएको केहीबेरमै मृत्यु भएको हो,'प्रमुख पण्डितले भने, ‘पासोमा परेको चितुवा निकै कमजोर अवस्थामा फेला परेको थियो ।’ 

बर्दिया निकुञ्ज पशु संरक्षण अधिकृत डाक्टर आयुष महर्जनका अनुसार मोटरसाइकलमा प्रयोग गरिने क्लोज तारको पासोले चितुवाको छातीमा गम्भीर चोट पुगेको थियो । ‘रुखको हाँगामा राखिएको क्लोज तारको पासोले घाइते अवस्थामा फेला परेको चितुवाको छातिमा चोट लागेको देखिन्छ,घाउ हेर्दा दुई चार दिनअघि नै पासोमा परेको अनुमान गर्न सकिन्छ,'डाक्टर महर्जनले भने, ‘जंगली जनावरको शिकारका लागि थापिएको पासोमा परेर चितुवा घाइते भएको हो । यो संरक्षणका लागि चुनौतिको विषय हो ।’

त्यसो त यो चितुवा मात्रै होइन, यसअघि समेत कैलालीको सुदूरपूर्वी क्षेत्रमा शिकारीले थापेको पासोमा परेर विश्वमै दुर्लभ मानिएको पाटेबाघ समेत फेला परेका थिए ।  २०८० माघ ७ गते कैलालीको जानकी गाउँपालिका वडा नं.–९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृत फेला परेको थियो । सिकारीले थापेको काँडेतारको पासोमा परेर पोथी पाटेबाघ मृत फेला परेको हो । 

त्यस्तै २०७९ असार ७ गते बर्दिया राष्ट्रिय निकुञ्जले जिपिएस ट्रयाक गरेको पाटेबाघ टीकापुर नगरपालिका वडा नं. २ स्थित जनशक्ति सामुदायिक वनभित्र फलामे तारको पासोसहित मृत फेला परेको थियो । बाघको संरक्षणका लागि जिपिएस जडान गरिएको पाटेबाघ निकुञ्ज बाहिर पासोसहित मृत फेला पर्नु संरक्षणमै चुनौतिको विषय हो । 

विश्वमै दुर्लभ मानिएका पाटेबाघ तथा चितुवाहरु फलामे तारसहितको पासोमा परेर मृत अवस्थामा फेला पर्नु चोरी शिकारी र वातावरणीय अपराध भएको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन् । ‘राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र बाहिर रहेका सामुदायिक वनहरुमा पासोमा परेर बाघ मारिनु वातावरणीय अपराध हो,'श्रेष्ठले भने,‘वन्यजन्तुहरूको वृद्धि विकास भएको छ,त्यसबारे सचेतना फैलाउन र उचित व्यवस्थापन गर्न सरकारले खुकुलो नीति निर्माणमा ध्यान दिनुपर्छ ।’ 

जंगली जनावरको शिकार गर्न थापिएको पासोमा परेर विश्वमै दुर्लभ मानिएका जंगली जनावरहरू मृत अवस्थामा फेला पर्नुले संरक्षणमा चुनौति थपिएको पहलवानपुर वन डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र कठायतले बताए ।  ‘एउटै प्रकृतिका घटनाहरू दोहोरिएका छन्,यसले जंगलमा चोरी शिकारीका लागि पासो थाप्ने काम हुँदै आएको देखिन्छ,' कठायतले भने, ‘घटनाका न्यूनिकरणका लागि सामुदायिक वनका पदाधिकारी,संरक्षणकर्मी र सर्वसाधारणहरु सचेत हुनैपर्छ । हामी यो घटनाको गम्भीर रुपमा अनुसन्धान गरेर संलग्नलाई कारवाही गर्नेछौं, त्यसो गर्न सके आगामी दिनमा यस्ता घट्नाका कमी आउनेछ ।’

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०२२ मा गरिएको बाघ गणना अनुसार १ शय २५ बाघहरू छन् । देशभर ३ शय ५५ बाघ छन् । विभिन्न अध्ययन अनुसार निकुञ्जमा १ शय २० देखि ५० सम्म जङ्गली हात्तीहरू रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा रहेका दर्जन बढी सामुदायिक वनमा निकुञ्जबाट जङ्गली जनावरहरू आउने गरेका छन् । कर्णाली जैविक मार्गमा पर्ने कर्णाली नदीमा सत्ती कर्णाली, भगरैया, साइपुर, भैरवनाथ, खोटेना भुराखानी, रानी कर्णाली, शीतल, जनशक्ति, कैलाशेश्वर, जगतपुर, शिवशक्ति, कालिका, छतिवन, ऐश्वर्य र महिला लगायत सामुदायिक वनहरू छन् । यी वनहरूमा बाघ, हात्ती, चितुवा जस्ता जनावरहरू देखा पर्ने गरेको कैलाशेश्वर सामुदायिक वनका वनहेरालु निर्मला चौधरीको भनाइ छ।

पटक पटक दोहोरी रहेको पासोमा पारेर जंगली जनावरको हत्याको घटनामा संलग्नलाई कानुनी कारवाही भने हुन सकेको छैन । घटनाको सुक्ष्म अनुसन्धान गरी संलग्नलाई कारवाहीको दायरामा ल्याउन सके यस्ता घटना नियन्त्रण हुनसक्ने संरक्षणकर्मीहरूको विश्वास छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.