महको उत्पादन बढाउन चिउरीका बिरुवा रोपण

महको उत्पादन बढाउन चिउरीका बिरुवा रोपण

कृष्णपुर (कञ्चनपुर) : कञ्चनपुरको कष्णपुर नगरपालिका वडा नम्बर १ मा पर्ने ऐश्वर्य सामुदायिक वनमा चिउरीका २५ सय बिरुवा हुर्किरहेका छन् । स–साना (२ पाते) हुँदा नै रोपिएका चिउरी चारपाते भएका छन् ।  कृष्णपुर नगरपालिकाले वडा नम्बर १ लाई मह पकेट क्षेत्र पनि घोषणा गरेको छ । त्यहाँका किसानले परम्परागत रुपमा माहुरी पालन गरिरहेकोमा नगरपालिकाले उनीहरूलाई व्यवसायिक माहुरीपालनको तालिम पनि दिएको छ भने माहुरीमा अनुदान पनि दिँदै आएको छ ।

माहुरीका लागि चिउरी महत्वपूर्ण बिरुवा हो । चिउरीको फूलबाट बनेको मह स्वास्थ्यका लागि राम्रो मानिन्छ। ‘ऐश्वर्य सामुदायीक वनको एउटा भागमा बनमारा प्रजातीको झाडी सफा गरेर यसपाली मात्रै २५ सय चिउरीका बिरुवा रोपिएका छन् । नगरपालिकाले सामुदायिक वनका उपभोक्तालाई चिउरीका बोट उपलब्ध गराएको हो । उपभोक्ताले आफै सामुदायिक वनमा रोपेका छन् । अहिले बिरुवा हुर्किन थालेका छन्’ कृष्णपुर नगरपालिकालका प्रमुख हेमराज ओझाले भने ।

कृष्णपुर नगरपालिकाले कञ्चनपुरको बाणीमा रहेको सबडिजिभन वन कार्यालयलाई चिउरीका बोट उत्पादनको जिम्मा दिएको हो । सब डिभिजनले १० रुपैयाँ बोटका हिसाबले चिउरीका बोट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । ‘सब डिभिजनलाई बोट उत्पादनको जिम्मा दियौं, १० रुपैयाँमा वनले बोट उपलब्ध गराएपछि सस्तो परेको छ,’मेयर ओझाले भने ।

कृष्णपुरमा पर्ने चुरेको माथिल्लो बेल्टमा चिउरीको राम्रो उत्पादन हुन्छ । ‘चिउरी फल्यो भने यसका तीनवटा फाइदा छन् । पहिले भनेको माहुरीका लागि फूलको रस मह बनाउनका लागि प्रयोग हुनेभयो । दोस्रो भनेको दाना लागेपछि वनमा रहेका बाँदरजन्य पशुहरूका लागि आहारा पनि हुने भयो । तेस्रो भनेको चिउरीको बिँया संकलन गरेर त्यसबाट चिउरीको घिउ पनि बनाउन सकिने भयो,'स्थानीय शिक्षक राजेन्द्र विष्टले भने । 

नगरपालिकाले ऐश्वर्य सामुदायीक वनमा चिउरी मात्रै होइन,२० हजार बेलका विरुवा पनि यसैपाली रोपेको छ । ‘स्थानीयबासीको आयआर्जन होस् भनेर नगरपालिकाले विरुवा उपलब्ध गराएपछि बेलका बिरुवा रोपेका हौं । बेलबाट भविष्यमा जुस उत्पादन गर्न सकिन्छ भनेर यस्तो गरिएको हो,'ऐश्वर्य सामुदायिक वनका अध्यक्ष ईश्वर बहादुर बुढाले भने ।

बनमाराले जेलिरहेको ऐश्वर्य सामुदायिक वनमा यसै वर्ष चिउरी, बेल, दालचिनी, कागती, अमला, बेत, बास, डालेघाँस र नेपीयर घास गरी ४४ हजार विरुवा रोपण गरिएका कृष्णपुर नगरपालिकाले जनाएको छ । 

१० हजार विरुवा कागती, ७ हजार बिरुवा दालचिनी, २ हजार विरुवा अमला, २ हजार बेतका विरुवा, १ हजार बिरुवा नेपीयर जातको घाँस र २ हजार विरुवा बास रोपीएका छन । ‘सामुदायिक वनमा जेलिएर बसेको बनमारा फडानी गरेर यत्तीका विरुवा रोपिएका हुन् ।

स्थानीय उपभोक्ताको आयआर्जनमा यी बिरुवाले सहयोग गर्ने अपेक्षा गरिएको छ,’स्थानीय उपभोक्ता दामोदर जोशीले भने । सामुदायिक वनमा ठूलो संख्यामा नेवीयर जातको घाँस लगाइएको छ । ‘स्थानीय उपभोक्ताहरूलाई पशुपालनका लागि सहज हुने गरी  यसो गरिएको हो । यो घाँसले दुधालु जनावरले अझ बढि दूध दिने गर्छन् । पशुका लागि नेपीयर प्रजातीको घाँस पोषिलो हुन्छ, पशुहरूले पनि यसलाई राम्रो मानेर खान्छन्’उपभोक्ता जोशीले भने ।

सामुदायिक वनभित्र ८ हजार र उपभोक्ताको घरमा २ हजार गरी १० हजार बिरुवा कागती पनि रोपिएका छन् । ‘कागती बहुउपयोगी फल हो । स्थानीयको आयआर्जनमा यसले टेवा पुगाउने छ भने बनभित्र लगाइएको कागती फल्यो भने सामुदायिक वनको आम्दानी बढनेछ । सामुदायिक वनको आम्दानी बढनु भनेको उपभोक्ताको पनि आम्दानी बढनु हो,'वनका अध्यक्ष बुढाले भने ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.