इजरायली आक्रमणमा हमासका शीर्ष नेता याह्या सिनवारको मृत्यु

इजरायली आक्रमणमा हमासका शीर्ष नेता याह्या सिनवारको मृत्यु

हमासका शीर्ष नेता याह्या सिनवारको इजरायलद्वारा गाजामा भएको आक्रमणमा मृत्यु भएको छ। इजरायली विदेशमन्त्री इजरायल काट्जले बिहीबार गाजामा इजरायली सेनाले गरेको कारबाहीमा हमासका नेता सिनवारको मारिएको उल्लेख गरेका छन् । 

उनले सिनवारलाई गत अक्टोबर ७ मा भएको आक्रमणको मास्टरमाइन्ड भएको बताए ।

यसअघि इजरायली सेना (आईडीएफ) ले हमास नेता याह्या सिनवार गाजामा भएको आक्रमणमा मारिएको हो कि होइन भनेर अनुसन्धान गरिरहेको बताइएको थियो।

सिनवारको मृत्युबारे हमासको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन। यसअघि सिनवारको मृत्युको पुष्टिका सम्बन्धमा इजरायलले  डीएनए परीक्षण गरिएको जनाइएको थियो ।


गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीका अनुसार उत्तरी गाजाको एक विद्यालय भवनमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

इजरायली सेनाले जबलियाको यो ठाउँलाई हमास र अन्य इस्लामिक जिहाद कार्यकर्ताहरूले आफ्नो बैठक बिन्दुको रूपमा प्रयोग गरिरहेको बताएको छ।

हमासले भने उक्त आक्रमणको निन्दा गरेको छ।  

एक विज्ञप्तिमा हमासले आक्रमणस्थल विद्यालय रहेको र आफूहरुले उक्त स्थानलाई कमाण्ड सेन्टरको रूपमा प्रयोग गरेको दाबी झुटो भएको बताएको छ।

इजरायली सेनाले दुई साताअघि यस क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको थियो। इजरायली सेनाले हमास लडाकुहरूलाई पुन: संगठित हुनबाट रोकेको दाबी गरेको छ। इजरायली सेनाले दर्जनौं नामहरूको सूची जारी गर्दै आक्रमणको समयमा ती सबै मानिस भवनमा रहेको बताएको छ।

त्यस्तै संयुक्त राष्ट्रका अधिकारीहरूले जबलियामा फसेका हजारौं प्यालेस्टाइनीको अवस्था निकै खराब रहेको बताएका छन् । उनीहरुलाई खाद्यान्नको पनि अभाव रहेको उनीहरुको भनाइ छ। 

को हुन् याह्या सिनवार ?

याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् । उनलाई इजरायलदे मोस्ट वान्टेडको सुचीमा राखेको थियो। 

इजरायलले अक्टोबर ७, २०२३ मा आफ्नो दक्षिणी क्षेत्रमा भएको आक्रमणको लागि हमासका अन्य नेताहरूको साथै याह्या सिनवारलाई प्रखुख जिम्मेवार ठहराएको छ। ती आक्रमणहरूमा १२०० भन्दा बढी मानिस मारिएका थिए र २०० भन्दा बढी व्यक्ति अपहरणमा परेका थिए।

अबु इब्राहिम भनेर चिनिने ६१ वर्षीय याह्या सिनवारको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो ।

याह्याका आमाबाबु अस्केलोनका थिए। इजरायल १९४८ मा स्थापना भयो र हजारौं प्यालेस्टिनीहरूलाई उनीहरूको पुर्खाको घरबाट निष्कासित गरियो। त्यसपछि याह्याका आमाबाबु पनि शरणार्थी भए।  

याह्या सिनवारले आफ्नो प्रारम्भिक शिक्षा खान युनिसको केटाको माध्यमिक विद्यालयमा प्राप्त गरे। यसपछि उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट अरबी भाषामा स्नातक डिग्री हासिल गरे।

याह्या सिनवारलाई सन् १९८२ मा इजरायलले पहिलो पटक पक्राउ गरेको थियो । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । याह्यालाई 'इस्लामिक गतिविधि' मा संलग्न भएको आरोप लगाइएको थियो। सन् १९८५ मा उनी फेरि पक्राउ परे । यही समयमा याह्याले हमासका संस्थापक शेख अहमद यासिनको विश्वास जितेका थिए।

सन् १९८७ मा हमासको स्थापना भएको दुई वर्षपछि याह्याले आफ्नो सबैभन्दा खतरनाक आन्तरिक सुरक्षा संगठन अल-मजदको स्थापना गरे। त्यतिबेला याह्या २५ वर्षका मात्र थिए ।

वाशिंगटन इन्स्टिच्युट अफ नियर इस्ट पोलिसीका फेलो एहुद यारीले गत वर्ष बीबीसीलाई इजरायलसँग मिलेर काम गरेको आशंकामा धेरै व्यक्तिको "क्रूर हत्या" पछाडि याह्याको हात रहेको बताएका थिए। उनले भनेका थिए, 'याह्याले उनीहरूमध्ये धेरैलाई आफ्नै हातले मारेका थिए र उनी यसमा धेरै गर्व गर्थे। उनले म र अन्य व्यक्तिहरूसँग कुराकानीमा पनि यो कुरा भने।'

इजरायली अधिकारीहरूका अनुसार याह्याले पछि स्वीकार गरेका थिए कि उनले इजरायलको लागि जासुसी गरेको आशंकामा एक व्यक्तिलाई जिउँदै गाडेको थिए। जिउँदै गाड्ने काम बेल्चाले ​​नभएर चम्चाले गरिएको उल्लेख छ ।

सन् १९८८ मा याह्या सिनवारले दुई इजरायली सैनिकको अपहरण र हत्याको योजना बनाएको र त्यसलाई कार्यान्वयन गरेको आरोप छ । उनी सोही वर्ष पक्राउ परेका थिए । इजरायलले उनलाई १२ प्यालेस्टाइनीको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै चारवटा आजीवन कारावासको सजाय सुनाएको थियो। बीबीसी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.