कोरलानाका जोड्ने चराङ खोला पुल तिहारअघि नै सञ्चालनमा आउने
जोमसोम : कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत मुस्ताङको उत्तरी कोरलानाका जोड्ने चराङ खोला पक्की पुल तिहारअघि नै सञ्चालनमा आउने भएको छ। दसैं पर्व मनाउन फिल्डमा खटिएका मजदुर घर फर्किएकाले निर्माणको काममा केही ढिलाइ भए पनि तिहारअघि नै पुल निर्माण सम्पन्न हुने आयोजनाले बताएको छ।
राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङ खोलामा निर्माणधीन पुल २०७५ साल असार २९ गते काष्ठमाण्डप कन्ट्रक्सनले १० करोड १८ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो। दुई स्पानको ८० मिटर लामो चराङ खोला पुलको सुरुवाती ठेक्का सम्झौताअनुसार २०७७ साल पुस ९ गते सकिनुपर्ने थियो। साढे २ वर्षको सम्झौता अवधि तोकिएको उक्त पुल निर्माणमा ढिलासुस्ती र वेवास्ताका कारण लामो समयसम्म अलपत्र परेको थियो।
चराङ खोला पुल निर्माणका क्रममा निर्माण कम्पनीले भौगोलिक विषमता, प्रतिकूल मौसम, हिमपात र अत्यधिक चिसोले निर्माणको काममा बाधा परेको उल्लेख गर्दै पुलको म्याद ५ पटकसम्म थप गरिएको थियो। पुलको म्याद आयोजनाले असार ६ गतेसम्म कायम गरेको थियो। आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले उक्त पुलमा तिहार अगावै सवारीसाधन सञ्चालनमा आउने जानकारी दिए।
‘चराङ खोला पुल अन्तिम अन्तिम चरणमा छ। दसैंअघि साउने योजनामा थियौं। तर, चाडपर्व नजिकिएकाले भनेको समयमा सम्पन्न गर्न सकेनौं। अब तिहारअगावै सबै काम सकाउने गरी निर्माण कम्पनीलाई जानकारी गराएका छौं,' उनले भने।