पुल महाशाखाको टोली फोक्सिङटारमा
धरान : खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित फोक्सिङटारको पक्की पुल बगाएर खोटाङ उदयपुर यातायातका साधन सञ्चालनमा अवरोध भएपछि सडक विभाग पुल महाशाखाको टोलीले स्थलगत निरीक्षण गरेको छ। पुल महाशाखा प्रमुख ललिजन खनालको नेतृत्वमा पुल विज्ञहरूको टोलीले सुनकोशी बाढीले बगाएको क्षतिको निरीक्षण गरेको छ।
खनालसहित पुलविज्ञ डा. विजय जैशी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका डा. राजन सुवाल र डा. भरत मण्डलसहित स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूको टोलीले पुल बगाएको स्थानको निरीक्षण गरेर पुनर्निर्माणका लागि प्रक्रिया थालेको छ।
बुधबार खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राईको पहलमा एमाले नेत्री तथा संविधानसभा सदस्य उषाकला राई, दिक्तेलका मेयर तीर्थराज भट्टराईलगायत खोटाङका अन्य जनप्रतिनिधि र सबै दलका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई बालुवाटारमा भेटेर पुल निर्माण गर्न ज्ञापनपत्र बुझाएका थिए। त्यसलगत्तै प्रधानमन्त्री ओलीले सडक विभाग पुल महाशाखाको टोलीलाई फोक्सिङटार पठाएर पुलको पुनर्निर्माण र बेलीब्रिज जडान गर्नेबारे अध्ययन सुरु गर्न निर्देशन दिएका छन्।
पुल महाशाखा प्रमुख खनालले भत्किएको पुल पुनर्निर्माणका प्रक्रिया अगाडि बढाउने र सरकारले १ सय २० मिटरको बेलीब्रिज खरिद गरिसकेकाले बेलीब्रिज जडानका लागि उपयुक्त स्थानको खोजी गरिएको बताए। उनले सुनकोशीको फोक्सिङटारमा बेलीब्रिज जडान गर्दा बगाएको पुलको केही मास्तिरको स्थानमा जडान गरी गाइघाट दिक्तेल सडकमा यातायातका साधन सञ्चालनमा ल्याउने प्रक्रिया सुरु गरिएको बताए। खनालले पक्की पुलको पुनर्निर्माणका लागि कानुनी प्रक्रिया पु¥याउन समय लाग्ने भएकाले हिउँदको समयमा बेलीब्रिज जडान गरी सडक सञ्चालन गर्ने उत्तम विकल्प भएकाले सम्बन्धित निकायमा जानकारी गराउने बताए।