वीरगन्जमा ड्रोनमार्फत भू–सर्वेक्षण
वीरगन्ज (अन्नपूर्ण) : वीरगन्ज महानगरपालिकाले भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्न ड्रोनमार्फत भू–सर्वेक्षण गर्ने कार्य शुक्रबारबाट सुरु गरेको छ।
शुक्रबार नेपाल–भारत प्रवेश बिन्दु शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्य सुरु गरिएको हो। महानगरका मेयर राजेशमान सिंहले ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको शुभारम्भ गरेका हुन्।
भू—सुशासनका लागि महानगरका ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण सुरु गरिएको महानगरका मेयर सिंहले जानकारी दिए। उनका अनुसार भू–तथ्यांक चुस्त नहुँदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयन गर्न कठिनाइ हुँदै आएको थियो।