यातायात सुविधा कार्यान्वयन होस्

यातायात सुविधा कार्यान्वयन होस्

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर ५२ हजार बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । स्वास्थ्य स्वयंसेविका ती हुन्, जो बिरामीको पहिलो ओखती बनिरहेका छन्। निःस्वार्थ सेवा उनीहरूको कर्म हो । कतिपय स्वयंसेविकाले आफ्नो ऊर्जाशील जीवन यसैमा बिताइसकेका छन् । दशकौंदेखि उनीहरू सेवामा निरन्तर खटिरहेका छन् । 

स्वयंसेवा आफैंमा पवित्र क्षेत्र हो । यसमा उनीहरूलाई कुनै लोभलालच छैन । उनीहरू घरघरै पुगेर नागरिकलाई निःस्वार्थ सेवा दिइरहेका छन् । उनै स्वयंसेविकालाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै गरेको सार्वजनिक यातायातमा निःशुल्क सुविधा स्वागतयोग्य छ । कात्तिक १५ गतेदेखि आफ्नो कार्यक्षेत्रभित्र यात्रा गर्दा उनीहरूलाई भाडा लाग्ने छैन । तर, कार्यक्षेत्रभित्र तोकिएको कामको शिलशिलामा मात्र यो निर्णय लागू हुनेछ । 

दुर्गमका कतिपय गाउँमा सेवा दिन पुग्दा महिलाले हजारौं रुपैयाँ यातायातमा खर्च गर्नुपर्ने बाध्यता थियो । यो निर्णयसँगै थोरै भए पनि राहत अवश्य मिल्ने छ । केन्द्र सरकारले गरेको एउटा निर्णयले देशभरका हजारौं स्वयंसेविकाले राहत पाउने छन् । 

सरकारले गर्ने यस्ता नीतिगत निर्णयहरू कागजतमा मात्र सीमित हुनुहुँदैन । प्रभावकारी कार्यान्वयन हुन्छ वा हुँदैन महत्वपूर्ण विषय हो । सरकारले यसअघि गरेका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई दिने भनिएको यातायात सुविधा कतिपय ठाउँमा कार्यान्वयन भएको देखिन्न । लक्षित वर्गले गुनासो गरिरहेका छन् । 

सस्तो लोकप्रियताका लागि निर्णय गरिहाल्ने तर कार्यान्वयन नहुने सरकारको संस्कार जस्तै बनिसक्यो । यसलाई चिर्न वर्तमान सरकारले ठोस पहलकदमी गरोस्् । यातायात सुविधाका लागि स्वास्थ्य मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरेको छ । तर, यातायात व्यवसायीले केन्द्रको निर्णय भन्दै स्थानीय स्तरमा कार्यान्वयन नगर्ने गरेका पनि कैंयन उदाहरण छन् । यसलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले कडाइका साथ निगरानी गर्नुपर्छ । 

यो निर्णयसँगै स्वास्थ्य मन्त्रालयले स्वयंसेविकाको थप क्षमता विकासका लागि आवश्यक तालिम र सीपमूलक कार्यक्रमको प्याकेज चाँडै ल्याउनुपर्छ । स्वयंसेविकालाई दिने प्रोत्साहन अहिले स्थानीय तहबाट हुँदै आएको छ । तर, त्यसको स्रोत व्यवस्थापन संघ सरकारले नै गर्दै आएको छ । त्यसैले वर्षौंदेखि सेवामा खटिएका स्वयंसेविकाको थप क्षमता विकास र उचित प्रोत्साहनका लागि संघ सरकारले नै विशेष योजना ल्याउनुपर्छ । अघि सारेका नीतिगत निर्णय र योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सबैले चासो दिनु जरुरी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.