जंगलमा कसले थाप्छ चितुवा र बाघलाई पासो ?
टीकापुर : कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र बुधबार एक वयस्क भाले चितुवा शिकारीले थापेको पासोमा परेर घाइते भएको छ। वडा नं. ३ स्थित लायकपुर मुक्त कमैया शिविरको बस्ती छेउमै रहेको जगतपुर जाने सडकखण्डको जंगलमा शिकारीले थापेको पासोमा परेर वयस्क चितुवा घाइते भएको हो।
वन डिभिजन कार्यालय पहलवानपुर, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको उद्धार टोलीले घाइते चितुवाको जीवितै उद्धार गरेको हो। उद्धार टोलीमा रहेका निकुञ्ज पशु संरक्षण अधिकृत डा. आयुष महर्जनका अनुसार मोटरसाइकलमा प्रयोग गरिने क्लोज तारको पासोले चितुवाको छातीमा गम्भीर चोट पुगेको छ।
‘रुखको हाँगामा राखिएको क्लोज तारको पासोले घाइते अवस्थामा फेला परेको चितुवाको छातिमा चोट लागेको देखिन्छ, घाउ हेर्दा दुई चार दिनअघि नै पासोमा परेको अनुमान गर्न सकिन्छ’, डा. महर्जनले भने, ‘जंगली जनावरको शिकारका लागि थापिएको पासोमा परेर चितुवा घाइते भएको हो। यसको संरक्षण चुनौतीको विषय हो।’
त्यसो त यो चितुवा मात्रै होइन, यसअघि समेत कैलालीको सुदूरपूर्वी क्षेत्रमा शिकारीले थापेको पासोमा परेर विश्वमै दुर्लभ मानिएको पाटेबाघ समेत फेला परेका थिए।
२०८० माघ ७ गते कैलालीको जानकी गाउँपालिका ९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृत फेला परेको थियो। सिकारीले थापेको काँडेतारको पासोमा परेर पोथी पाटेबाघ मृत फेला परेको हो।
त्यस्तै २०७९ असार ७ गते बर्दिया राष्ट्रिय निकुञ्जले जीपीएस ट्र्याक गरेको पाटेबाघ टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनभित्र फलामे तारको पासोसहित मृत फेला परेको थियो। बाघको संरक्षणका लागि जीपीएस जडान गरिएको पाटेबाघ निकुञ्ज बाहिर पासोसहित मृत फेला पर्नु संरक्षणमै चुनौतीको विषय हो।
विश्वमै दुर्लभ मानिएका पाटेबाघ तथा चितुवाहरू फलामे तारसहितको पासोमा परेर मृत अवस्थामा फेला पर्नु चोरी शिकारी र वातावरणीय अपराध भएको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन्। ‘राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र बाहिर रहेका सामुदायिक वनहरूमा पासोमा परेर बाघ मारिनु वातावरणीय अपराध हो’, श्रेष्ठले भने, ‘वन्यजन्तुबारे त्यसबारे सचेतना फैलाउन र उचित व्यवस्थापन गर्न सरकारले खुकुलो नीति निर्माणमा ध्यान दिनुपर्छ।’
जंगली जनावरको शिकार गर्न थापिएको पासोमा परेर विश्वमै दुर्लभ मानिएका जंगली जनावरहरू मृत अवस्थामा फेला पर्नुले संरक्षणमा चुनौती थपिएको पहलवानपुर वन डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र कठायतले बताए।
‘एउटै प्रकृतिका घटनाहरू दोहोरिएका छन्, यसले जंगलमा चोरी शिकारीका लागि पासो थाप्ने काम हुँदै आएको देखिन्छ’, कठायतले भने, ‘घटनाका न्यूनीकरणका लागि सामुदायिक वनका पदाधिकारी, संरक्षणकर्मी र सर्वसाधारणहरू सचेत हुनैपर्छ। हामी यो घटनाको गम्भीर रूपमा अनुसन्धान गरेर संलग्नलाई कारबाही गर्ने छौं, त्यसो गर्न सके आगामी दिनमा यस्ता घटनाका कमी आउनेछ।’
बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार १ सय २५ बाघ छन्। देशभर ३ सय ५५ बाघ छन्। विभिन्न अध्ययन अनुसार निकुञ्जमा १ सय २० देखि ५० सम्म जंगली हात्तीहरू छन्।
बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा रहेका दर्जन बढी सामुदायिक वनमा निकुञ्जबाट जंगली जनावरहरू आउने गरेका छन्। कर्णाली जैविक मार्गमा पर्ने कर्णाली नदीमा सत्ती कर्णाली, भगरैया, साइपुर, भैरवनाथ, खोटेना भुराखानी, रानी कर्णाली, शीतल, जनशक्ति, कैलाशेश्वर, जगतपुर, शिवशक्ति, कालिका, छतिवन, ऐश्वर्य र महिलालगायत सामुदायिक वनहरू छन्। यी वनहरूमा बाघ, हात्ती, चितुवा जस्ता जनावरहरू देखा पर्ने गरेको कैलाशेश्वर सामुदायिक वनका वनहेरालु निर्मला चौधरी बताउँछन्।
पटक–पटक दोहोरी रहेको पासोमा पारेर जंगली जनावरको हत्याको घटनामा संलग्नलाई कानुनी कारबाही भने हुन सकेको छैन। घटनाको सुक्ष्म अनुसन्धान गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन सके यस्ता घटना नियन्त्रण हुने संरक्षणकर्मीहरूको विश्वास छ।