गाउँ–गाउँमा अखडा, मनमनमा पहलमानी
बर्दिबास (महोत्तरी): मधेसका जिल्लाहरूमा भदौदेखि फागुनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलमानी भइरहन्छ। राष्ट्रिय खेलकुद परिषद्ले पहलमानीलाई ‘कुस्ती’ भन्छ। तर, मधेसको जनबोलीमा कुस्ती खेल्ने खेलाडीलाई ‘पहलमान’ अनि कुस्ती खेललाई ‘पहलमानी’ भनेर भनिन्छ। यस खेलको संरक्षण, सम्बद्र्धनमा सरकारको ध्यान पुग्न नसकेको खेलाडीको गुनासो छ।
श्रीकृष्ण जन्माष्टमीबाट सुरु भएको पहलमानीले दसैंमा गाउँगाउँको माहोल ततायो। दीपावली, छठ, झन्डा मेलाजस्ता पर्वमा यसले अझै मधेसका जनजनलाई तताउँछ। पछिल्लो समय मधेसका भित्री गाउँगाउँमा पहलमानीले नयाँ पुस्तामा उत्साह र उमंग भरेको छ। पहलमानीले एक आपसमा आमोद–प्रमोदको सञ्चार गराएको छ। मेला, उत्सव, महोत्सवको विशेष आकर्षण पहलमानी बन्दै गएको छ। स्थानीय समाजिक संघसंस्थाले पहलमानीको साख जोगाउन काम गरिरहेको पाइन्छ।
‘पहलमान’, ‘पहलमानी’ र ‘अखडा’ मधेसको पहिचान मात्रै होइन, संस्कार र सँस्कृति नै बनिसकेको बताउँछन् नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव। ‘मधेस स्वर्ग छ। जहाँ माटोको सुगन्धले पहालमानी सुसज्जित छ’, उनी भन्छन्, ‘त्यही उर्बर माटोमा पहलहानी हुन्छ। त्यसैमा मनग्य अन्न फल्छ। मधेस, माटो र पहलमानीको सम्बन्ध नङ र मासुजस्तै छ।’
कुस्तीमा भविष्य खोज्दै फजिल
मैले पहलमानी खेलेर देशको झण्डालाई उचाइमा पुर्याएको छु। स्थानीय सरकारले पहलमानीलाई खेल संस्कृतिका रूपमा संरक्षण गर्नुपर्छ। प्रत्येक पालिकाले १०–१५ जना पहलमानलाई छनौट गरेर खोरीस (तागतिलो खानपान)को व्यवस्था गर्नुपर्छ। प्रदेश सरकारले पनि यसका लागि विशेष ध्यान दिनुपर्छ। अनि मात्रै नेपालले कुस्तीमा अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाउँछ-राजिशरण यादव, पहलमान
पर्साको बिन्दबासनी गाउँपालिका–५ का ३५ वर्षीय फजिल राउत गद्दी ढेड दशकदेखि पहलमानी (कुस्ती)मा रमाउँदै आएका छन्। असोज २८ गते उनी महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा भेटिए। जहाँ उनी हजारौं दर्शकका माझ भारतीय पहलमानलाई हराएर दर्शकबाट खुसियाली बटुलिरहेका थिए। त्यस खेलमा उनले भारतीय पहलमानलाई हराएर बिजयी भएका थिए। मधेसमा हराउँदै गएको पहलमानी संरक्षणका लागि दुर्गा पूजाको अवसरमा असल नागरिक युवा क्लब बनौटाले महादंग(पहलमानी) प्रतियोगिता आयोजन गरेको थियो।
फजिलले १५ वर्षको पहलमानी जीवनमा छैटौं, सातौं, आठौं, नवौं राष्ट्रिय कुस्ती प्रतियोगितामा खेलिसकेका छन्। बिहानै उठ्दा उनको नजर पुग्छ घरको भित्तामा झुन्डिएको मेडल, तक्मा र प्रशंसापत्रमा। उनी त्यसैबाट हौसिन्छन् अनि अखडामा पहलमानीको अभ्यासमा जुट्छन्। यो उनको दैनिकी नै हो।
स्थानीय सरकार गठन भए पनि मधेसको पहिचान र संस्कृतिका रूपमा रहेको पहलमानीलाई संरक्षण गर्ने काम नभएकोमा उनी चिन्ता व्यक्त गर्छन्। उनले भने, ‘कुनै मेयर–उपमेयरले हामीलाई सहयोग गरेको छैन। हामी आफ्नो घरबाट लगानी गरेर कुस्ती खेलिरहेका छौं।’ गाउँगाउँमा आयोजना हुने कुस्ती प्रतियोगितामा जितेपछि दर्शकले दिने पुरस्कारबाट खेलमा सक्रिय हुने ऊर्जा मिल्ने गरेको उनी सुनाउँछन्। ‘कुस्ती प्रेमीहरूले गर्दा नै खेलाडीहरूलाई सहयोग मिलिरहेको छ। खेलबाट कमाउने अनि त्यसैबाट परिवार चलाउने गर्छौं’, उनले भने।
खेलाडीहरूलाई जीवन निर्वाहका लागि सरकारले जागिर र प्रशिक्षण दिँदै अन्तर्राष्ट्रिय स्तरका कुस्ती प्रतियोगिता आयोजनाका साथै खेलाडीलाई प्रबद्र्धन गर्नुपर्ने फजिलको माग छ। सरकारले सबै जिल्लामा कुस्तीको कोच राख्नुपर्ने उनको भनाइ छ। दुई–तीन जनाको भरमा हाल पूरा नेपालमा कुस्तीको प्रशिक्षण भइरहेकाले यो पर्याप्त नभएको उनले बताए।
दर्शकको मनमनमा राजिशरण पहलमान
हट्टाकट्टा ज्यान। पहलमान मात्रै होइनन् उनी, पहलमानी पनि खेलाउँछन् महोत्तरी बगराका राजिशरण यादव। उनी बनौटाको दुर्गामा मेलामा लगाएको अखडामा भेटिए। उनले पनि भारतीय खेलाडीलाई हराए। दर्शकबाट वाहवाही कमाए। मन्त्रीदेखि साना बच्चाहरूले उनीसँग गला मिलाउँदै इनाम दिइरहे। पुरस्कार स्वरूप पैसा दिनेहरू यति भए कि उनले त्यो पैसा राख्न गम्छालाई झोलाको रूपमा प्रयोग गर्नुपर्यो। मधेसमा अचेल हराउँदै गएको पहलमानीले फेरि जुर्मुराउने अवसर पाएको छ।
राजिशरण १५ वर्षदेखि निरन्तर पहलमानी खेल्दै आएका छन्। उनले महोत्तरीबाट कुस्ती खेल्दै जिल्लादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू खेलिसकेका छन्। उनले भने, ‘मैले पहलमानी खेलेर देशको झण्डालाई उचाईमा पुर्याएको छु।’
स्थानीय सरकारले पहलमानीलाई खेल संस्कृतिको रूपमा संरक्षण गर्नुपर्ने उनी बताउँछन्।
रैथाने खेल संरक्षणमा युवाहरूले गरेको प्रयास प्रशंसायोग्य छ। मधेसको कुस्ती हाम्रो सम्पत्ति हो। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा हामी सबैको मान, सम्मान बढाइरहेको छ। मधेस प्रदेश सरकारले कुस्तीलाई विकास गर्छ। नेपालमा यो प्रख्यात छ तर उजागर भएको छैन। पहलमानीको संरक्षण र विकासलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउँछौं। सरोज यादव, भौतिक पूर्वाधारमन्त्री, मधेस प्रदेश
‘प्रत्येक पालिकाले १०–१५ जना पहलमानलाई छनौट गरेर खोरिस (तागतिलो खानपान)को व्यवस्था गर्नुपर्छ। प्रदेश सरकारले पनि यसका लागि विशेष ध्यान दिनुपर्छ। अनि मात्रै नेपालले कुस्तीमा अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाउँछ।’
पहलमानीको साख फर्काइँदै
श्रीकृष्ण जन्माष्टमीको अवसरमा धनुषाको ढल्केबरस्थित कुस्ती अखडा पहलमानहरूले तताएका थिए। जहाँ भारत र नेपालका कुस्तीबाजहरूको जमघट भएको थियो। पहलमानहरूलाई जमघट गराउन मिथिला नगरपालिका ६ का अध्यक्ष नन्दकिशोर यादवले पहल गरेका थिए। गोपाल सेवा समितिले अखडाको व्यवस्थापन मिलाएको थियो। दुई दिनसम्म चलेको कुस्ती प्रतियोगिता हेर्न हजारौं दर्शकहरू टाढा—टाढाबाट आएका थिए।
ढल्केबरका स्थानीय कमलेश यादव भन्छन्, ‘अहिले कुस्तीको क्रेज बढ्दै गयो।’ ढल्केबरमा पछिल्लो चार वर्षदेखि कुस्ती प्रतियोगिता भइरहेको छ। जहाँ नेपाल र भारत दुवै देशका पहलमानहरूले सहभागिता जनाउने गरेका छन्। वडा अध्यक्ष यादव भन्छन्, ‘पहलमानी हेर्दा बहुत बढिया लाग्छ। कुस्तीले नयाँ परिवर्तन गराउँछ। पुरानो खेल पछाडी परेको थियो, अब अगाडि बढ्छ।’ कुस्ती हेर्दा स्थानीय गुदर यादवलाई बालापनमा पहलमानी खेलेको याद आउँछ।
‘खेलकुद देशको गहना हो’
नेपालमा खेलकुद क्षेत्रमा कुनै प्रोत्साहन नभएको बताउँछन् असल नागरिक युवा क्लब बलवा, बनौटाका अध्यक्ष बलिराम यादव। उनी भन्छन्, ‘पहलमानीले मधेसलाई देश र विदेशमा चिनाएको छ। देशमा संघीयता आए पनि मधेसको पहिचान पहलमानीको संरक्षण, सम्बद्र्धन, प्रचार र विकासका लागि सरकारी तहबाट जुन ढंगले काम हुनुपथ्र्यो भएको छैन।’ स्थानीय सरकारले विशेष प्राथमिकतामा राखेर रैथाने खेलकुद संस्कृतिलाई विकास गर्न योजना निर्माण, बजेट विनियोजन र कार्यान्वयन गर्नु आवश्यक रहेको उनी सुनाउँछन्।
‘पहलमानी लगायतका सबै खेलकुदलाई उजागर गर्नुपर्छ। खेलकुद हाम्रो देशको गहना हो। यो गहाना नरहने हो भने हाम्रो राष्ट्रको सुन्दरता नै हराउँछ’, विदेशमा रहेका युवाहरूबाट सहयोग संकलन गरेर पहलमानी आयोजना गरेको बताउँदै उनले थपे, ‘हराउँदै र सेलाउँदै गएको पहलमानीलाई जागृत गराउन सबै लाग्नुपर्छ।’
खेल हेर्न पुगेका मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले रैथाने खेल संरक्षणका लागि युवाहरूले गरेको प्रयासलाई प्रशंसा गरे।
‘मधेसको कुस्ती हाम्रो सम्पत्ति हो। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा हामी सबैको मान, सम्मान बढाइरहेको छ’, उनले भने, ‘मधेस प्रदेश सरकारले कुस्तीलाई विकास गर्छ। नेपालमा यो प्रख्यात छ तर उजागर भएको छैन। पहलमानीलाई संरक्षण र विकासका लागि विशेष प्राथमिकतामा राखेर योजना बनाउँछौं।’
सागमा कुस्तीले पाएको त्यो अखडा...
नेपाली खेलाडीले सन् १९८८ देखि अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएका थिए। सन् १९८८ मा पाकिस्तानमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) बाट नेपाली कुस्ती खेलाडीले अन्तर्राष्ट्रिय स्तरको अखडामा इन्ट्री पाएका थिए। त्यो बेला सप्तरीका कासिन्द्र यादव र श्याम मण्डलले नेपालको तर्फबाट कुस्ती खेलमा सहभागिता जनाएका बताउँछन् नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी।
सन् २०२३ मा चीनमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली कुस्ती खेलाडीले ४ः३५ सेकेन्डसम्म अखडामा टिकेर राम्रो प्रदर्शन गरेका थिए। त्यसअघि नेपालले आयोजना गरेकोे १३ औं साग अन्तर्गतको विभिन्न खेलमध्ये कुुस्ती प्रतियोगिता जनकपुरधाममा भएको थियो। जहाँ नेपालको तर्फबाट विभिन्न विधामा १४ जना खेलाडी सहभागी भएका थिए। १ थान स्वर्ण, ५ थान रजत र ७ थान कास्थ पदक गरी १३ वटा पदक हात पारेका थिए। जसमा मधेसकै कुस्ती खेलाडीहरूको वर्चश्व थियो।
पहलमानीले मधेसलाई देश–विदेशमा चिनाएको छ। देशमा संघीयता आए पनि मधेसको पहिचान पहलमानीको संरक्षण, सम्बद्र्धन, प्रचार र विकासका लागि सरकारी तहबाट जुन ढंगले काम हुनुपथ्र्यो भएको छैन। स्थानीय सरकारले विशेष प्राथमिकतामा राखेर रैथाने खेलकुद संस्कृतिलाई विकास गर्न योजना निर्माण, बजेट विनियोजन र कर्यान्वयन गर्नु आवश्यक छ। बलिराम यादव, अध्यक्ष, असल नागरिक युवा क्लब
देशभरिमा ३३ जना अन्तर्राष्ट्रियसहित कम्तिमा ७ सय कुस्ती खेलाडी छन्। कुस्तीमा विशेष गरी मधेस प्रदेशको दबदबा हुने गरेको कुस्ती संघका अध्यक्ष कुसारी सुनाउँछन्। ‘पूर्वदेखि पश्चिम तराईसम्म कुस्ती खेल हुन्छ। तर, मधेस प्रदेशको धनुषा, सिरहा, सप्तारी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्लाका टोल टोलमा कुस्ती अखडा छ’, उनी भन्छन्, ‘कुस्ती मधेसको खेल मात्रै नभएर यो त्यहाँको जीवन संस्कृति नै हो। चार्डपर्व, मेलापात, महोत्वसमा कुस्ती प्रतियोगिता हुन्छ। यस अर्थमा भन्ने हो कुस्ती मधेसको एक आकर्षण पनि हो। तर, पुराना लिडरहरूले ध्यान नदिँदा यसको संरक्षण, विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारमा कमी रह्यो।’
उनका अनुसार खेलाडीहरूलाई प्रशिक्षकको कमी छ। कुस्ती खेलका लागि देशभरि १० जना निर्णायक चाहिएको छ। उनले भने, ‘एउटा जिल्ला, एउटा प्रशिक्षक राख्ने तयारी गरेका छौं। प्रत्येक स्थानीय तहमा प्रशिक्षक तयार गर्ने योजना छ। कुस्तीमै भविष्य छ, यसलाई व्यावसायिक बनाउनुपर्छ।’ खेल खेलेर बाँच्न सकिन्छ भन्ने माहौल खेलाडीका लागि चाहिएको उनी औंल्याउँछन्। ‘विदेशमा प्राथमिक तहबाटै कुस्ती खेलाइन्छ, पढाइन्छ। तर, नेपालमा त्यस्तो छैन ’, उनले भने।