प्रदर्शनले बंलादेशको गार्मेन्ट उद्योगमा ४० करोड डलरको क्षति
काठमाडौं : बंगलादेशको निरङ्कुश प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिपछि भएको अशान्तिका कारण बंगलादेशको महत्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड अमेरिकी डलर गुमाएको उद्योग सम्वद्ध अधिकारीहरूले आइतबार बताएका छन्।
दक्षिण एसियाली मुलुकका तीन हजार ५०० गार्मेन्ट फ्याक्ट्रीले वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको करिब ८५ प्रतिशत हिस्सा ओगटेका छन्, तर अशान्तिका कारण बंगालादेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रमा ठूलो व्यवधान उत्पन्न भएको छ।
महिनौं लामो विरोध प्रदर्शनपछि आवामी लीगका नेता शेख हसिना गत अगस्ट ५ मा हेलिकोप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन् भने उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएको सेना प्रमुखले घोषणा गरेका थिए।
बंगलादेशमा भएको आन्दोलनका कारण भारत पलायन भएकी आवामी लीगकी नेतृ शेख हसिना वाजेदको प्रधानमन्त्री पदबाट राजिनामापछि प्रधानमन्त्री नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। तर, गार्मेन्ट फ्याक्ट्रीमा मजदुरहरूले रोजगारी र राम्रो तलबको माग गर्दै प्रदर्शन जारी राखेका छन्।