जो थिए पर्यापर्यटनका अग्रणी

जो थिए पर्यापर्यटनका अग्रणी
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : नेपालमा पर्यापर्यटनका अग्रणी व्यक्तिका रूपमा चिनिने वसन्तराज मिश्रको निधन भएको छ । एक सातादेखि डेंगु लागेर थापाथलीस्थित नर्भिक अस्पतालमा रहेका उनको उपचारको क्रममा आइतबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ । उनको जन्म २००९ फागुन १५ गते भएको थियो ।

ज्वरोले थलिएका मिश्र दसैंको टीकाको दिन घरमा नै लडेका थिए । एकादशीका दिन डेंगु संक्रमण प्रमाणित भएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । भर्ना भएको भोलिपल्टै उनलाई मस्तिष्कघात भयो । त्यसपछि तुरन्तै उनको सल्यक्रिया गरियो । सल्यक्रिया सफल भएको उपचारमा संलग्न डाक्टरले बताएको परिवार स्रोतले जनायो । तर, डेंगुका कारण आन्तरिक रक्तस्राव भएर उनको निधन भएको हो । उनको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । 

उनको श्रीमती, एक छोरा र एक छोरी छन् । पर्यटन व्यवसायअन्तर्गत पर्या–पर्यटनलाई नेपालमा स्थापित गर्ने र यसको सम्भावना छ भनेर वकालत गर्ने व्यक्तिका रूपमा उनलाई चिनिन्छ । पैसाभन्दा पनि नाम कमाउनुपर्छ भन्ने सोच राख्ने उनी सधैंका लागि अमर हुने गरी नाम कमाएर संसारबाट बिदा भएका छन् । जागिरे परिवेशमा हुर्किएका उनले जागिरभन्दा आफ्नो छुट्टै व्यवसायलाई चुने ।

स्नातकपछि युरोप भ्रमणको क्रममा व्यवसाय व्यवस्थापन, मार्केटिङ र सार्वजनिक भाषणमा छोटो अवधिको कोर्स लिएको द अन्नपूर्ण एक्सप्रेसलाई केही समय अघि उनले दिएका एक अन्तर्वार्तामा भनेका छन् । ‘युरोपले मलाई काम अत्यावश्यक छ भन्ने सिकायो । आम्दानीको लागि मात्र नभई आफ्नो पहिचान स्थापित गर्नका लागि काम जरुरी छ । तपाईँले कति कमाउनुहुन्छ भन्ने होइन तर तपाईँ को हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण छ’, उनले उक्त अन्तर्वार्तामा भनेका थिए ।

सन् १९७७ मा मिश्रले पर्यटन क्षेत्रमा करियर सुरु गरे । पर्यटन क्षेत्रमा लागेको ११ वर्षपछि टेम्पल टाइगर गु्रप अफ कम्पनिज स्थापना भएको हो । नेपालमा दिगो र जिम्मेवार पर्यटन प्रबद्र्धन गर्ने यो पहिलो कम्पनी हो । 

नेपालको पर्यटन उद्योग औपचारिक रूपमा १९५० को दशकमा सुरु भएको हो । ७० को दशकको उत्तरार्धमा, प्रायः सम्पन्न परिवारका मानिस र अंग्रेजीमा बोल्न र लेख्न सक्नेहरू पर्यटनमा संलग्न थिए । त्यही मध्येका मिश्र पनि थिए । होटल व्यवसाय, ट्राभल एजेन्सीबाट सुरु भएको उनको पर्यटन यात्रा संरक्षण पर्यटनमा पुगेपछि झन् स्थापित बन्यो । 

उनले चितवन राष्ट्रिय निकुञ्जभित्र नै टेम्पल टाइगर जंगल एन्ड लज खोले । हाई–इन्डका (उच्च कोटिका) पर्यटकलाई आकर्षित गर्न, वन्यजन्तुसँगको प्रत्यक्ष अनभूति गर्न र साहसिक बसाईका रूपमा लज विश्वसामु स्थापित भयो । नेपाल वन्यजन्तु पर्यटनका लागि एसियामा नै उत्कृष्ट गन्तव्य रहेको उनी बताइरहन्थे । पर्यटन व्यवसायसँगै उनी नेपाल पर्यटन बोर्डको संस्थापक निर्देशक पनि बने । 

नेपाल उद्योग परिसंघका पूर्वउपाध्यक्ष, नेपाल टुर एन्ड ट्राभल एसोसिएसनका संस्थापक, प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा) का संस्थापक पनि रहेका मिश्र थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा आबद्ध थिए । 

पर्यापर्यटन पत्रकारिताको विकासमा सधैं चिन्तित रहने उनले सन् २०२४ मा ज्यानु–वसन्तराज मिश्र फाउन्डेसन स्थापना गरी विभिन्न ३ विधामा पुरस्कार पनि वितरण गरेका थिए । सधैं सकारात्मक चिन्तनबाट अघि बढ्ने मिश्रको निधनले नेपालको पर्यटन क्षेत्रमा अतुलनीय क्षति भएको पर्यटन व्यवसायीहरूले बताएका छन् । उनी सधैं ऊर्जावान व्यक्तित्वका रूपमा रहेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज मिश्रले बताए ।

‘नेपालको पर्यटनलाई एउटा अत्यन्त सम्भावना भएको र युनिक गन्तव्यका रूपमा विकास गर्न सकिने भनिरहने उहाँ हामीले त्यही ढंगले स्रोत बजार खोज्नुपर्छ भन्नुहुन्थ्यो । हाम्रो पर्यटन पछिल्ला दिनमा अल्मलिएको छ भन्नुहुन्थ्यो’, जोशिले सुनाए । पर्यटन र पर्यावरण संरक्षणमा उनको योगदान रहेको जोशीले बताए । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.