चीनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने जस्टिन ट्रुडोको घोषणा
क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियमका सामग्रीमा २५ प्रतिशत कर लगाउने जनाएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले व्यापारमा अनुचित व्यवहार अपनाएको आरोप लगाएका उल्लेख गर्दै कर लगाउने घोषणा गरेका हुन्।
ट्रुडोले सामाजिक सञ्जालमा सस्तो स्टिल र आल्मुनियमले गर्दा अन्तर्राष्ट्रिय बजारमा चीनको ठूलो प्रभाव रहेको उल्लेख गरेका छन्।
ट्रुडोले लेखेका छन्, 'उनीहरूको (चीन) अनुचित व्यापार अभ्यासले क्यानाडाली कामदारहरूलाई ठूलो नोक्सान पुर्याएको छ। हामी यसको विरुद्ध कदम चाल्दैछौं। '
यसअघि अप्रिलको सुरुमा आफ्नो चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पनि चिनियाँ अधिकारीसँगको वार्तामा विश्व बजारमा ‘सस्तो चिनियाँ उत्पादनको प्रचुर मात्रा’को विषयमा चिन्ता व्यक्त गरेका जनाइएको छ।
मे महिनामा राष्ट्रपति सी जिनपिङ फ्रान्सको भ्रमणमा रहेका बेला युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले पनि उनीसँग यो मुद्दा उठाएका थिए। बीबीसी