मुस्ताङको दामोदरकुण्ड पदमार्ग र गुरुसाङ्वो गुफा जोड्ने २ झोलुंगे पुलको डीपीआर सर्वे

मुस्ताङको दामोदरकुण्ड पदमार्ग र गुरुसाङ्वो गुफा जोड्ने २ झोलुंगे पुलको डीपीआर सर्वे

जोमसोम : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको दामोदरकुण्ड पदमार्ग र थासाङको गुरुसाङ्वो गुफा जाने पदमार्ग २ वटा झोलुंगे पुलको बुधबार डीपीआर सर्वे गरिएको छ। 

सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजनका प्राविधिक इन्जिनियर लगायतको टोली उक्त स्थानमा पुगेर २ झोलुंगे पुलको डीपीआर सर्वे गरिएको हो।

प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचन, पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा ब्रिज डिभिजनको प्राविधिक टोली मुस्ताङ आएको हो। पुल डीपीआर सर्वेका लागि काठमाडौंबाट प्रभुको हेली मार्फत प्रतिनिधि सभा सदस्य भट्टचनसहित डिभिजनका इन्जिनियर प्रवेश रेग्मी र  इन्जिनियर गोपाल बहादुर थापा मुस्ताङ आएका थिए।

ब्रिज डिभिजनको प्राविधिक टोली मुस्ताङको उच्चस्थानमा रहेको मुस्ताङको पवित्र धार्मिक स्थल दामोदरकुण्ड जाने पदमार्ग सडकमा पुल सर्वे गर्न हेली मार्फत त्यहाँ पुगे। उनीहरूले उक्त पखमार्गको भर्सा खोलामा झोलुंगे पुलको डीपीआर सर्वे गरेका हुन्। दामोदर कुण्ड तीर्थ यात्राका लागि त्यस पदमार्गको भर्सा खोलामा झोलुंगे पुल स्थापना भएमा करिब ४ घण्टाको पैदलयात्रा दूरी छोट्टिन जनाइएको छ। 

दामोदरकुण्डको भर्सा खोला समुन्द्री सतहदेखि करिब ५ हजार १०७ मिटरको अग्लो उचाइमा रहेको र त्यहाँ पुल निर्माणका लागि प्रारम्भिक गृहकार्य भइरहेकाले डीपीआर सर्वे अघि बढाइएको सस्पेन्स ब्रिज डिभिजनका इन्जिनियर प्रवेश रेग्मीले जानकारी दिए। ‘यो सर्वे र डीपीआर दुवै हो, डीपीआर फाईनल भएपछि योजना छनौटका लागि अघि बढ्छ, डिभिजन ई रेग्मीले भने, आगामी आर्थिक वर्ष पुलको योजना रातो किताबमा समावेश हुने र त्यसपछि अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेपछि पुल निर्माणको ठेक्का अघि बढ्ने छ।’ 

दामोदरकुण्ड पदमार्गको भर्सा खोलामा करिव ४६० मिटर लामो पुलको आवश्यकता पर्ने इन्जिनियर रेग्मीले बताए। उनले समुन्द्री सतहको उच्च उचाइको क्षेत्रमा पुल निर्माणका लागि डीपीआर सर्वे भएको जनाए। ‘डीपीआर सर्वे भयो, यसको डीपीआर बन्न ३ महिना लाग्छ, उनले भने, त्यसपछि योजना अघि बढाउन सहज हुन्छ, हामीले यस योजनालाई निकै महत्वका साथ लिएका छौं।

भगवान विष्णुको वासस्थानका रुपमा रहेको प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड जोमसोम-कोरला राजमार्ग हुँदै चराङ पुगेर तल झर्नुपर्छ। यारा हुँदै पैदलमार्ग हुँदै दामोदरकुण्ड पुग्न करिब ९ घण्टाको समय लाग्छ। भर्सा खोलामा पुल नहुँदा दामोदकुण्ड जाने धार्मिक पदयात्री उकालो र ओरोलो झर्नु पर्ने हुँदा  पैदलयात्राको दूरी लम्बिएको हो। पुल बनेपछि ९ घण्टाको पदयात्रा ५ घण्टामा पुरा गर्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे। उनले दामोदकुण्ड जाने भर्सा खोलामा झोलुंगे पुलको आवश्यकता रहेको सुनाए।

यसैगरी मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरिकोट-गुरुसाङ्वो जोड्ने अर्को एक झोलुंगे पुलको पनि डीपीआर सर्वे भएको प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनले जानकारी दिए। उनका अनुसार गुरु पद्यसम्भव ध्यान गरेर बसेको धार्मिक गुफा जाने पदयात्रीको सहजताका लागि त्यहाँ पुल निर्माणको प्रक्रिया अघि बढेको बताए।  उनका अनुसार सस्पेन्स ब्रिज टोलीका प्राविधिक इन्जिनियरले त्यसस्थानमा पुगेर डीपीआर सर्वे गरेका हुन्।

थासाङको नाउरिकोट-गुरुसाङ्वो गुफा जोड्ने पुल निर्माणको डीपीआरका लागि प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनसहित पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र थासाङ-२ का वडाध्यक्ष गौतम शेरचनसहित प्राविधिक इन्जिनियरहरूको टोली त्यस क्षेत्रमा पुगेको थियो। त्यहाँको प्रारम्भिक सर्वेमा करिब ४७० मिटर लामो झोलुंगे पुलको आवश्यकता महसुस गरिएको छ।
 
थासाङको नाउरिकोट-गुरुसाङ्वो जोड्ने झोलुंगे पुल निर्माणका लागि यसअघि नै रातो किताबमा योजना समावेश भइसकेको छ। डीपीआर फाइनल भएपछि पुल निर्माणका लागि बजेट सुनिश्चिताको प्रक्रिया अघि बढ्ने सस्पेन्सन ब्रिज डिभिजनले बताएको छ। डिभिजन टोलीले दुवै स्थानमा पुल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी प्रक्रिया अघि बढाइने बताइएको छ। नाउरिकोट-गुरुसाङ्वो जोड्ने झोलुङ पुल निर्माण भएमा करिब आधा घण्टाको पैदल उकालो दूरी छोट्टिने जनाइएको छ।

मुस्ताङको दामोदरकुण्ड र थासाङमा झोलुंगे पुलको डीपीआर सर्वेका लागि प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनको हेली प्रयोग गरिएको थियो। प्रतिनिधि सभा सदस्य भट्टचनले आफ्नो जन्मस्थान मुस्ताङमै भएको र यहाँको विकासमा आफ्नो सक्दो सहयोग रहने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.