बाह्रैमास डेंगु !
डेंगु रोग संक्रमणको नियन्त्रणका लागि सरकार संवेदनशील हुनुपर्छ ।
मुलुकमा डेंगु संक्रमण ह्वात्तै बढेको छ । नेपालमा पहिलोपटक डेंगु संक्रमण २००४ सालमा देखिएको थियो । २००६ मा नेपालमा संक्रमण फैलिएको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार डेंगुबाट १ सय २८ देशमा करिब ३ अर्ब ९७ करोड जनसंख्या जोखिममा छन् ।
हरेक वर्ष ५ करोडदेखि १० करोडभन्दा बढी डेंगु संक्रमण हुन्छ । पाँच लाख बिरामीमा कडा प्रकृतिको डेंगु हुने गर्दछ । डेंगु रोगले वार्षिक २२ हजार बालबालिका तथा २४ हजार मानिसको मृत्यु हुने गर्दछ । विगतको दशकमा यस रोगबाट एसियाली मुलुकका देशहरू बढी प्रभावित छन् । नेपालमा डेंगु भेक्टर बढ्नको लागि सहयोग पुर्याउने फोहोरमैलाको अव्यवस्थापन, अव्यवस्थित बसोबास, अरिवल वर्षा, वातावरण विनाश आदि हुन् ।
एडिस एजिप्टी नाम गरेको लामुखुट्टेको पोथी प्रजाति डेंगु सार्ने मुख्य माध्यम हो । दिनमा मानिसको रगत चुसेर बाँच्ने यो प्रजातिले मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने हुन्छ । प्रायः बिहान ७ देखि १० र साँझ ३ देखि ५ बजेसम्म बढी सक्रिय हुन्छ । हुर्कन ५ मि.लि. जमेको पानी र तापक्रम १६–४० डिग्री भए पुग्छ । लामुखट्टे १० डिग्रीभन्दा कम र ४० डिग्रीभन्दा बढी तापक्रममा मर्ने भएकोले तराईको तापक्रमको फरकताले तथा पहाडमा बढेको गर्मीले कुनै मौसममा लामखट्टे निर्मूल हुने अवस्था देखिँदैन ।
यस प्रजातिले टोकेपछि मानिसको रगतमा भाइरस जम्मा गर्दछ र शरीरमा फैलिन्छ । साथै रगत चुसिसकेपछि सफा पानी तथा भाँडावर्तनमा अन्डा पार्दछ । एक पटकमा यसले अनगिन्ती अन्डा पार्दछ । यसका अन्डा निर्जलीकरण प्रतिरोधात्मक भएको यस प्रजातिको संख्या तीव्र गतिमा बढ्छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लाममुट्टेमा भाइरस प्रवेश गरी संक्रमण बढ्छ । मानिसमा एक पटक संक्रमण भएपछि सो प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ तसर्थ चार प्रजातिको भाइरसले एक व्यक्तिमा चारपटक संक्रमण गर्न सक्छ ।
डेंगु लागेको २ देखि ७ दिनमा यसको लक्षणहरू देखा पर्दछ । मांसपेशी र हड्डीमा निकै पीडा हुने भएकोले बोलीचालीको भाषामा ‘हाडतोड ज्वरो’ पनि भनिन्छ । उच्च ज्वरो प्रमुख लक्षण हो । टाउको दुख्ने, मांसापेशी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, बान्ता आउने, ग्रन्थी सुन्निने, पेट दुख्ने, गिँजाबाट रगत आउने, छातीमा पानी जम्ने, छटपटी हुने आदि हुन्छ । रगत धेरै खेर गएमा कलेजो तथा अन्य अंगले काम नगरी हृदयघात भई बिरामीको मृत्युसमेत हुन सक्छ । त्यसैले यस रोगको रोकथाम गर्नु अति आवश्यक छ । यसको लागि लामुखुट्टेको प्रजननमा रोकथाम तथा घर वरपर बसोबास हुन नदिनु पर्दछ । यसको लागि फोहोरमैला तथा फोहोर पानीको आवश्यक व्यवस्थापन गरी वातावरण सफा राख्नु पर्दछ ।
कीटनाशक प्रयोग गरेको झुल प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामुखट्टे बसोबास गर्ने स्थानमा कीटनाशक औषधि छर्कने, पानी जम्न नदिने, आफ्नो सुरक्षाको लागि रिपेलेन्टजस्तै लोसनहरूको प्रयोग गर्ने, यो रोग फैलाउने लामखुट्टे बिहानदेखि बेलुका धेरै टोक्ने भएको होसियार हुने आदि कार्य गर्नुु पर्दछ । डेंगुका लक्षण देखा पर्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ । साथै डेंगु प्रकोप नियन्त्रण गर्न स्थानीय सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारण तथा आम जनतालाई डेंगुबाट बचाउन अति आवश्यक छ ।
डेंगुजस्ता विभिन्न महामारी तथा रोगको नियन्त्रणको लागि सरकार संवेदनशील हुनुपर्दछ । यसको लागि विश्वविद्यालय, क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संस्था, सञ्चार माध्यम आदिलाई बढी क्रियाशील बनाउन आवश्यक छ । साथै स्वास्थ्य संस्था नीति, विधान र मापदण्डअनुसार चल्नु पर्दछ । आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनु पर्दछ । स्वास्थ्य संस्था सेवाग्राहीको पहुँचमा हुनुपर्ने, औषधि, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनुपर्दछ । आम नागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्दछ ।
निःशुल्क औषधि बेलैमा उपलब्ध हुनुपर्ने, सो औषधि कति प्रकारको पाइन्छ सबै नागरिकलाई थाहा हुनुपर्ने, कमसेकम आवश्यक मापदण्डअनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनु पर्दछ । स्वास्थ्य संस्था एवं विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अति आवश्यक छ । यसो भएमा डेंगुजस्ता विभिन्न महामारीहरूको नियन्त्रणमा सहयोग पुग्छ । यसको लागि सरकारको अभिभावकीय भूमिका महत्त्वपूर्ण हुन्छ ।
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित छ ।
सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नु जरुरी छ । स्वास्थ्य बिमा प्रणालीलाई पुनर्संरचना गरी सबल बनाउने, समग्र स्वास्थ्य प्रणालीको अत्याधुनिक र उच्चतम् प्रविधिकरण गर्नुपर्ने देखिन्छ । गुणस्तरीय, भरपर्दाे तथा एकीकृत स्वस्थ्य प्रणालीको विकास गर्ने, स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने, बहुक्षेत्रीय र बहुपक्षीय अवधारणा अवलम्बन गर्ने, जनसांख्यिक लाभांशको अधिकतम उपयोग गर्ने, अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित स्वास्थ्य व्यवस्थापन प्रणालीको विकास गर्नु पर्ने अपरिहार्यता छ । यसका साथै औषधि, औषधिजन्य सामाग्री र खोपको उत्पादनमा आत्मनिर्भर हुने, स्वास्थ्य क्षेत्रमा सुशासन तथा सामाजिक न्याय कायम गर्ने, स्वाथ्य प्रणालीको सुदृढीकरणको लागि लगानी अभिवृद्धि गर्ने, विद्यमान सञ्चालनमा रहेका कार्यक्रमहरू पुनः मूल्यांकन र परिमार्जन गर्ने रणनीति रहेको पाइन्छ ।
संविधानले व्यवस्था गरेको संघीय स्वरूप, भौगोलिक एवं जनसंख्याको अनुपात अनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नुपर्छ । गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सवैको लागि स्वास्थ्य बिमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु जरुरी छ । भूकम्पवाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु साथै डेंगुजस्ता महामारीको प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो ।