तास खेल्दै गरेका ४ जना पक्राउ
विराटनगर : मोरङको सुनवर्षीबाट तास खेल्दै गरेका ४ जनालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ। तासको खालबाट १ लाख ८२ हजार रुपैयाँ बरामद भएको छ।
पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–९ भेडवाथानका ५३ वर्षीय कहरसिंह राजवंशी, ४७ वर्षीय सुरेशप्रसाद साह, सुनवर्षी–६ का ३७ वर्षीय नित्यानन्द सुतिहार र रंगेली नगरपालिका–७ का ४६ वर्षीय उमेश पौदार रहेका छन्। कहरसिंह राजवंशीको घरको कोठामा तास खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले साँझ ५:३० बजेतिर तासको खालमा छापा हानेको थियो। खालबाट ३ बुक ताससहित १ लाख ८२ हजार रुपैयाँ नगद बरामद भएको जोशीले बताए।
पक्राउ परेकाहरुलाई रंगेली प्रहरीको हिरासतमा राखिएको छ। उनीहरुविरुद्ध शुक्रबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ।