नेपालको प्रतिद्वन्द्वी भारत

नेपालको प्रतिद्वन्द्वी भारत
सुन्नुहोस्

काठमाडौं : घरेलु टोली नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा चिरपरिचित भारतलाई प्रतिद्वन्द्वी पाएको छ। नेपाल समूह ‘बी’को विजेता बन्दा भारत समूह ‘ए’को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। फाइनल प्रवेशका लागि नेपाल र भारतले आइतबार प्रतिस्पर्धा गर्ने छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको समूह ‘बी’को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हरायो। यो नतिजासँगै नेपाल समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। नेपालले लगातार सातौं संस्करणमा सेमिफाइनलमा स्थान बनाएको हो। पाँच पटकको उपविजेता नेपालले यसअघिका सबै संस्करणमा अन्तिम चारसम्मको यात्रा तय गरेको थियो। 

नेपालसँग फराकिलो हार बेहोरेको श्रीलंका भने समूह चरणबाटै घर फर्किएको छ। नेपालले तीन खेलमा सात अंक जोड्यो। पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले पराजित गरेको थियो। समूह ‘बी’बाट भुटानले उपविजेताका रुपमा अन्तिम चारमा स्थान सुरक्षित ग¥यो। भुटान गोल भिन्नतामा नेपालभन्दा पछि पर्‍यो। तीन अंक जोडेको श्रीलंका र अंकविहीन माल्दिभ्स भने समूह चरणबाटै घर फर्किए। 

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले श्रीलंकालाई सुरुदेखि नै दबाबमा राखेको थियो। नेपालले लगातार गोलको अवसर बनाइरहँदा श्रीलंकाले भने एकाध पटक मात्रै बललाई मध्यभाग कटाएको थियो। नेपालले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा भने दुई गोल मात्रै थपेको थियो। नेपाललाई फराकिलो जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै सावित्रा भण्डारी, सविता रानामगर, अमिसा कार्की र रश्मीकुमारी घिसिङले एक-एक गोल गरे।

खेलको आठौं मिनेटमा सविताको गोलमार्फत नेपालले अग्रता लिएको थियो। सावित्रा भण्डारीले उपलब्ध गराएको पासलाई सविताले उत्कृष्ट गोल गरेकी थिइन्। १२औं मिनेटमा नेपालले अग्रता दोब्बर पारेको थियो। सावित्राको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो। त्यसलगत्तै अमिसा कार्कीले उपलब्ध गराएको बललाई रेखा पौडेलले पोस्ट्को दिशा दिलाएकी थिइन्। ३६औं मिनेटमा नेपालले ४–० को अग्रता बनायो। रेखा पौडेलले श्रीलंकाकी गोलरक्षक आरजी विरासिंघालाई झुक्काउँदै गोल गरेकी थिइन्।

पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल मात्रै थप्न सक्यो। ४६औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाइन्। इन्जुरी समयमा अनिता बस्नेतको कर्नरमा रश्मीकुमारी घिसिङले हेड गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन्।  यसैगरी बिहीबार नै भएको अर्को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो। एकपक्षीय खेलमा भुटानलाई जित दिलाउन देकी लाजोमले ह्याट्रिकसहित पाँच गोल गरिन्। यस्तै पेमा छोदेन छिरिङ र छिरिङ याङदेनले दुई÷दुई तथा देमा नामग्याल, देकी याङदेन, छिरिङ लादेन र सोनाम छोदेनले एक÷एक गोलको योगदान गरे। भुटानले फाइनल प्रवेशका लागि साविक विजेता बंगलादेशको सामना गर्नेछ। बंगलादेशले समूह ‘ए’को विजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको हो।

साफ च्याम्पियनसिप नेपालले आयोजना गरेको तेस्रो पटक हो। यसअघि सन् २०१९ र २०२२ को संस्करण पनि नेपालले नै आयोजना गरेको थियो। सन् २०२२ को संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो। साफ च्याम्पियनसिपको सबैभन्दा सफल राष्ट्र भारत हो। भारतले अहिलेसम्म पाँच पटक उपाधि जितिसकेको छ। यस्तै बंगलादेशले एक पटक उपाधि चुमेको छ। पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणमा फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बन्दै आएको छ। चार पटक भारतसँग पराजय बेहोरेको नेपाल अघिल्लो संस्करणमा बंगलादेशसँग घरेलु मैदानमै स्तब्ध बनेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.