‘जलवायु अनुकूलता, पहिलो प्राथमिकता’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु अनुकूलता र दिगोपनको विषयमा सरकार संवेदनशील रहेको बताएका छन्। नेपाली सेनाले आयोजना गरेको यूएन डे विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभाव, गरिबी तथा सुरक्षा संवेदनशीलताको विषय सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।
संयुक्त राष्ट्रसंघको स्थापना दिवस ‘यूएन डे ’को अवसरमा नेपाली सेनाले बिहीबार सैनिक मुख्यालयमा भएको विशेष कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले विभिन्न मार्चपास गरेका थिए। नेपाली सेनाद्वारा झाँकी प्रदर्शन, तेक्वान्दो खेल प्रदर्शन तथा फ्लाइ पास, ब्यान्ड प्रदर्शन गरेको थियो।
नेपालले सदैव संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान गर्दै विश्व शान्तिका लागि गरेको पहलहरूमा सहकार्य गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले भविष्यमा पनि नेपालले विश्व शान्ति स्थापनार्थ कार्यमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
उनले जलवायु परिवर्तन, गरिबी तथा सुरक्षा संवेदनशीलताले सिर्जित विश्व परिस्थितिमा समाधानका परिस्थितिहरूसमेत बहुआयामिक रहेका बताए।
प्रधानसेनापति अशोकराज सिग्देलले नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको विभिन्न कार्यक्रममा सहकार्य गर्दै आएको जानकारी दिए।