बर्दिबासमा मिनी म्याराथन
बर्दिबास : महोत्तरीको बर्दिबासमा पहिलो पटक मिनी म्याराथन प्रतियोगिता आयोजना भएको छ। बिहीबार विश्व पोलियो दिवसका अवसरमा नौ किलोमिटर दूरीको मिनी म्याराथन दौड प्रतियोगितामा आयोजना गरिएको हो। प्रतियोगितामा महिला र पुरुष गरी ९५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा सिन्धुलीको दूधौली नगरपालिका–१२ का बोधराज भट्टराईले प्रथम स्थान हासिल गरे। बर्दिबास नगरपालिका–१३ का रोशन किङरिङ दोस्रो र बर्दिबास नगरपालिका–४ का अमृत तेस्रो भए।
पोलियोप्रति जनचेतना फैलाउने उद्देश्यले भएको मिनि म्याराथनमा भट्टराईले ३३ मिनेटमा दूरी तय गर्दा किङरिङले ३३ मिनेट २३ सेकेन्ड र बस्नेतले ३६ मिनेटमा दूरी पार गरे। प्रतियोगिताको विजेताले १० हजार, दोस्रोले सात हजार र तेस्रोले पाँच हजार नगद पुरस्कार प्राप्त गरे। उनीहरूलाई प्रदेशसभा सदस्य एवं मधेस प्रदेशका पूर्वराज्यमन्त्री शारदादेवी थापाले पुरस्कार प्रदान गरिन्।