कृषिमा यान्त्रिकीकरण, उत्पादनमा वृद्धि

कृषिमा यान्त्रिकीकरण, उत्पादनमा वृद्धि
सुन्नुहोस्

टीकापुर : कैलालीका अधिकांश खेतमा किसानहरू धानबाली भित्र्याउन व्यस्त छन्। केही वर्ष पहिलेसम्म हातैले महिना दिनसम्म धान काट्न व्यस्त रहने किसानहरू कृषिमा भित्रिएका यान्त्रिक प्रविधिको प्रयोगले उत्पादन लागत घटाइरहेका छन्। 

जिल्लामा यतिबेला धान काट्ने कम्पाइन मेसिन, पावर टिलर रिपर मेसिनको प्रयोगले धान काटिरहेका छन्। पाकेको धान कम्पाइन मेसिनले झारेर जम्मा गर्दछ भने पावर टिलर रिपरले सजिलै काट्न सकिन्छ। 

कैलालीको जोशीपुर गाउँपालिका–१ किसान हरिप्रसाद चौधरी वर्षौंदेखि खेती किसानी गर्दै आइरहेका छन्। झण्डै ४ बिघा जमिनमा खेती गर्दै आएको १० जनाको चौधरीको परिवारलाई धान काट्न र स्याहार्न महिना दिन लाग्थ्यो। खेत जोत्नका लागि वर्षैभरि राँगा, गोरु पाल्नुपथ्र्यो।

चार वर्षअघि ट्याक्टर खरिद गरेर उनी यान्त्रिक खेतीमा लागेका छन्। उनको घरमा पावर टिलर रिपर छ, गाउँकै कम्पाइन मेसिनले उनले धान र गहुँ केही घण्टामै घर भित्र्याउँछन्। ‘धान रोप्ने मेसिन आइसक्यो, खेतबाटै धान र गहुँ काटेर सीधै दाना जम्मा गर्ने कम्पाइन हार्वेट्स मेसिन आएपछि चार बिघाको उत्पादन तीन घण्टामै घर भित्र्याइरहेका छौं,’ चौधरीले भने, ‘धान काट्न मजदुर खोज्नुपर्ने, महँगो शुल्क तिर्नुपर्ने, घर परिवार कसैलाई महिना दिनसम्म फुर्सदै नै हुन्थेन, अहिले छिटो र सजिलै भित्र्याइरहेका छौं, यसले हाम्रो लागत पनि कम भएको छ।’ 

लम्कीचुहा नगरपालिका– ४ बलियाका तपेन्द्र रावलको ६ बिघा जग्गा छ। धान लगाउने मान्छे नभेटिने, खर्च बढी हुने जस्ता समस्या भएपछि खेती अधियाँ (बटैया) मा दिँदै आएका उनी मेसिनको प्रयोगबाट खेती हुन थालेपछि आफैं खेती गरिरहेका छन्। ‘मेसिनको प्रयोगले किसानको समय र खर्च दुवै बचत भएपछि गाउँका अधिकांश किसान मेसिनको प्रयोग गर्न थालेका छन्,’ यान्त्रिक कृषिबारे उनले भने, ‘एक बिघा जग्गाको गहुँ काट्न, दाना बनाउन कम्पाइन मेसिनले ४५ मिनेट लाग्छ यसले समय र लागत दुवै बचत भएको छ।’ 

जिल्लाको बर्दगोरिया गाउँपालिका– २ बौनियाँका किसान एकराज बुढाले दुई वर्षअघि ४५ लाख रुपैयाँ खर्चेर धान गहुँ काट्ने कम्पाइन मेसिन खरिद गरे। यो सिजनमा उनको मेसिनले तीन सय बिघा धान काटेको छ। प्रतिबिघा साढे ७ हजार रुपैयाँमा कम्पाइन मेसिनको प्रयोगले खेतबाटै धान गहुँको दाना भिœयाउन सकिने भएकाले मेसिन खरिद गरेको उनले सुनाए। ‘मेसिनको प्रयोगले समय र खर्च दुवै बचत हुन्छ,’ वर्षौंदेखि खेती गर्दै आएका उनले भने, ‘यस्ता मेसिनहरूको प्रयोगले कृषिलाई व्यावसायिक बनाउन मद्दत पुग्छ।’ धान गहुँ काट्नमात्र होइन, खेत जोत्न र रोप्नसमेत कैलालीका किसानले आधुनिक यन्त्र उपकरणहरू भित्र्याइरहेका छन्। 

टीकापुर नगरपालिका– ७ सत्तीस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले धान र गहुँ काट्ने कम्पाइन मेसिन भित्र्याएपछि त्यहाँका किसानको उत्पादन लागत कम भएको छ। सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार कम्पाइन मेसिनले धान काट्न प्रतिबिघा ७ हजार ५ रुपैयाँ लागत लाग्ने बताउँछन्। ‘मान्छेले काट्ने हो भने ज्यालादारी दिन, धानको पुला बाँध्न, थे्रसिङ गर्न प्रतिबिघा २० हजार बढी लाग्छ,’ व्यावस्थापक चौधरीले भने, ‘एक डेढ घण्टामै खेतको धान थोरै लागतमा घरमै पु¥याउन सकिन्छ, यसले लागतको ७५ प्रतिशतसम्म कम गरेको छ।’

यान्त्रिक मेसिनको प्रयोगले उत्पादन लागत कममात्रै नभई ट्याक्टर र पावर टिलरले जोत्दा धान र गहुँको उत्पादनसमेत वृद्धि भएको किसानहरू बताउँछन्। कृषिमा भित्रिएको यान्त्रिकीकरणले गोरुले खेत जोत्ने, रोपाहारले रोप्ने र धान दाउनी गर्ने परम्परागत प्रविधि भने विस्थापित हुँदै गएको छ। 

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा ६७ हजार ४ सय ३७ हेक्टरमा यस वर्ष धान खेती भएको छ। जिल्लाका अधिकांश किसानसँग पावर टेलर, ट्याक्टरलगायतका उपकरण रहेका छन्। सहकारीहरूले धान र गहुँ काट्न प्रयोग हुने कम्पाइन मेसिनहरू भिœयाइरहेका छन्। 

कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले स्थानीय तह, ज्ञान केन्द्र, प्रदेश सरकार र रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यान्वयन इकाइले किसानलाई यान्त्रिक मेसिनहरू उपलब्ध गराउँदै आएकाले पनि कैलालीमा यान्त्रिक खेती भइरहेको बताए। ‘ज्ञान केन्द्र, आयोजना र स्थानीय तहहरूले समेत कृषि यन्त्रमा अनुदानमा दिइरहेका छन्, अधिकांश किसानहरूसँग पावर टिलर, रिपरहरू छन्,’ अधिकृत चौधरीले भने ‘उत्पादन लागत कम हुने, जोत्न सजिलो हुने, अन्नबाली भिœयाउन सहज हुने भएकाले यसप्रति आकर्षण बढ्दै गइरहेको छ।’

मेसिनले खेत जोत्दा धान, गहुँ बालीको उत्पादन वृद्धिमा मद्दत पुगिरहेको अधिकृत चौधरीले बताए। ‘गत वर्ष कैलालीमा प्रतिहेक्टर ४.७१ टन धान उत्पादन भएको थियो, यो अघिल्ला वर्षहरूको तुलनामा वृद्धि भएको देखिन्छ,’ चौधरीले भने, ‘यसवर्ष समेत धान उत्पादन बढ्ने अनुमान गरेका छौं, जिल्लाका ११ वटै पालिकामा कोरकटिङ चलिरहेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.