गोपाल धर्मशालाको आम्दानीमा विदेशी ट्रस्टको रजाइँ
जनकपुरधाम : मधेस प्रदेशको राजधानी जनकपुरको केन्द्रमा छ– रामचौक। जहाँ एक सय वर्ष पुरानो गोपाल धर्मशाला छ। वार्षिक लाखौं भारतीय धार्मिक पर्यटकले बास बस्ने उक्त धर्मशालाको आम्दानी जति एक भारतीय ट्रस्टले लिइरहेको छ। तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त धर्मशालाको आम्दानी नेपाल सरकार वा मातहतका कुनै पनि निकायले ‘छुन’ पनि पाउँदैनन्। वर्षाैदेखि भारतीय ट्रस्ट (नाथानी चैरिटेवल) को रजाइँ छ।
गोपाल धर्मशालामा वार्षिक तीन लाख बढी भारतीय पर्यटकहरू बास बस्छन्। त्यसबापत धर्मशालाले दैनिक शुल्क उठाउँछ। तर, त्यसको एक प्रतिशत रकमसमेत नेपाल सरकार वा मातहतका निकायले पाउँदैनन्। त्यतिमात्र होइन, धर्मशालाकै जग्गामा बनेका पसलबाट समेत ट्रस्टले मासिक भाडा उठाउँछ, तर सबै रकम ट्रस्टले नै लैजान्छ। जनकपुर सहरको मुख्य भागको अर्बौंको सम्पत्तिमाथि सय वर्षदेखि भारतीय ट्रस्टले रजाइँ गरिरहे पनि सरकारी निकाय मौन छन। अर्कोतर्फ नेपाल सरकारका कुनै पनि निकायको स्वामित्व नहुँदा ‘अतिक्रमणकारी’ ले समेत धर्मशालाको जग्गा मिच्न थालेका छन्।
कसरी बन्यो धर्मशाला ?
विक्रम संवत् १९८३ मा जनकपुरको मुख्य बजारमा तीन बिघा क्षेत्रफलमा ५ लाख ५५ हजार भारतीय रुपैयाँको लगानीमा गोपाल धर्मशाला बनाइयो। जनकपुर घुम्न आउने भारतीय भक्तजन र पर्यटकलाई लक्षित गरेर धर्मशाला बनाइएको थियो। धार्मिक आस्था र विश्वासका कारण भारतको कलकत्ताका दुदवेबाला परिवारका रायबहादुर बलदेव दास रामेश्वर नथानीले धर्मशाला बनाएका थिए। पछि, उनकै परिवारको नाथानी चैरिटेवल ट्रस्टले धर्मशालाको स्वामित्व लियो। जबकि धर्मशाला स्थापनाका लागि गुठी संस्थानको स्वामित्वमा रहेको गुठी तैनाथी जनकपुरधाम वडा नम्बर ४ ले उक्त जमिन उपलब्ध गराएको थियो। धर्मशालाका लागि सिट नं. १३९५—०५ कि.न.४६ क्षेत्रफल ०—१३—० जग्गा दिइएको थियो।
अर्बौं मूल्य पर्ने जग्गामा बनेको धर्मशाला निर्माण भएको ९८ वर्ष बितिसक्यो। सुरुदेखि नै सम्पूर्ण आम्दानी भारतीय नथानी ट्रस्टले लग्ने गरेको छ। धर्मशालाको आर्थिक पक्षको पारदर्शितासमेत छैन। धार्मिक प्रयोजनका लागि बनाइएको उक्त धर्मशालाको आम्दानी दाताले नै लिने भनेर धर्मशालाको जग्गा प्राप्त गरेका सन्त ब्रह्मचारी दासद्वारा १२ माघ १९८२ मा लेखिएको पत्रमा पनि कहीँ कतै उल्लेख छैन।
नथानी ट्रस्टले धर्मशालाको रेखदेख गर्न र व्यवस्थापनको जिम्मेवारी राजकुमार झालाई दिएको छ। झाका बुवा काशीनाथ झा र बाजे चन्दे्रश्वर झा भारतीय नागरिक थिए। राजकुमारले भने नेपाली नागरिकता प्राप्त गरिसकेका छन्। झामार्फत धर्मशालाको सबै आम्दानी ट्रस्टमा जाने गरेको भए पनि यसको आयव्यय के कति हुन्छ भन्ने हालसम्म कहीँ कतै सार्वजनिक छैन।
जर्जर अवस्थामा धर्मशाला
गोपाल धर्मशाला निर्माण भएको सय वर्ष पुग्नै लाग्यो। तर, मर्मत सम्भारको अभावमा भौतिक संरचना जीर्ण बन्दै गएका छन्। नथानी ट्रस्ट र धर्मशालाका प्रबन्धक झाले आम्दानी लिने गरे पनि मर्मत सम्भार र संरक्षणतिर फिटिक्कै ध्यान दिएका छैनन्।
भुइँ तल्लामा १९ र माथिल्लो तल्लामा १० वटा गरी धर्मशालामा २९ वटा कोठा छन्। दुईवटा कोठालाई भण्डार घर बनाइएको छ। धर्मशालामा १८ वटा शौचालय छन् भने स्नानगृह र कार्यालय पनि छ। यसका अलावा धर्मशालाकै जग्गामा चारैतिर ६० भन्दा बढी पसल, सटर र टहराहरू बनाएर भाडामा लगाइएका छन्।
राजनीतिक पहुँचको भरमा धर्मशालाको जग्गा अतिक्रमण
कुनै बेला साधुसन्त र धार्मिक पर्यटकलाई बास बस्न सहज होस् भनेर पवित्र उद्देश्यसाथ निर्माण गरिएको गोपाल धर्मशाला अहिले चौतर्फी अतिक्रमणको सिकार बन्न पुगेको छ। धर्मशालाको प्रांगण र बाहिरी जग्गामा बाहिर पट्टीबाट ५४ वटा साना ठूला सटर बनाएर पसल सञ्चालन भइरहेका छन्। पसलेहरूले नै ‘भित्रभित्रै’ भौतिक संरचना बनाएर जग्गा अतिक्रमण गरिरहेका छन्। भित्रबाहिर गरेर ६० वटा भन्दा बढी पसलहरू धर्मशालाको जग्गामा निर्माण भएका छन्।
चौतर्फी अतिक्रमणबाट धर्मशालाको स्वरूप नै बिग्रन थालेको छ। जसका कारण जनकपुर सहरको केन्द्रमै रहेको धर्मशाला पत्ता लगाउन पनि पर्यटकलाई हम्मेहम्मे हुन्छ। ‘ १५ वर्ष अघिसम्म धर्मशालाको चारैतिर किल्लाजस्ता पर्खाल थिए। जुन निकै कलात्मक पनि थिए,’ जनकपुरका पुराना व्यापारी नेता जितेन्द्र साह भन्छन्, ‘अहिले ती सबै भत्काएर सटर र पसलहरू थापिएका छन्।’ राजनीति र शक्तिको पहुँचका आधारमा धर्मशालाको जग्गा अतिक्रमण गर्ने काम तीव्रताका साथ भइरहेको साह बताउँछन। ‘एकजनाले नै सात वटाभन्दा बढी पसल थापेर आफ्नो व्यापार चलाइरहेका छन्,’ पुराना व्यापारी साह भन्छन्, ‘यस्तो अतिक्रमणलाई रोक्ने हिम्मत कसैमा भएन। सम्बन्धित निकायहरू मूकदर्शक बनेका छन्। केही राजनीतिक दलका नेता र केही ठूलाबडा कहलाउनेहरूको भित्रैभित्र कमाइको धन्दा चलिरहेको छ।’
गोपाल धर्मशाला कार्यकारिणी समितिका सदस्यसमेत रहेका व्यापारी साह भन्छन्, ‘जुन बेला यो स्थापना भएको थियो, त्यसबेला भौतिक संरचना पनि पर्याप्त थिए होलान। सुविधा पनि राम्रै थियो होला। तर, अब यसलाई पुनर्निर्माण गरेर आधुनिक र सुविधासम्पन्न बनाउनुपर्ने जरुरी छ। अतिक्रमणबाट जोगाउन पनि यसको पुनर्निर्माण गर्नुपर्छ।’ बेलैमा धर्मशालाको व्यवस्थापनतिर ध्यान नदिइए अतिक्रमणकारीहरूले सबै जग्गा हडप्ने उनको भनाइ छ।
कार्यकारिणी समिति नै बेकामे
धर्मशाला व्यवस्थापनमाथि प्रश्न उठेपछि आठ वर्षअघि नथानी ट्रस्टले जनकपुरका केही व्यापारीलाई समेटेर धर्मशाला सञ्चालन गर्न कार्यकारिणी समिति गठन ग¥यो। तर, समितिको अध्यक्ष भने नथानी परिवारका योगेन्द्र कुमारी नथानी नै बने। उपाध्यक्षमा जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलाई राखियो। काठमाडौंका प्रकाश दुगड, जनकपुरका कौशलेन्द्रकुमार झा, जितेन्द्रप्रसाद साह, प्रमोद सिंहलाई सदस्य बनाइयो। प्रमुख पदाधिकारीमा भारत कोलकताका राजेश शर्मालाई राखिएको थियो। तर, कोरोना महामारीको बेला शर्माको निधन भयो। पद खाली नै राखियो। त्यसबेला काठमाडौंका प्रेम लस्करी सल्लाहकार बनाइएका थिए। ८ सदस्यीय गोपाल धर्मशाला कार्यकारिणी समिति बने पनि समितिले धर्मशाला व्यवस्थापनको लागि कुनै काम गरेन। कार्यकारिणी समितिको आठ वर्षमा एउटा पनि बैठक बसेको छैन।
‘मानव सेवा र धार्मिक पर्यटकको सुविधाका लागि सञ्चालन गरिएकाले धर्मशालाबाट खासै आम्दानी छैन,’ धर्मशालाका कार्यवाहक अध्यक्ष निर्मलकुमार चौधरी भन्छन्, ‘थोर बहुत आम्दानी हुन्छ त्यो सबै दाताले लगिहाल्छन्।’ धर्मशाला सञ्चालनका लागि बैंक खाता पनि सञ्चालनमा रहेको र हरहिसाब पनि राखिएको चौधरीको दाबी छ। ‘धर्मशालाको चारैतिर बनाइएका सटरका व्यापारीबाट न्यूनतम भाडा लिने गरिएको छ। कतिपयले समयमा भाडासमेत तिर्दैनन्,’ उनि भन्छन,‘ कसै कसैले त पछिल्लो १० वर्षदेखि एक रुपैयाँ पनि भाडा बुझाएका छैनन्। ’
आधुनिक बनाउने योजना अलपत्र
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले धर्मशालालाई आधुनिक बनाउने योजना अघि सारेको छ। तर, सहयोगको अभावमा उक्त योजना अलपत्र परेको छ। जनकपुरको मठमन्दिर तथा धार्मिक स्थलहरूको संरक्षण संवद्र्धन तथा व्यवस्थापनको लागि परिषद्ले गर्दै आएको छ।
परिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गोपाल धर्मशालालाई रामायण सर्किटअन्तर्गत रामसीता सम्मेलन केन्द्र र मिथिला संग्रहालयको रूपमा स्थापना गर्न अवधारणा पत्र पेस गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाख २८ गते जनकपुर भ्रमणको क्रममा रामायण सर्किट स्थापनाका लागि भारत सरकारबाट एक सय करोड भारतीय रुपैयाँ (१६० करोड नेपाली) सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका थिए। त्यही रकमबाट आधुनिक धर्मशाला बनाउने परिषदको प्रस्ताव छ।
राम सीता सम्मेलन केन्द्र र मिथिला संग्रहालय ‘ईओआई’को पत्रलाई अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को प्रस्ताव भारतीय दूतावासमा समेत पठाइएको थियो। भारतीय दूतावासले प्रस्तावित परियोजना अगाडि बढाउन प्रस्तावित जग्गा उपलब्ध गराउन अनुरोधसमेत गरेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह बताउँछन्। ‘भारतीय दूतावासबाट जग्गा छनोट गर्न दुई वर्षअघि नै एउटा टोली पठाएको थियो,’ साह भन्छन्, ‘उक्त टोलीलाई हामीले जनकपुर क्षेत्रका थुप्रै सार्वजनिक जग्गाहरू निरीक्षण, अवलोकन गरायौं। तर, सबै हेरेपछि सो टोलीले धनुष सागरको दक्षिण किनारमा र रामसागरको अगाडी अवस्थित गोपाल धर्मशाला रहेको जग्गालाई उपयुक्तस्थल भनेर छनोट गरेको थियो।’ अध्यक्ष साहले धर्मशाला रहेको स्थान खाली नभएको र स्थानीयको अतिक्रमण नहटेका कारण प्रस्तावित योजना सुरु गर्न नसकिएको बताए। ‘जग्गा अतिक्रमण गरी बसेकाहरूको संरक्षण गर्ने राजनीतिक दलका केही नेताहरूको स्वार्थका कारण परियोजना नै अलपत्र परेको छ,’ साहले भने, ‘ धर्मशालाको भवन र संरचना जीर्ण भइसकेको हुँदा सार्वजनिक सुरक्षाका लागि पनि भत्काउन आवश्यक रहेको छ।’
मुख्य धर्मशाला भवनको वरपरको जग्गा अतिक्रमण गरी बनेका थोरै बासस्थानलाई खाली गराउनु जरुरी रहेको परिषद्का अध्यक्ष साह बताउँछन्। ‘सार्वजनिक जग्गालाई अतिक्रमण गरी कमाइ खाने भाँडो बनाएकाहरूकै कारण जनकपुरको विकास चाहेर पनि सम्भव हुन सकेको छैन्,’ साह भन्छन,‘ यदि परिषद्ले प्रस्ताव गरेको आयोजना लागू भयो भने त्यसले जनकपुरमा पर्यटकको संख्या वृद्धि भई यहाँको समृद्धिमा ठूलो टेवा पुग्नेछ। तर, यसका लागि सम्पूर्ण जनकपुरका विकास प्रेमीहरूको सहयोग र सहकार्य अपरिहार्य छ।’
परिषद्ले प्रस्ताव गरेको आयोजनामा जनकपुरमा एक रात बस्ने श्रीरामायण यात्रा पर्यटक रेलको क्षमताअनुसार एकै पटक ६०० भन्दा बढी पर्यटकको लागि आधुनिक सुविधासहितको आवास निर्माण गरिनेछ। स्थानीय धार्मिक पर्यटन प्रवद्र्धन गर्न परिवार बसोबासका लागि आफैं खाना पकाउने सुविधासहितको आर्थिक आवासको विकास, सामूहिक बसोबासको लागि सामूहिक स्वयं पकाउने भान्साको व्यवस्था गरिने योजना छ।
जनकपुरलाई धार्मिक पर्यटन प्रबद्र्धन गर्न जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास गर्न ऐतिहासिक प्रमाण र पौराणिक कथाहरू संरक्षण गर्न मिथिला संग्रहालयको विकास गर्ने योजनामा प्रस्ताव गरिएको छ। त्यसैगरी मिथिला संस्कृति, परम्पराको संरक्षण र प्रवद्र्धन गर्न मिथिला कला ग्यालेरी तथा तालिम केन्द्रको विकास गरी कार्यक्रम व्यवस्थापनको लागि एक हजार क्षमताको बहुउद्देश्यीय सम्मेलन हल निर्माण गर्ने योजनासमेत रहेको छ।
परिषद्ले प्रस्ताव गरेको आयोजनाअनुसार सञ्चालन र व्यवस्थापन योजना पनि बनाइएको छ। जसअन्तर्गत रामसीता सम्मेलन केन्द्रको समग्र व्यवस्थापनका लागि सात सदस्यीय व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव छ। व्यवस्थापन समिति राम सीता सम्मेलन केन्द्रको व्यवस्थापनको शीर्ष निकाय हुनेछ। प्रभावकारी व्यवस्थापनका लागि व्यवस्थापन समिति सदस्यको अख्तियार, कर्तव्य र दायित्व निर्धारण गरिनेछ। सेवा हायरिंग मोडलमा सञ्चालन हुने प्रस्ताव गरिएको छ। सबै व्यक्तिगत कम्पोनेन्टका लागि छुट्टै सेवा प्रदायक नियुक्त हुनेछन्। भाडा शुल्क व्यवस्थापन समितिले परिभाषित गर्नेछ। त्यसैगरी कम्प्लेक्सको सबै व्यवस्थापनका लागि व्यवस्थापन समितिलाई प्रशासनिक सहयोगका लागि पाँच जना कर्मचारी राख्ने अधिकार दिइने प्रस्ताव गरिएको छ।
त्यसैगरी परिषद्ले प्रस्ताव गरेको रामसीता सम्मेलन केन्द्रको संस्थागत संरचनामा सात सदस्यीय व्यवस्थापन समिति रहने परिकल्पना गरिएको छ जसले धर्मशाला, विवाहमण्डप, पसल, म्युजियम, सभागृह र सुरक्षाको लागि सेवा प्रदान गर्नेछ। यसको अध्यक्षमा गुठी संस्थानको अध्यक्षलाई नियुक्त गर्ने र सदस्य सचिवमा परिषद्का प्रमुख रहनेछन। पाँच सदस्यहरूमा स्वतन्त्र नागरिक समाजबाट दुईजना, जानकी मन्दिरका महन्थ, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख र प्रदेशका संस्कृति, पर्यटन, वातावरण तथा वन मन्त्रालयका सचिव रहने प्रस्ताव गरिएको छ।
के–कति हुन्छ आम्दानी ?
धर्मशालामा २ वटा खाट भएको र ४ जना सम्म बस्ने मिल्ने कोठाको भाडा दैनिक २ सय रुपैयाँ तोकिएको छ। ४ देखि ८ जनाको समूहलाई ४ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यसैगरी १० देखि १२ जनाको ५ सय र २० देखि २५ जनाको समूहले दैनिक १ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। खाट र सुत्ने विस्तारा भएको कोठाको चार्ज भने एक जनाको एक सय रुपैयाँ प्रतिदिन लिइन्छ। धर्मशालाको बरन्डामा रात्रि विश्राम ग¥यो भने पनि शुल्क तिर्नुपर्छ। प्रतिव्यक्ति ३० रुपैयाँको दरले बरन्डामा बस्नेबाट पनि रकम असुल गरिन्छ। विवाह वा अन्य धार्मिक प्रयोजनको लागि भुइँतलाका कोठा प्रयोग गर्नुपरे प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्छ।
त्यसैगरी सबै कोठा बुक गर्दा प्रतिदिन २२ हजार ५५० रुपैयाँ शुल्क तोकिएको छ। धर्मशालामा बास बस्न मात्र होइन, पर्यटकका बस र गाडीको पार्किङ शुल्क पनि तिर्नुपर्छ। बिहान सबेरदेखि १० बजेसम्म प्रतिबस १ हजार रुपैयाँ र १० बजेपछि आउने बसको साँझसम्मको सवारी पार्किङबापत प्रतिबस वा गाडी ५ सय रुपैयाँ तिर्नुपर्छ। भारतीय पर्यटकले भारतीय रुपैयाँमा सबै शुल्क तिर्नुपर्ने अनिवार्य गरिएको छ। ट्रस्टले यति धेरै क्षेत्रको सेवा शुल्क उठाउने गरे पनि न त त्यसबाट धर्मशालाको मर्मत सम्भारमा एक रुपैयाँ खर्च गर्छ, न त स्थानीयप्रति सामाजिक उत्तरदायित्वको भावनाअनुसार सेवा नै गर्छ। गुठी संस्थान जनकपुर कार्यालयका प्रमुख आनन्द बर्मा गुठीको जग्गामा बनेको धर्मशालाबाट ‘अनधिकृत’ रूपमा रकम असुल्ने गरिएको बताउँछन्।
‘गुठीको स्वामित्वमा रहेको जग्गामा बनेको संरचना हो,’ बर्मा भन्छन्, ‘भारतका दाताबाट लगानी भएको कुरा यथार्थता हो। तर, कुनै समयमा राम्रो उद्देश्यका साथ बनाइएको संरचनालाई अनधिकृत रूपमा आम्दानी उठाउन मात्रै प्रयोग गर्ने र व्यवस्थापनमा कुनै ध्यान नदिनु निन्दनीय काम हो।’ गुठी संस्थान जनकपुरका प्रमुख बर्मा धर्मशालाको व्यवस्थापन अस्तव्यस्त रहेको बताउँछन्। ‘धर्मशालाको जग्गामा चारैतिरबाट अतिक्रमण भएको छ,’ बर्मा भन्छन्, ‘भारतीय दाताले बनाएको भए पनि व्यवस्थापन राम्रो हुँदैन भने यस्तो संरचना जोगाइराख्नुको कुनै औचित्य नै छैन्। अब यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा बृहत्तर जनकपुर क्षेत्र विकासपरिषद् र जनकपुरधाम उपमहानगरपालिकासँग पनि समन्वय गरेर केही ठोस उपाय निकाल्नु पर्छ।’
गुठी संस्थान शाखा कार्यालय जनकपुरले २०७१ वैशाख २२ गते धर्मशाला व्यवस्थापनलाई पत्राचार गरी भवन खाली गर्न निर्देशन दिएको थियो। जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वर र बृहत् जनकपुर क्षेत्र विकास परिषद् जनकपुरसमेतलाई बोधार्थ गरी सो बेला पत्राचार गरिए पनि धर्मशालाका प्रबन्धकहरूले कुनै टेरपुच्छर लगाएनन्। उल्टै, गुठीको जग्गा धर्मशालाको स्वामित्वमा रहेको भन्ने जवाफ फर्काएका थिए।
त्यसबेला प्रबन्धक राजकुमार झाले गुठीलाई पठाएको जवाफमा १९९० साल असार १० गते तत्कालीन नेपाल सरकारबाट हुकुम प्रमांगी भई नेपाल सरकारको खड्ग निशानाद्वारा तत्कालीन मैनेजरी अड्डाको नाउँमा गोपाल धर्मशाला जनकपुरको नाउँमा तीन बिघा जग्गा बकस भएको दाबी गरिएको थियो। तर, हालको लालपुर्जामा भने गोपाल धर्मशालाको जग्गा गुठी संस्थानकै स्वामित्वमा रहेको स्पष्ट छ।