चार लाख नगदसहित ९ जुहाडे पक्राउ
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका- ९ गैरुन माथानेटोलबाट प्रहरीले चार लाख बढि रकमसहित ९ जना जुहाडेलाई रङ्गेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष कार्कीको नेतृत्वमा गएको टोलीले जंगबहादुर राईको बोइलर कुखुराको फार्म हाउसमा जुवा खेलिरहेको अवस्थामा नगद चार लाख १४ हजार ५७५ र १६ वटा कौडासहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा त्रियुगा नपा -९ का राजु कार्की, वडानं. १५ का बिजय राई, वडानं. ११ का रबिन्द्र राई, वडानं. १२ का बसन्त राई, वडानं. १० का गेशराज राउत, वडानं. १३ का पदम राई रहेको प्रहरी प्रमुख एसपी हरीहरनाथ योगीले बताए ।
त्यसैगरी रौतामाई गाउँपालिकाका कमल तामाङ, मनोज मगर र जयकुमार राई रहेका छन् । केहि दिनयता उक्त ठाउँमा जुवा खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी योगीले बताए ।
पक्राउ परेका सबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरी जुवातासका खेलहरू ठूलो राशीमा हुने र यसले समाजलाई नकारात्मक दिसातर्फ लैजाने भएकाले कडाइ गरिएको उनले बताए ।