देउरालीलाई लामो पुल वरदान
गोरखा : आरुघाट– ३ देउरालीका बासिन्दालाई त्यही पारिपट्टिको स्वाँरागाउँ पुग्न तीन घण्टा उकालो, ओह्रालो गर्नुपथ्र्यो । बिहान ७ बजे खाना खाएर जलकुमारी मावि पढ्न जाने विद्यार्थी विद्यालय पुग्दा नपुग्दै भोकाइसक्थे । ज्वरो आयो भने गाउँमा न नाप्ने थर्मोमिटर थियो, न खाने सिटामोल ।
एक पत्ता सिटामोल र एक पाकेट जीवनजल लिन स्वाँरा गाउँघर क्लिनिक पुग्न पनि डँडेले खोला झरेर नेवट उक्लिन चार पाँच घण्टासम्म लाग्थ्यो । बर्खाका बेला खोलामा बाढी र पहिरो आएपछि त सबै असम्भव । दैनिक उपभोग्य सामान लिन आर्खेत जान पनि डँडेले खोला नतरी उपाय थिएन । पारि स्वाँरा, नेवटसम्म एक हजार रुपैयाँमा पाइने सरसामान देउराली वा ठाँटी आइपुग्दा सामानको जत्तिकै ढुवानी भाडा तिर्नुपथ्र्यो । ठाँटीका बासिन्दा स्वाँरा जानुपर्दा देउराली पारिभित्ताको बाटो चार, पाँच घण्टा पैदल हिँड्थे ।
दुई वर्षअघि माघमा देउराली र नेवट जोड्ने गरी डँडेलेखोला पुल बनेपछि स्थानीयका तमाम समस्या समाधान भए । अहिले देउराली, ठाँटीका बासिन्दा ६ मिनेटमा डँडेलेखोला तर्छन् । २० मिनेटमा स्वाँरा पुग्छन्, जहाँ माध्यमिक विद्यालय छ, गाउँघर क्लिनिक छ, सरसामान झिकाउन सडक छ ।
२०७९ माघमा त्यहाँ ३ सय ८१ मिटर लामो झोलुंगेपुल बन्यो । जिल्लाकै सबैभन्दा लामो र सबैभन्दा अग्लो झोलुंगेपुल बनेपछि काम परेर वारपार गर्न मात्र नभै रमाइलो लागेर भ्रमण गर्ने उद्देश्यले पनि मान्छेहरू आउन जान थालेका छन् ।
पुलले दिएको खुसी सुनाउँदै देउरालीका स्थानीय इन्द्रबहादुर थापामगर भन्छन्, ‘हामी एकदमै विकटमा बसेको, दुःखले हुर्किएको मान्छे हो । २०६४/०६५ सालतिर थुमी भन्ने ठाउँमा स्कुल पढ्न जानुपथ्र्यो । घरबाट बिहान ७ बजे ढिँडो खाएर ऊ त्यो पारि पुलजिपसम्म पुग्दा नै भोक लागिसक्थ्यो । कसैकसैले यहाँ पुल बन्छ अरे भनेर सुनाउँथे । यो त एकदम असम्भव कुरा हो भनेर हामी पत्याउँदैनथ्यौं । तर अहिले हाम्रै आँखा अगाडि पुल बन्यो । हामी असाध्यै खुसी छौं । ग¥यो भने जे पनि सम्भव हुने रहेछ ।’
यस्तै खुसी ठाँटीका बासिन्दा पनि छन् । पुल नहुँदा उनीहरू हिँड्ने अर्कै बाटो थियो । त्यो बाटो स्वाँरा पुग्न चार, पाँच घण्टा लाग्थ्यो । ‘उकालो ओह्रालो धेरै भएर बिरामी पर्दा पारि जान पनि नसकिने थियो । गाउँमा दुई कक्षासम्म मात्र थियो । सानासाना बच्चालाई तीन कक्षाबाट माथि पढाउन स्वाँरा पठाउन पनि असाध्यै गाह्रो थियो । अहिले पुल बन्यो । अहिले त डेढ घण्टामै आउन जान सकिन्छ’, ठाँटीकी कविता गुरुङ भन्छिन्, ‘बर्खाको बेलामा त वारिपारि गर्न पनि नसकिने । कोसेली बोकेर घर माइत गर्न पनि नसकिने । पुल बनेपछि जता जान पनि सजिलो भएको छ । हामी एकदम खुसी छौं ।’
काम हुने मात्र होइन, अनन्दका लागि पनि पुल सहयोगी बनेको छ । ‘पुलमा आउने सेल्फी खिच्ने, गर्मीका बेला साँझतिर टहलिन आउने, घरको काम, खेतबारीको काम सकेर सुस्ताउन आउने ठाउँ पनि बनेको छ’, स्थानीय इन्द्रबहादुर थापामगर भन्छन्, ‘यहाँ पुल बनेपछि मान्छेहरूको जमघट हुन थाल्यो । यस्सो चिसो, फास्टफुडहरू, चाउचाउ, चटपटहरूको राम्रै व्यापार हुन्छ । सिजनका बेला एकजनालाई काम पुगिरहेको छ ।’