मान्छेभित्रको आडम्बरले समाजलाई विकृत बनाएको छ।
म ज्ञानीशोभा चौरमा बसेर सोचिरहेकी छु। अहिलेको अति व्यस्त समयमा पनि केही थाहा नपाएको, केही नभएको जस्तो मेरो दिनचर्या उदेकलाग्दो छ। सबैजना समयबाट केही न केही उपलब्धि हासिल गर्न उद्यत् छन्। तर म फिका छु। समयसित म केही माग्न चाहन्नँ। केही पाउने अभिलाषा ममा छैन। त्यसो त मेरो उमेरका साथी मीना, तिर्सना, सुष्मा सबै कहाँबाट कहाँ पुगिसके। म चाहिँ त्यतिकै छु। अत्यन्तै कम रुचिकर, अत्यन्तै कम व्यस्त। बेमतलवी काम न कुराको पछि नलाग्ने खालकी छु।
सुष्माले हिजै त स्टाफ नर्स पढेकी हो। भाग्य उसको द्वार खिच्न आइपुग्यो। त्यो कसरी भने अमेरिकामा डाक्टर पढ्दै गरेको केटा श्रीमान् पाएर। मीना त झन् कम छैन। उसको श्रीमान् नगरको वरिष्ठ व्यापारी जो निस्क्यो। अनि मीना पनि सफल महिला उद्यमीमा रातारात रूपान्तरण भई। यौटी थिई तिर्सना, ऐरेगैरेमा त पर्दै परिन्। उस्का दुःखका दिन नै गए। ऊ परी सांसद महोदयकी पत्नी। अर्थात् राजनीतिक पार्टीकी जल्दीबल्दी महिलानेतृ।
म के भनौं ! म कतै पनि फिट हुँदै भइनँ। ब्युटिपार्लरमा पनि कोही साथी छिरे। मोडेल, हिरोइन बन्छौं भनेर राजधानीमा अलमलिए। कोही कोही त लोकगायिका बन्ने सुरमा शब्द संकलन गर्न थाले। मलाई कुनै पेसाप्रति झुकाव रहँदै रहेन। मलाई किन हो एकांकी जीवन मन पर्न थाल्यो। बिनालोभ, बिनास्वार्थ यसै सारा जीवन बिताइदिऊँ भन्ने भित्रैदेखि लाग्न थाल्यो। आजसम्म म यस्तै परिवेश भोगिरहेछु।
झर्काे नमान्नु होला। म मेरो कथा भन्दैछु– म किन यस्ती भएँ। अरू जस्ती हुन सकिनँ। हो, त्यही कथा ! मेरो कथा ! ! मैले हिँड्न चाहेको जीवनको कथा ! ! ! ज्ञानीशोभा म तिमीलाई नै खोज्दै थिएँ। मेरो लामो समय प्रतीक्षाको शृंखला तोड्दै धनञ्जयले भन्यो। मलाई धनञ्जयलाई देख्नेबित्तिकै चिथौरौ जस्तो लाग्यो। ऊ मलाई पाँचपाँच घण्टा पर्खाएर दूधको साक्षी बिरालो बन्दै थियो। भो भो धनञ्जय, किन रच्छौ ? यो सब औपचारिकता। बरु सीधै ढिलो भयो ज्ञानीशोभा भनन !
मैले आवेशमा आए झैं गरी भने। तिमी सबै कुरा बुझ्छौ मेरी ज्ञानीशोभा ! उस्ले मेरो रिसको ख्यालै नराखेर हाँसी हाँसी भन्यो। अनि हामीले दिनभरि सुनेका, जानेका, गरेका, कुराहरू उन्दै भेटको एकाध समयलाई रंगीन बनायौ। यही क्रममा हामी यति झ्याम्मिई सकेछौ कि हामीलाई पाँच वर्ष बितेको पत्तै भएन। अब चाहिँ हामी आफूहरू प्रणय सूत्रमा बाधिनुपर्छ भन्ने मनशाय दुवैमा छाएको थियो। तर कहिले धनञ्जयको डिग्रीको तयारी, कहिले मेरो दाजुदिदीको बिहे भई नसकेको अवस्थाले हामी दुवैले चाहेर पनि अल्मलिइरहेका थियौं।
त्यसपछि म निकै ठूलो बिपत्तिमा परे। म र मेरो ठूलो दाजु मोटरसाइकलमा कतै निक्लिरहेका थियौं। दमकको रतुवा पुलनेर कसैको मोटरसाइकल हाम्रो मोटरसाइकलमा बेगले आएर ठोक्कियो। मेरो दाहिने खुट्टामा केही चिजले जोडले हिर्काएको जस्तो लाग्यो। त्यसपछि मलाई केही थाहा भएन। यो घटना बितेको ४८ घण्टापछि मात्र मलाई होस आयो। म धरानको घोपा क्याम्पमा सुताइएको अवस्थामा थिएँ। ठूलो दाजुलाई सामान्य चोटपटक लागेको रहेछ। मैले मेरो घरका अरू सदस्य आमा, बा, दाजु र दिदी देख्दा तीन छक्क परें।
सबैले मलाई नबोल्न भनें। डाक्टरको सल्लाहबमोजिम तीन महिनासम्म खुट्टाको चोटको कारण अस्पतालको बेडमा नै दिन काटें। मलाई दुःख लाग्यो। मेरो फोनमा एक व्यक्तिबाहेक सबैको फोन आयो। मभित्र उत्सुकता थियो। एकदिन न एकदिन मेरो धनञ्जयको फोन आउनेछ भनेर। तर उस्को फोन नआए पनि हिम्मत हारिनँ।
डिस्टार्ज भएर म हिँडडुल गर्न सक्ने भइसकेकी थिएँ। ल्यापटप खोलेर इमेल चेक गरें। अझै पनि धनञ्जयले फोनको सट्टा इमेल गरेर सरप्राइज दिएको छ कि मलाई लागेको थियो। मेरो मेल बक्समा दर्जनभन्दा पनि बढी मेरो स्वास्थ लाभको कामना गर्दै आएका थिए। त्यहाँ पनि मेरी ज्ञानीशोभा तिमीलाई यो सब के भयो ! भन्नुको सट्टा मेरो धनन्जय मबाट बेखबर थियो।
एकदिन बा ले (यसलाई यहाँ अलि न्यास्रो भए जस्तो छ। काठमाडौं कान्छी फुपूकहाँ पु¥याइदिनू ! भनी दाजुलाई अह्राउनु भयो। मलाई पनि भेटे जति सबैले बिरामको बारेमा मात्र सोधी रहने भएकाले एक किसिम यो उत्तर दिने झन्झटबाट फुर्सद पाइने भइयो भनेर दंग थिएँ। फुपूकोमा त आइयो। फुफाजु बाहिर विदेशतिर हुनुहुन्थ्यो। फुपू मलाई कहिले कता, कहिले कता लगिरहनुहुन्थ्यो। सभा, गोष्ठीमा रमाउने उहाँको बानी देख्ता म मेरी फुपूलाई के भएको होला ? यस्तो भनेर छक्क पर्थें।
मेरी फुपू भन्नुहुन्थ्यो– ज्ञानीशोभा आज फलाना ठाउँ जाउँ है। ल छिटो गर ! अनि म जाने नजाने कुराको ख्यालै नराखी आफू तयार भई हाल्नुहुन्थ्यो। केही बोल्ने मौका नै पाउन्नथें। केही सीप नलागेपछि म पनि पछि पछि लाग्थें।
१०, ११ वर्ष पहिले फुपूसित म यस्तो भोजमा पुगें, जहाँबाट मैले मान्छेको अर्कै रूप पाएँ। सोच्दै नसोचेको घटना देखें। मेरो धनञ्जयको बिहे रहेछ। ऊ अर्कै केटीको सिउँदो रंग्याउँदै थियो। म के गर्न सक्थें ? प्रतिकारसम्म पनि गरिनँ। त्यो केटी मेरै फुपूकी साथीकी छोरी रहिछ। अनि अर्काे कुरा धनञ्जयले मलाई सिन्दूर हालेको पनि थिएन। म अत्यन्तै थकित भए। जति चोट त मैले मेरो दाहिने खुट्टा फ्य्राक्चर भएर बीपी मेमोरियल अस्पताल धरान घोपामा बस्दासम्म पाएकी थिइनँ। यसरी म खङ्गरंग भएँ। धनञ्जयप्रति मेरो मोहभंग त्यही बेलादेखि भयो। क्रमशः पछि अभिभावकबाहेक अरू लोग्नेमानिसप्रति पनि मलाई संशय हुन थाल्यो।
माथि नै भनें– अरू स्वास्नीमान्छेभन्दा धेरै फिका छु। रूप भएर पनि रूप नभए जस्ती। के तपाईं पनि म जस्तै फिका हुनुहुन्छ ? तर यौटा आग्रह– तपाईंलाई, लोग्नेमान्छेलाई, आइमाई मान्छे भए आइमाई मान्छेलाई। यो समाज, संस्कार। कस्ले बनायो ? मान्छेले ! चोट पाएकालाई मल्हम लगाउनुको सट्टा समाज तिरस्कार गर्छ। हन्डर खाएकाहरूलाई संस्कार फिका देख्छ।
साँचो मानेमा विश्वासको प्रतीक हो, संस्कार। हाम्रो धरोहर हो। मान्छेभित्रको आडम्बरले समाजलाई विकृत पारेको छ। मान्छेको बलेको आगो ताप्ने गलत प्रवृत्तिले गाउँसहर दुर्गन्धित छ। अतः हामी पीडा पाएका नपाएका, शिक्षित–अशिक्षित सबै दयाका पात्र हुँदै होइनौं। तर यो समाजमा राम्रा पक्ष भर्न के तपाईं तयार हुनुहुन्छ ? त्यसो भए आउनुहोस्, कमर कसौं। म ज्ञानीशोभा अलि बेग्लै छु। अलि अलि विस्मृत पनि छु।