दर्ताबिना उद्योग सञ्चालन : अखाद्य रसायन मिसाएर लड्डु बनाउने दुई उद्योग शील
वीरगन्ज : वीरगन्जमा दिपावली पर्वलाई लक्षित गरी अखाद्य वस्तुबाट लड्डु बनाएर मिठाइ पसल तथा होटलहरूमा आपूर्ति गर्दै आएका दुईवटा लड्डु उद्योगमा बजार अनुगमन समितिले आइतबार छापा मारेर सिल गरेको छ ।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया नेतृत्वको टोलीले वीरगन्ज–११ श्रीपुर र वीरगन्ज–१० रानीघाटमा लड्डु बनाउने उद्योगमा आइतबार छापा मारेर सिल गरेको हो ।
श्रीपुर र रानीघाटमा घर भाडामा लिएर भारतीय नागरिकले सञ्चालन गरेका उद्योगमा छापा मार्ने क्रममा अखाद्य रसायन (केमिकल) र रंग तथा बेसनको सट्टा कनिका र गहुँको पिठोबाट लड्डु बनाउँदै गरेको भेटिएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि गौरीशंकर गुप्ताले बताए ।
श्रीपुरमा भारत बिहारको जमुई जिल्लाका निरज यादवले र रानीघाटमा बिहार जमुईकै वीरेन्द्र यादवले घर भाडामा लिएर नेपाल सरकारको अनुमित बेगर लड्डु बनाइरहेको भेटिएको गुप्ताले बताए ।
सोधपुछका क्रममा ती भारतीय नागरिकले उत्पादन गरेको कमसल गुणस्तर र अखाद्य लड्डु वीरगन्जका मिठाई पसल र होटलहरूमा प्रतिकिलो १ सय ५० रुपैयाँमा बेच्ने गरेको बताएको गुप्ताले जानकारी दिए ।
नेपाल सरकारको कुनैपनि निकायमा दर्ता नै नगरि सञ्चालन गरिएका तथा अखाद्य लड्डु उत्पादन गरिहरेका दुवै उद्योगमा अनुगमन समितिले सिल गरेको उनले बताए । यसका साथै श्रीपुरको उद्योगका सञ्चालक निरज यादवलाई २० हजार रुपैयाँ जरिवाना पनि गरिएको उनले जानकारी दिए। अर्का रानीघाटका सञ्चालक वीरेन्द्र यादवलाई भने थप कारबाही के गर्ने भन्ने बारेमा अनुगमन समितिको बैठक बसेर निर्णय गरिने गुप्ताले बताए ।
अनुगमन टोलीमा वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघका रचेन्द्र थापा,उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल ,वीरगन्ज उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिहरूको पनि सहभागीता थियो ।