‘नमुनादीप कप’ भलिबल : लिखु पिके र लिखु गाउँपालिका सेमिफाइनल प्रवेश, बाँकी खेल भोलि
रामेछाप : रामेछापमा जारी ‘नमुनादीप कप’ भलिबल प्रतियोगिताको सेमिफाइनलमा लिखु पिके गाउँपालिका, सोलुखुम्बु र लिखु गाउँपालिका ‘ए’ ओखलढुंगा प्रवेश गरेका छन् ।
अरुणोदय मावि सैपुमा सोमबार भएको क्वाटर फाइनलको पहिलो खेलमा तामाकोशी गाउँपालिका, दोलखालाई सोझो सेटमा हराउँदै लिखु पिके सेमिफाइनल प्रवेश गरेको हो । यसैगरी क्वाटर फाइनलको दोस्रो खेलमा लिखु ‘सी’ लाई हराउँदै लिखु गाउँपालिका ‘ए’ पनि सेमिफाइनलमा प्रवेश गरेको नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।
क्वाटर फाइनलको तेस्रो खेल साँघुटार युवा क्लब र गोकुलगंगा गाउँपालिका रामेछापबीच मंगलबार बिहान हुनेछ । त्यसपश्चात लिखु तामाकोशी गाउँपालिका, रामेछाप र लिखु गाउँपालिका ‘बी’ ओखलढुंगाबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने उनले बताए । बस्नेतले भने, ‘लिग चरणका खेल सकिएर सोमबार क्वाटर फाइनलका दुई वटा खेल सम्पन्न भए, क्वाटर फाइनलका दुई वटा खेल बाँकी रहेका छन् । मंगलबार नै सेमिफाइनल र फाइनल खेल हुनेछ ।’
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्ने सहसचिव निरज पौडेलले जानकारी दिए । दशौं संस्करणको नमुनादीप कप पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको पुरस्कार वितरण एवम् समापन समारोह नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य रत्न गौतमको आतिथ्यतामा मंगलबार हुने उनले बताए । प्रतियोगिताका लागि गौतमले सबैभन्दा धेरै दुई लाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी सैपु वडा कार्यालयले तृतीय पुरस्कार प्रायोजन गरेको छ।
प्रतियोगितामा रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टिम सहभागी थिए । यसैबीच क्लबले सोमबार नभ्याइएकाले मंगलबार दिउँसो टग अफ वार प्रतियोगिताको पनि आयोजना गर्ने जनाएको छ । टग अफ वारका विजेताले २० हजार र उपविजेता टोलीले १० हजार नगदसहित शिल्ड पाउने छन् ।