अर्घाखाँचीमा प्रसादको रूपमा मासु खाँदा २८ जना बिरामी
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको रूपमा मासु खाँदा २८ जना बिरामी परेका छन् । सन्धीखर्क नगरपालिका-१ तारामार्गमा आइतबार देउराली पूजाको प्रसादका रुपमा मासु खाएका २८ जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।
बिरामीहरूमा झाडापखाला, बान्ता , ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए । उनीहरू सबैको अवस्था सामान्य रहेको छ । आइतबार रातीदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो ४ बजे उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । फुड पोइजनको कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ ।
बिरामीहरू मध्ये अहिले २५ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ । २ जना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।