नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट एन्फाले बिक्री गर्ने
काठमाडौं : नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले बिक्री गर्ने भएको छ।
साफ महिला च्याम्पियनसिपको बुधबार हुने फाइनलका लागि तीन स्थानमा काउन्टर राखेर टिकट बिक्री गर्ने भएको हो। एन्फाले आज पत्रकार सम्मेलन गरेर टिकट बुधबार बिहान ८ बजेबाट जावलाखेलको फुटबल मैदान, एन्फा कम्पुले र भद्रकाली आर्मी गेटबाट बिक्री हुने जनाएको हो। अधिकतम १० हजार टिकट बिक्री हुने गरिने छ। एक व्यक्तिले भिआइपी २ र साधारण ५ टिकट मात्र किन्न पाउने एन्फाले जनाएको छ।
नेपाल र भारतबीच आइतबार भएको सेमिफाइनल खेलमा करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार बढीलाई टिकट बिक्री भएको थियो। त्यसपछि फाइनलका लागि भइरहेको टिकट बिक्री रोकिएको थियो।
अनलाइन टिकट नबेच्ने र यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा टिकेटिङ अधिकार लिएको थियो।